जनता समाजवादी पार्टीको आयोगमा दल दर्ताको निवेदन, दर्ता नम्बर १३८८

जनता समाजवादी पार्टीको आयोगमा दल दर्ताको निवेदन, दर्ता नम्बर १३८८


काठमाडौं ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् । उनीहरुले बिहिबार बिहान आयोगमा दल दर्ताको निवेदन पेश गरेका थिए । बिहिबार बिहान ११ः १६ मा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ १३८८ नम्वरमा दर्ता भएको हो ।

दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका छन् ।

बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको घोषणा गरिएको थियो । पार्टी एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ ।

एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङको बीचमा तारा हुने सहमति भएको छ भने चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ । पार्टीको वरीयता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ ।

दर्ताका लागि आयोगमा बुझाइएको निवेदनमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी र समाजवादीका तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

Logo