अर्थ संसार प्रदेश ७

आन्तरिक हवाई सेवा सुरु भएपछि धनगढीका पर्यटन व्यवसायी उत्साहित

धनगढी ।

सोमबारदेखि आन्तरिक उडान सूचारु भएपछि घनगढी क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।

हवाई सेवा सुरु भएपछि होटल व्यवसाय चलायमान हुने र पर्यटन क्षेत्रलाई फाइदा पुग्ने भन्दै व्यवसायीहरु उत्साहित भएका हुन् । हवाई उडान नियमित भएपछि होटल व्यवसाय पुरानै लयमा फर्कने आशामा रहेको व्यवसायीहरु बताउँछन् । त्यस्तै यात्रुहरुले पनि आवागमन सहज भएको बताएका छन् ।

कोरोना सङ्क्रमण रोकथामका लागि बन्द गरिएको हवाई उडान आन्तरिक रूपमा सुचारु भएपछि सोमबार बुद्ध एयरले काठमाडौं–धनगढी उडान गर्यो । नियमित उडान सूचारु भएपछि धनगढी विमानस्थल हवाई यात्राका लागि आउने मानिसहरु जहाजको पर्खाइमा थिए । हवाई उडान सुचारु भएसँगै बन्दाबन्दीका कारण सडक यातायातमा चर्को मूल्य तिरेर यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको यात्रुहरुले बताएका छन् ।

हवाई यातायात सुरु भएसँगै हुने आवत–आवतले केही राहत मिल्ने भन्दै होटेल व्यवसायी पनि उत्साहित भएका छन् । गत चैत महिना यता ठप्प रहेका होटलहरुमा यात्रुको आवागमन हुने भन्दै व्यवसायीहरू पनि आन्तरिक तयारीमा छन् । यद्यपि अन्तर्राष्ट्रिय नाका नखुले सम्म र गोष्ठी, सेमिनारहरू नभएसम्म व्यवसायले गति लिन नसक्ने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर बताउँछन् ।

कोरोना कहरकै कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० प्रभावित हुँदा पनि व्यवसायीहरुको लगानी डुब्ने खतरामा छ । आन्तरिक उडान सुरु भएसँगै कोरोना कहरका कारण धराशायी बनेको पर्यटन व्यवसायले अब भने क्रमिक रूपमा गति लिने अपेक्षा भएपनि चुनौति धेरै नै रहेको पर्यटन व्यवसायीहरु बताउँछन् । धनगढी विमानस्थलका प्रमुख तेज बुढाथापाले विमानस्थलमा सबै एयरलाइन्सले उडान सुचारु गर्ने तयारी गरिरहेको बताए । एयरलाइन्सहरुले पुरानै भाडा दरमा यात्रु बोकिरहेकाले यात्रुहरुको आवागमनमा सहज हुने पनि उनले बताए।

कोरोना संक्रमण दर बढ्दै गइरहेको अवस्थामा विमान सुचारु भए पछि संक्रमण झन् भयावह बन्ने हो कि भन्ने आशंकामा व्यवसायीहरु अझै पनि छन् । तर पनि चैत ९ गतेदेखि बन्द रहेका आन्तरिक उडान सुरु गर्न विमानस्थल र हवाई कम्पनी तम्तयार अवस्थामा छन् । कोरोनाबाट बच्दै र बचाउँदै उडानलाई नियमित गर्ने तयारीमा एयरलाइन्सहरु छन् । विमानस्थलले पनि कोभिड १९ संक्रमण रोकथामका लागि तयार पारेको मापदण्ड पूर्णरुपमा लागू गरिएको बताएको छ ।

प्रकाशित: ६ आश्विन २०७७ १५:५२ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी