कक्षा एकको कक्षागत गीतमा विकेल र तीनमा पहाडीको गीत छनौट

कक्षा एकको कक्षागत गीतमा विकेल र तीनमा पहाडीको गीत छनौट


काठमाडौं ।

पाठ्यक्रम विकास केन्द्रले कवि तथा गीतकार डम्बर विकेल र डा.ढुण्डीराज पहाडीको कक्षागत गीत छनौट गरेको छ । केन्द्रले २१ दिनको समयअवधी राखेर सार्वजनिक सूचनामार्फत कक्षा १,२ र ३ का कक्षागत गीतको माग गरेको थियो ।

माग अनुसार आएका गीतलाई मुल्याङ्कन गर्दा विकेल र पहाडीको गीत छनौट भएको केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले बताए ।

दुई कक्षामा उपयुक्त गीत नआएकाले त्यसलाई पुनः सूचना सार्वजनिक गरि गीत माग गर्ने उनले बताए । उनले भने, गीत मुल्याङ्कन गर्ने छुट्टै समिति नै छ । केन्द्रले सार्वजनिक गरेको सूचनाको आधारमा आएका गीतलाई मुल्याङ्कन गर्दा एक कक्षामा विकेल र तीनमा पहाडीको गीत छनौट भएको हो ।

छनौट भएका गीतलाई पुरस्कारस्वरुप २५ हजार रुपैयाँ दिएर केन्द्रको स्वामित्वमा ल्याउने प्रावधान रहेको उनले बताए । नयाँ पाठ्यक्रम र पाठ्यपुस्तक आएकाले गीतलाई पनि समय सान्दर्भिक बनाउन नयाँ कक्षा गीतको माग गरिएको उनले जानकारी दिए । त्यस्तै कक्षा ६,७ र ८ मा अहिलेको समय सान्दर्भिक गीत भएकाले ती कक्षाका गीतलाई तत्काल नहटाइने उनले बताए ।

उनले भने, ‘कक्षा १२ सम्मनै कक्षागत गीत हुन्छन् । यो वर्ष तीन कक्षा सम्म गर्छौँ र आगामी वर्षहरुमा दुई तीन वटा कक्षा गर्दै सबै कक्षागत गीतलाई परिवर्तन गर्छौँ ।’ नयाँ पाठ्यक्रम लागू भएपनि नभएपनि हामीहरुलाई स्वीकृत भएर आएका कामहरु गर्नुपर्ने भएकाले आफूहरु सोही बमोजिम काम गरिरहेको उनले बताए ।

Logo