1
1
Kendrabindu - News & Articles from Nepal

विद्युतीय बस चार्जिङ स्टेसनको विद्युत् महसुल निर्धारण

1
1
1
1
1
1
1

काठमाडौं ।

विद्युतीय बस चार्जिङ स्टेसनको विद्युत् महसुल र सवारी चार्ज गरे बापतको महसुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले असोजदेखि नै लागू हुने गरी विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई महसुलबारे पत्राचार गरेको छ । विद्युत् महसुल निर्धारण आयोगले तीन महिना अघि तोकेको शुल्कलाई प्राधिकरणले कार्यान्वयन गरेको हो ।

निर्धारण गरिएको महसुल अनुसार विद्युतीय बस चार्ज गर्दा चार्जिङ स्टेसनले प्रतियुनिट चार रुपैयाँ ६० पैसा तिर्नु पर्नेछ । स्टेसनले यसअघि प्रतियुनिट १० रुपैयाँ तिर्दै आएका थिए । चार्जिङ स्टेसनले विद्युतीय सवारी चार्ज गर्दा प्रतियुनिट चार रुपैयाँ ६० पैसाको थप २० प्रतिशत शुल्क लिएर सवारी चार्ज सुविधा दिन पाउने भएका छन् । सरकारले विद्युतीय चार्जिङ स्टेसनको विद्युत् तथा चार्ज शुल्क निर्धारण नगर्दा चार्जिङ स्टेसन समस्यामा परेका थिए ।

उपत्यकामा चारवटा सार्वजनिक विद्युतीय बस सञ्चालन गरेको सुन्दर यातायातले आफ्नो चार्जिङ स्टेसन भए पनि महँगो शुल्क तिर्नु परेकामा अब भने निकै सजिलो भएको अध्यक्ष भेषबहादुर थापाले बताए । उनले भने, “शुल्क निर्धारण भएर नेपाल विद्युत् प्राधिकरणले लागू गरेको छ । हामी निकै खुसी छौं, अब सजिलो भएको छ । यो हाम्रा लागि धेरै राम्रो सुविधा हो ।”

निर्धारित शुल्क अनुसार अब ठूला बस पूर्ण चार्ज गर्दा पाँच सयदेखि ५५० रुपैयाँ पर्नेछ । पहिला १२ सय रुपैयाँसम्म तिनुपर्थ्यो । अध्यक्ष थापाका अनुसार एकपटक पूर्ण चार्ज भएका बस कम्तीमा २५० किलोमिटर गुड्छन् । काठमाडौँ उपत्यकामा गुड्ने बस एकपटक पूर्ण चार्ज गरेपछि दुई दिनसम्म सञ्चालन हुन्छन् ।

निजी विद्युतीय कार पनि घरमा चार्ज गर्नुभन्दा चार्जिङ स्टेसनमै गर्दा सस्तो पर्ने सुन्दर यातायातले जनाएको छ । घरमा चार्ज गर्दा प्रतियुनिट आठदेखि १० रुपैयाँसम्म विद्युत् शुल्क तिनु पर्ने हुन्छ तर स्टेसनमा गर्यो भने प्रतियुनिट छ रुपैयाँ पर्न जान्छ ।

सुन्दर यातायातले अब देशका विभिन्न स्थानमा चार्जिङ निर्माण गर्ने भएको छ । कुरिनटार, काठमाडौँ, धुलिखेल, विराटनगर, चितवन, नवलपरासी लगायतका स्थानमा चार्जिङ स्टेसन बनाउने भएको छ । थापा भन्छन्, “चार्जिङ स्टेसन निर्माण भएपछि सार्वजनिक विद्युतीय सवारी चहलपहल बढ्छ । सरकारले पनि विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गरिरहेको छ । सरकार आफैँले सञ्चालन गर्दैछ, बिस्तारै विद्युतीय सवारीको वृद्धि हुँदै जान्छ ।”गोरखापत्रबाट

प्रकाशित: ३ कात्तिक २०७७ ०९:०८ सोमबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी