१८ असार २०७९ शनिबार
1
1
1
1

वर्षाका कारण दर्जनौं राष्ट्रिय राजमार्ग अवरुद्ध

1
1
1
1

काठमाडौं ।

वर्षाका कारण हुलाकी राजमार्ग, महाकाली राजमार्ग, बेनी–जोमसोम–कोरेला सडक, साँफेबगर–मार्तडी सडकलगायत सडक अवरुद्ध छन् ।

सडक विभागले बाढी र पहिरोका कारण अवरुद्ध कतिपय सडक खुलाइरहे पनि कतिपय स्थानमा अघिल्लो महिनादेखि अवरुद्ध सडक अझै खुल्न सकेको छैन । साँफेबगर–मार्तडी सडक बाजुराको अम्कोट द्वारीखण्डमा आइतबारदेखि अवरुद्ध छ । बूढीगङ्गा नदीको बहाबले झण्डै पाँच सय मिटर सडक क्षतिग्रस्त अवस्थामा रहेको डिभिजन कार्यालयले जनाएको छ । सो सडकका कतिपय खण्ड असारदेखि अवरुद्ध रहेकामा अझै खुल्न सकेको छैन । कतिपय खण्ड यस साताको वर्षाका कारण अवरुद्ध छ ।

बेनी–जोमसोम–कोरोला सडक म्याग्दीको दाना र गलेश्वरमा अवरुद्ध थियो । म्याग्दीकै काभ्रेभीर र घोप्टेभीरमा पनि सडक अवरुद्ध छ । साउन १० गते सडक माथिबाट आएको पहिरोले बेलिब्रिज बगाएको थियो । सो राजमार्गको रुप्सेमा निर्माणाधीन पुलको जग पुरिएको छ । सो सडक नजिक राखिएको एस्काभेटर, नजिकैको घर र बससमेत बगेका थिए । नर्च्याङ तातोपानीमा निर्माणाधीन पुल र डाइभर्सन पनि पहिरोले बगाएको थियो ।

महाकाली राजमार्गको सतबाँझ–दार्चुला खण्ड साउन ६ गतेदेखि अवरुद्ध छ । भारी वर्षापछि पहिरो र अत्यधिक वर्षाका कारण सडक अवरुद्ध बन्न पुगेको छ । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना अन्तर्गत अर्घाखाँचीको निगाली–देउराली सडक अवरुद्ध छ । सो सडकका ठाउँठाउँमा सानाठूला पहिरो गएकाले उपलब्ध उपकरणबाट सडक खोल्ने काम भइरहेको विभागले जनाएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालय धनगढी अन्तर्गत कृष्णनगर र सोनापफाँटा सडक अवरुद्ध छ । बेंसीशहर–चामे सडकको घोप्टे खोलामा हिमपाइप बगाउँदा सडक अवरुद्ध बनेको छ । खोड्पे–बझाङ सडक अन्तर्गत जालिबगरमा सडक अवरुद्ध छ । भारी वर्षापछि सेती नदीको पानीले ३० मिटर सडक नै बगाएको थियो । सो सडकमाथि पहाड र तल नदी भएकाले अहिलेसम्म सडक अवरुद्ध छ । अरनिको राजमार्ग अन्तर्गत दलाङ अहिले अवरुद्ध छ ।

सडक विभागका उपमहानिर्देशक भीमार्जुन अधिकारीले सडक वा पुल नै बगाएका स्थानमा बाहेक पहिरो हटाएर सञ्चालन गरिँदै आएको बताए । उनका अनुसार पूर्णरुपमा सञ्चालन हुन नसकेका सडक पनि एकातर्फको अवरोध हटाएर आंशिक रुपमा सञ्चालन गरिएको छ । उनले भने, “विभाग अन्तर्गतका डिभिजनहरु जेठदेखि नै तयारी अवस्थामा छन् ।”

अरनिको राजमार्गको झण्डै १५ स्थानमा सडक एकातर्फबाट सञ्चालन भइरहेको छ । कोशी राजमार्ग, बेंसीशहर–चामे सडकका विभिन्न खण्ड, कान्ति लोकपथ, नारायणगढ–मुग्लिन सडकको १९ किलोलगायत सडक पनि अहिले आंशिक रुपमा सञ्चालनमा छन् । त्यस्तै सिद्धिचरण राजमार्गको सिस्नेरी भीर र साल्मे भीरखण्ड, मलेखु–मुग्लिन सडकको जोगीमारा र मौवाखोला सडक पनि आंशिक रुपमा रुपमा सञ्चालनमा छ । लेगुवा–भोजपुर सडक र सिद्धिचरण राजमार्गका विभिन्न खण्ड, बिपी राजमार्ग र सिद्धार्थ राजमार्गका विभिन्न खण्ड पनि वर्षाले अवरुद्ध भएकामा आंशिक रुपमा सञ्चालनमा छन् ।रासस

प्रकाशित: ३१ साउन २०७७ ०७:१३ शनिबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी