1
0
Shares

बैंकमा कोरोना असरः अधिकांश बैंकको बढ्यो खराब कर्जा

1
1
1

काठमाडौं ।

विश्व व्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण बैंकिङ क्षेत्रमा खराब कर्जाको दर बढेको छ । कोरोनाका कारण व्यवसाय नचलेपछि उद्योग व्यवसायीले गत चैतदेखिको ऋणको किस्ता र ब्याज तिर्न सकेका छैनन् । जसका कारण बैंकमा खराव कर्जाको दर बढेको छ ।

यतिबेला बैंकहरुले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने अधिकांश बैंकहरुको खराब कर्जा बढेको छ । कोरोना भाइरसको न्युनिकरणका लागि सरकारले गत चैत ११ गतेदेखि मुलुकभरी नै लकडाउन गरेको थियो । लकडाउनका कारण उद्योग, व्यवसाय, पर्यटन, रेमिट्यान्स लगायतका विभिन्न क्षेत्र पूर्ण रुपमा प्रभावित भए । उद्योग व्यवसाय नचल्दा कुनै पनि उद्योग व्यवसायीले ऋण तिर्न सकेनन् । जसका कारण चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ऋणको किस्ता तिर्ने समय थप गर्नुका साथै प्रोभिजनिङको व्यवस्था समेत गरियो । तैपनि बैंकको खराब कर्जामा सुधार भने आउन सकेन ।

किन बढ्यो त बैंकको खराब कर्जा यसरी ?

मानवियताका हिसावले पनि बैंकहरुले कर्जा उठाउन चाहेनन् । ऋणीले ऋण तिर्न सक्ने अवस्था नै नभएपछि जबरजस्ती नउठाएका कारण खराब कर्जाको दर बढेको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘कोरोनाका कारण हामीले नै ऋण उठाउन चाहेनौँ, त्यसैले खराब कर्जा बढ्यो ।’ अध्यक्ष दाहालले भने ।

यस्तो संकटका बेला ऋण तिर्न सकेनन् भनेर सूचना जारी गरेर धितो लिलामी गर्न मानवियताका हिसावले पनि नदिएका कारण बैंकले ऋण उठाउन नसक्दा बैंकमा खराब कर्जाको दर बढेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बताए । ‘राष्ट्र बैंकले रिकभरी गर्न दिएन, त्यसैले खराब कर्जा बढ्यो ।’ उनले भने । प्रोभिजनले भोलिका दिनमा आउने नोक्सानका लागि सहयोग गर्ने भएकाले नाफा भन्दा पनि कसरी बाँच्ने र बचाउने भन्ने कुरा महत्वपूर्ण भएको पूर्व अध्यक्ष ढुंगानाको भनाइ छ ।

गत आर्थिक वर्ष बैंकहरुले लगानी गरेको कुल कर्जामा खराब कर्जाको अंश ५० अर्ब ३५ करोड रुपैयाँ छ । गत वर्ष बैंकहरुले २८ खर्ब ८८ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । अघिल्लो आवमा बैंकहरुको खराब कर्जा ३६ अर्ब ४९ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा गत वर्षको खराब कर्जाको वृद्धि ३७.९७ प्रतिशतले बढी हो । गत वर्ष २२ वाणिज्य बैंकको खराब कर्जा बढेको छ । सो अवधिमा सबैभन्दा बढी एनएमबि बैंकको १.८६ प्रतिशतले र सबैभन्दा थोरै सिभिल बैंकको ०.०१ प्रतिशतले खराब कर्जा बढेको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । गत वर्ष बैंकको खराब कर्जा ४.०८ प्रतिशत रहेको छ । बैंकले १ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । सो कर्जामा खराब कर्जाको अंश ६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ रहेको छ । तर बैंकले अघिल्लो आवको तुलनामा खराब कर्जाको अंश घटाएको छ ।

त्यस्तै, गत वर्ष नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा २.९१ तथा नेपाल बंगलादेश बैंकको २.८९ प्रतिशत छ । बैंकहरुको वित्तीय विवरण अनुसार हिमालयन बैंक, लक्ष्मी बैंक, नेपाल बैंक र कृषि विकास बैंकले घटाएका अघिल्लो वर्षको तुलनामा खराब कर्जा घटाएका छन् । हिमालय बैंकको खराब कर्जा ०.४६ प्रतिशतबाट बढेर ०.७५ प्रतिशत पुगेको छ । प्राइम बैंक बैंकको खराब कर्जा १ प्रतिशतबाट बढेर बढेर १.५४ प्रतिशत पुगेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको खराब कर्जा ०.५५ प्रतिशतबाट बढेर १.८० प्रतिशत पुगेको छ । लक्ष्मी बैंकको खराब कर्जा १.०४ प्रतिशत छ । अघिल्लो वर्ष खराब कर्जा १.२० प्रतिशत रहेको थियो ।

नेपालको खराब कर्जा दक्षिण एशियाली मुलुकमा सबैभन्दा थोरै भएको विभिन्न अध्ययनमा देखिएको छ । तर गत आर्थिक वर्षको बैंकहरुको वित्तीय विवरणले भने अधिकांश बैंकको खराब कर्जा बढेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार वाच लिष्टमा राखिएको ३ महिनापछि कर्जाको प्रतिफल ऋणीबाट आएन भने बैंकले सो कर्जालाई खराब कर्जामा गणना गरी २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ । त्यसका साथै ६ महिनामासम्म पनि भुक्तानी भएन भने ५० प्रतिशत तथा १ वर्षसम्म भुक्तानी नभएमा शतप्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था छ । कोरोनाको महामारी फैलिएसँगै राष्ट्र बैंकले कर्जा वर्गिकरण र प्रोभिजनको व्यवस्थामा सहुलियत समेत दिएको थियो । जसमा पुस मसान्तसम्म असल वर्गमा रहेको कर्जालाई असार मसान्तसम्म असल वर्गमा नै वर्गिकरण गर्न सकिने, असल वर्गमा रहेको कर्जालाई बैंकले थप प्रोभिजन गर्नु नपर्ने व्यवस्था गरेको छ ।

के हो खराब कर्जा ?

बैंकले निश्चित समयका लागि कुनै ऋणीलाई दिइएको कर्जा समयमा उठाउन सकेन भने त्यस्तो कर्जालाई एनपिएल (नन पर्फमिङ लोन) अर्थात खराब कर्जा भनिन्छ । निश्चित समयभित्र भुक्तान गर्ने गरी कुनै पनि बैंक तथा वित्तीय संस्थाले ऋणीलाई निश्चित रकम उपलब्ध गराउँछ । कहिलेकाहीँ ऋणीले निर्धारित समयमा ऋण चुक्ता गर्न नसक्ने हुन्छ । ऋण चँुक्ता गर्नु पर्ने मितिले ९० दिनपछि सम्म पनि बैंकले ऋण उठाउन नसकेमा सो ऋणलाई खराब कर्जा अन्तर्गत राखिन्छ । सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर असुल उपर गरिन्छ । कुनै पनि बैंकमा ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ । अहिले संचालनमा रहेका २७ वटै बैंकको खराब कर्जा ५ प्रतिशतको सीमा तलै छ ।

खराब कर्जाले यसरी गर्छ बैंकलाई हानी ?

बैंकहरुको आम्दानीको मुख्य स्रोत भनेकै कर्जा लगानी हो । बैंकले संस्थागत तथा व्यक्तिगत रुपमा संकलन गरेको निक्षेप नै कर्जाका रुपमा लगानी गर्ने हो । त्यसैले बैंकले जस्तो पायो त्यस्तो ठाउँमा कर्जा लगानी गर्दैनन् । बैंकले कर्जा लगानी गर्दा राम्रोसँग धितो मुल्यांकलन गरेर मात्रै कर्जा लगानी गर्छन् । तर कहिलेकाहीं कमशल धितो परेका कारण बैंकले लगानी गरेको कर्जा उठाउन समस्या पर्छ । जब बैंकले कर्जा उठाउन सक्दैन त्यसको प्रत्येक्ष असर बैंकको नाफामा पर्छ । लगानी नउठ्दा सबैभन्दा पहिले बैंकको नाफामा गिरावट आउँछ । त्यसका साथै खराब कर्जाको दर बढ्न गई संस्था नै समस्या ग्रस्त बन्छ ।

नेपाल राष्ट्र बैंकले ५ प्रतिशत भन्दा बढी खराब कर्जा हुन नहुने व्यवस्था गरेको छ । खराब कर्जाको मात्रा बढी हुने वित्तिकै बैंकको छवि नै विग्रिन जान्छ । छबि विग्रेको बैंकमा सर्वसाधारणको विश्वास गुम्छ । जसका कारण बैंकको कारोबारमा गिरावट आउँछ । बैंकहरुले प्रोभिजन गरेको कर्जा खराब कर्जामा गणना हुन्छ । प्रोभिजनपछि बैंकको खुद नाफामा समेत संकुचन आउँछ । प्रोभिजन नगरी नाफा बढाएर सरकारलाई कर र कर्मचारीलाई बोनस मात्र वितरण गर्दा बैंक थप घाटामा जान्छ ।

यस्तो छ कर्जाको बर्गिकरण

नेपाल राष्ट्र बैंकले भाखा ननाघेका र तीन महिनासम्म भाखा नाघेका कर्जालाई असल भनेर परिभाषित गरेको छ । भाखा ननाघेका र तीन महिनासम्म भाखा नाघेका कर्जालाई सुक्ष्म निगरानी (वाच लिस्ट) सुचीमा र तीन महिनादेखि ६ महिनासम्म भाखा नाघेका कर्जालाई कमसल कर्जामा बर्गिकरण गरेको छ । त्यस्तै, ६ महिनादेखि वढीमा एक बर्षसम्म भाखा नाघेका कर्जालाई शंकास्पद र एक बर्षभन्दा वढी अवधिले भाखा नाघेका कर्जालाई खराव सूचीमा वर्गीकरण गरेको छ ।

कुन बैंकको कति खराब कर्जा ?

आर्थिक वर्ष        २०७७ असार        २०७६ असार
एभरेष्ट                      ०.२२                    ०.१६
नेपाल एसबीआई       ०.२३                     ०.२२
स्ट्याण्डर्चार्टर्ड         ०.४४                     ०.१५
सानिमा                    ०.४८                     ०.०८
माछापुच्छ्रे                ०.५४                     ०.३७
एनआइसी एसिया      ०.७५                     ०.४६
नबिल                      ०.९७                     ०.७४
हिमालयन                 १.०१                     १.१२
लक्ष्मी                      १.०४                     १.१२
मेगा                        १.२०                     ०.९८
कुमारी                     १.४१                    ०.९७
सिटिजन्स                 १.४६                    १.१३
प्राइम                       १.५४                    १.००
सिद्धार्थ                     १.५६                    ०.७५
ग्लोबल आइएमई        १.८०                    ०.५५
सनराइज                   १.८६                    १.०३
सेन्चुरी                       २.२१                    १.४०
बैंक अफ काठमाडौँ     २.३५                   १.५४
सिभिल                       २.३८                   २.३७
नेपाल बैंक                   २.५९                  २.६४
एनएमबी                      २.६८                  ०.८२
कृषि विकास बैंक           २.७१                  ३.२९
एनसीसी                        २.७९                 २.७८
प्रभु                              २.८१                  ३.७६
नेपाल बंगलादेश बैंक       २.८९                १.७४
नेपाल इन्भेष्टमेन्ट बैंक       २.९१                 २.७८
राष्ट्रि वाणिज्य बैंक            ४.०८                 ४.७९

प्रकाशित: ६ भदौ २०७७ १४:२१ शनिबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी