अर्थ संसार

चितवनमा युरिया मलको चरम अभाव

15 Shares

काठमाडौं । युरिया मलको चरम अभाव हुँदा चितवनका किसानहरु मर्कामा परेका छन् । धानवालीमा मल हाल्ने समय सुरु हुँदा समेत बजारमा मल नपाउँदा किसानहरु मर्कामा परेका हुन् । कोरोना भाइरसलाई बेवास्ता गर्दै किसानहरु मल लिन बिहानैदेखि लाइनमा बस्ने गरेका छन् । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको बेलमा किसानहरुलाई आफ्नो स्वास्थ्यकोभन्दा मल पाउने नपाउने चिन्ताले सताएको किसानहरुको भनाइ छ । बिहान ४ बजेबाट नै मल लिनका लागि लाइनमा बसेको बताउने स्थानीय विकास कोइरालाले महामारीको चुनौतीका बावजुद पनि मलका लागि बिहानैदेखि लाइनमा बस्नुपरेको गुनासो गरे ।

गत वर्षहरुमा भदौ महिनामा मात्रै १ हजार मेट्रिक टन मल बिक्री भएकोमा यो वर्ष अभावका कारण ४ सय २६ मेट्रिक टन मात्रै बिक्री गर्न सकिएको साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोेद दाहालले जानकारी दिए । अहिले चितवनमा कृषि ज्ञान केन्द्रको सिफारिसमा मल बिक्री भइरहेकोमा यो वर्ष किसानहरुले पर्याप्त मल पाउन नसकेको उनको भनाइ छ ।

चितवनमा कुल मागको ३० प्रतिशत साल्ट्र ट्रेडिङ र ७० प्रतिशत कृषि सामाग्री कम्पनी मार्फत आपूर्ति तथा बिक्री वितरण हुने गरेको छ । साल्ट्र ट्रेडिङले मल ल्याएर बिक्री गरेतापनि कृषि सामाग्रीले मल ल्याएर बिक्री गर्न नसक्दा अभाव भएको हो । मल अभाव चितवनमा मात्रै नभएर देशभरी नै देखिएको छ । कोरोना महामारीको बाहानामा देशभरी मल अभाव हुँदा किसानहरु मर्कामा परेका छन । नेपाल सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल माग गरेको छ । अहिले युरिया मलको हाहाकार भएपछि सरकारले बंगलादेशसँग माग गरेको हो ।

प्रकाशित: २३ भाद्र २०७७ १२:२६ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी