१४ माघ २०७८ शुक्रबार

कोरोना बीमाको दावी भुक्तानी एक हप्ताभित्र दिन बीमा कम्पनीहरुलाई निर्देशन

काठमाडौं ।

कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्र दिन बीमा कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिएको छ । कोरोना बीमाको दावी भुक्तानीमा ढिलो हुने गरेको जनगुनासो बढेपछि समितिले निर्जीवन बीमा कम्पनीहरुलाई दावी परेको सात दिन भित्रै भुक्तानी दिन निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले अर्थ मन्त्रालयसँगको छलफलपछि सबै प्रक्रिया सात दिन भित्र पूरा गरी भुक्तानी दिन निर्देशन दिइएको बताए।

यस अघि बिमितको नाम र मिति फरक पर्ने गरेको, परीक्षण गरिएका ल्याबहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नभएको र दोहोरो बीमा भएको पाइएकाले त्यसको प्रमाणिकरण गर्न समय लाग्दा दावी भुक्तानीमा ढिलाई भएको पनि अध्यक्ष चापागाईंले बताए । अबदेखि प्रमाणिकरणका सबै प्रक्रियाहरु एक साता भित्र पुरा गरी भुक्तानी दिइसक्न निर्देशन दिएको उनले बताए ।

कुनैपनि बिमितले बीमा दावी गर्दा पीसीआर परीक्षणमा पोजेटिभ भएको रिपोर्ट, संक्रमित भएपछि होम आइसोलेसनमा बसेको प्रमाणित गर्न सम्बन्धित स्थानीय तहको सिफारिस, अस्पतालमा उपचार गराएको खण्डमा अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको कागजातसहित नागरिकताको प्रतिलिपि बुझाउनु पर्ने पनि अध्यक्ष चापागाईंले बताए।

अहिलेसम्म नेपालमा करिब २ हजार व्यक्तिले २० करोड रुपैयाँ बराबरको भुक्तानी पाइसकेका छन् । अहिले पनि बीमा कम्पनीहरुमा करिब १३ हजार दावी परेको अध्यक्ष चापागाईंले बताए ।

प्रकाशित: १९ कात्तिक २०७७ १४:२० बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी