ट्राफिक नियम उल्लङघन गर्नेलाई ‘नमस्कार’ अभियान

ट्राफिक नियम उल्लङघन गर्नेलाई ‘नमस्कार’ अभियान


काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने लगायत अन्य सेवाग्राहीलाई सम्मानको लागि ‘नमस्कार’ अभियान शुरु गरेको छ ।

ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई चिट काटी सिठ्ठी फुकेर लखेट्ने ट्राफिक प्रहरीले अब नमस्कार गर्ने भएका छन् । त्यसपछि आवश्यकता अनुसार कानुन कार्यान्वयनका लागि कारवाही गर्नेछन् । यससँगै ट्राफिकले चालकहरुलाई सम्झाई बुझाई गरी ट्राफिक नियम पालनामा सर्तक रहन सुझाउने भएको छ ।

‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरी दुवै हात जोडेर एक आपसमा आत्मीयता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार शुरूवात गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले बताए ।

उनले भने,‘नमस्कार नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एक आपसमा श्रद्धासमेत बढ्नेछ ।’ यो काम वैज्ञानिक दृष्टिले समेत उपयुक्त रहेको उनको भनाइ छ ।

‘गल्ती गर्ने चालकलाई गल्ती महसुस होस् , अब गल्ती गर्नु हुँदैन भन्ने भाव बुझुन् भनेर यो अभियान शुरु गरेका हौँ,’ महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले भने, ‘यसले सवारी चालक र ट्राफिक प्रहरीबीच एक आपसमा सद्भाव बढ्नुको साथै चालकलाई अनुशासनमा सवारी साधन चलाउन मद्दत पुग्छ ।’

Logo