अर्थ संसार प्रदेश ३

देशभर युरिया मलको अभाव : किसानहरु कोरोनाको मतलब नगरी मलका लागि लाइनमा (भिडियोसहित)

15 Shares

काठमाडौं ।

युरिया मलको चरम अभाव हुँदा चितवनका किसानहरु मर्कामा परेका छन् । धानवालीमा मल हाल्ने समय हुँदा समेत बजारमा मल नपाउँदा किसानहरु मर्कामा परेका हुन् । कोरोना भाइरसलाई बेवास्ता गर्दै किसानहरु मल लिन विहानैदेखि लाइनमा बस्ने गरेका छन् ।

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएको चितवनमा किसानहरुलाई आफ्नो स्वास्थ्यको भन्दा मल पाउने नपाउने चिन्ताले सताएको छ । बिहान ४ बजेबाट नै मल लिनका लागि लाइनमा बसेको बताउने स्थानीय विकास कोइरालाले महामारीको चुनौतीका बाबजुद पनि मलका लागि बिहानैदेखि लाइन बस्नु परेको बताए ।

गत वर्षहरुमा भदौ महिनामा मात्रै १ हजार मेट्रिक टन मल विक्रि भएकोमा यो वर्ष अभावका कारण ४ सय २६ मेट्रिक टन मात्रै विक्रि गर्न सकिएको साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहालले बताए । अहिले चितवनमा कृषि ज्ञान केन्द्रको सिफारिसमा मल विक्रि भइरहेकोमा यो वर्ष किसानहरुले पर्याप्त मल प्राप्त गर्न नसकेको उनले बताए ।

चितवनमा कुल मागको ३० प्रतिशत साल्ट्र ट्रेडिङ र ७० प्रतिशत कृषि सामाग्री कम्पनीमार्फत आपूर्ति तथा बिक्री वितरण हुने गरेको छ । साल्ट्र ट्रेडिङले मल ल्याएर बिक्री गरे तापनि कृषि सामग्रीले मल ल्याएर बिक्री गर्न नसक्दा अभाव भएको हो । मल अभाव चितवनमा मात्रै नभएर देशभरी नै देखिएको छ । कोरोना महामारीको बाहानामा देशभरी मल अभाव हुँदा किसानहरु मर्कामा परेका छन् । नेपाल सरकारले बंगलादेशसँग पैंचोमा ५० हजार मेट्रिक टन युरिया मल माग गरेको छ । अहिले युरिया मलको हाहाकार भएपछि सरकारले बंगलादेशसँग माग गरेको हो ।

यसरी चितवनमा मात्रै मलको अभाव नभएर मुलुकभर युरिया मलको चरम अभाव भएको छ । सरकारले समयमा नै मल आयात गर्न नसक्दा देशभर मलको चरम अभाव भएको हो ।

सरकारले जेठभित्र ल्याइसक्नु पर्ने रासायनिक मल आपूर्ति गर्न ठेक्का पाएको कम्पनीहरुको लापरबाहीको कारणले अहिलेसम्म पनि आपूर्ति गर्न नसकेपछि देशभर मलको चरम अभाव भएको हो भने यता बर्षभर दुःख गरेर लगाएको कृषि उत्पादन नै प्रभावित हुने देखिएको छ । अहिले देशभर धान गोड्ने ‘सिजन’ सकिएको छ । तर पनि किसानले युरिया मल पाउन सकेका छैन । किसानले मल उत्पादन बढाउन प्रयोग गर्ने समयमा नै मल हाल्न नपाउँदा उत्पादन नै घट्ने चिन्तामा परेका छन् ।

सरकारको लापरबाहीले वर्षेनी किसानहरुले मलको अभाव झेल्नु परेको छ । मल आपूर्ति गर्न सरकारले गत माघमा बोलपत्र आह्वान गरी जेठभित्र मल ल्याउन ठेक्का लगाएको थियो । तर ठेकेदारको लापरबाहीले मल आउन नसकेको कृषि मन्त्रालयले जनाइ सकेको छ ।

अहिले देशभर मलको चरम अभाव भइरहँदा पनि सरकार भने मुकदर्शक जस्तै बनेको छ । कोरोना महामारीका कारणले मल आयात गर्ने नसकिएको ठेकेदार कम्पनीले जनाए पछि सरकारले ठेक्का रद्द गरेको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष प्रचण्डका घरबेटी मानिएका शारदाप्रसाद अधिकारी सञ्चालक रहेको कम्पनी शैलुङ कम्पनीले गत ०७६ माघमा झन्डै (५५ हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डीएपी) गरी ८५ हजार मेट्रिक टन मल ल्याउन ठेक्का पाएको थियो । ठेक्का सम्झौता अनुसार कम्तीमा जेठसम्म मल आपूर्ति गरी सक्नु पर्ने थियो तर अहिलेसम्म पनि मल नेपालमा आपूर्ति गर्न सकेको छैन । कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई बाहना बनाएर कम्पनीले मल नल्याउँदा अहिले देशभरै युरिया मलको हाहाकार नै भएको छ ।

यसरी सम्झौता अनुसार रासायनिक मल ल्याउन नसकेपछि ठेकेदार शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलको ठेक्का रद्द भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले दुबै कम्पनीले राखेको १० करोड रुपैयाँ धरौटी पनि जफत गरेको छ । मल नल्याउने ठेकेदार शैलुङ र होनिकोको ठेक्का रद्द गरी धरौटी समेत जफत गरिएको कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भूसालले बताएका छन् ।

आइतबार कृषि मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भुसालले मल ल्याउन नयाँ प्रक्रिया सुरु गर्ने जानकारी दिएका छन् । शैलुङका सञ्चालक नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारी हुन् ।

सम्झौता अनुसार मल ल्याउन प्रतितपत्र (एलसी) खोलेको ११७ दिनभित्र अर्थात् भदौ २० गतेसम्म मल नेपालमा आइसक्नु पर्ने थियो । त्यो समयमा उनीहरुले ल्याउन सकेनन् । मल आपूर्ति गर्ने बेलासम्म पनि ठेकेदार कम्पनीले मल ‘बुक’ गरेको वा चलान गरेको छ कि छैन भन्ने जवाफ समेत दिएको छैन । पटक–पटक कृषि सामग्री कम्पनीले स्पष्टीकरण सोधे पनि आपूर्तिकर्ता कम्पनीले जवाफ नदिएपछि अन्त्यमा बाध्य भएर ठेक्का रद्ध गरेको मन्त्रालयले जनाएको छ ।

शैलुङले ८० हजार टन र होलिका मल्टिपलले २५ हजार टन मल ल्याउन दुवै कम्पनीले ४ अर्ब रुपैयाँ हाराहारीको ठेक्का पाएका थिए । शैलुङले पुसमै २५ हजार टन मल ल्याउने ठेक्का पाएको थियो । पछि, गत असार १८ गते कृषि सामग्री कम्पनीसँग ३० हजार मेट्रिक टन युरिया मल आयात गर्ने शैलुङले सम्झौता गरेको थियो । कृषि सामग्री कम्पनी लिमिटेडले दुवै कम्पनीलाई कालोसूचीमा राख्नका लागि आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ ।

मल अभावको यस्तो अवस्था किसानले भोगेको यस वर्ष मात्रै होइन । उनीहरुले वर्षेनी समस्या झेल्दै आएका छन् । यो वर्ष चाडै नेपालमा मनसुन भित्रीएकाले ९८ प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । किसानलाई रोपाइँ सकिएको एक महिना भित्रमा नै युरिया मलको आवश्यकता पर्ने गर्छ । तर सरकारले समयमा नै मल उपलब्ध गर्न नसक्दा किसानले धान बालीमा मल हाल्न पाएका छैनन् ।

अहिले न सरकारी अनुदानमा ७० प्रतिशतभन्दा बढी रासायनिक मल आयात गर्ने कृषि सामग्री कम्पनी लिमिटेड र ३० प्रतिशत अनुदानमा मल आयात गर्ने साल्ट ट्रेडिङसँग पनि रासायनिक मल मौज्दात नै रहेको छ न त आपूर्ति गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीले नै ल्याउन सकेका छन् ।

सरकारले धानखेतीका लागि सरकारी अनुदानको युरिया मल ७१ हजार ५ सय टन आयातको प्रबन्ध मिलाइएको थियो । धानखेतीका लागि कृषि सामग्रीले ५० हजार टन र साल्ट ट्रेडिङले २१ हजार ५ सय टन युरिया मल आपूर्तिको जिम्मा पाएका थिए  भने सरकारले रासायनिक मलका लागि ११ अर्ब रुपैयाँ बजेट निकासा गरेको थियो । रोपाइँ लगत्तै देशभरि कम्तीमा २० हजार टन (चार लाख बोरा) युरियाको माग रहेको छ ।

प्रकाशित: २५ भाद्र २०७७ १३:४७ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी