१२ मंसिर २०७८ आइतबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वातावरणीय प्रभाव मुल्याङ्कन शुरु

कास्की ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मुल्याङ्कन शुरु भएको छ ।

विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि वन कार्यालयले वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) शुरु गरेको हो । वनमा रहेका ६ सय वटा रुख कटान गर्नुपर्ने देखिएको वन कार्यालयले बताएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड अनुसार विमानस्थलबाट नजिक रहेका डाँडालाई कटान गर्नुपर्ने हुन्छ । सोही अनुसार रिठेपानी डाँडा पनि ४० मिटर कटान गर्नु पर्ने देखिएको छ । विमानस्थलको अनुरोधमा ६ सय वटा रुख हटाउनको लागि नम्बरिङ गर्ने काम भइसकेको छ । तर वन सम्बन्धी कार्यविधि अनुसार विमानस्थलले १ रुख बराबर २५ रुख हुर्काएर वन विभागलाई जिम्मा लगाउनु पर्ने व्यवस्था छ । सोही अनुसार विमानस्थलले नयाँ ठाउँमा जग्गा प्राप्ती गरी उपलब्ध गराएपछि डाँडा कटान शुरु गर्न स्वीकृति दिइने डिभिजन वन कार्यालय पोखराका प्रमुख केदार बरालले बताए।

ठुला विकासका आयोजनाका नाम वन विनासलाई नियन्त्रण नगर्दा वन मासिंदै गएको वन संरक्षणकर्मी राजु आर्चायले बताउनु भएको छ। आयोजना निर्माण हुँदा एक रुख बराबर २५ विरुवा हुर्काएपछि मात्र वन कटान शुरु गरिनु पर्ने बताए ।

विकासको नाममा कुनै पनि आयोजनाले एक वटा रुख विनास गरेवापत २५ वटा रुख हुर्काउनु पर्ने हुन्छ । तर विमानस्थलको निर्माण कार्य सम्पन्न हुनै लाग्दा समेत जग्गा प्राप्ती गरी विरुवा हुर्काउने प्रक्रिया अगाडि नबढ्नुले रिठेपानी डाँडा कटान हुने कार्य प्रभावित हुने देखिएको छ ।

प्रकाशित: २९ मंसिर २०७७ १४:४० सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी