1
0
Shares

काभ्रेकाे मण्डनदेउपुरमा निर्माण हुँदै एकीकृत तामाङ नमूना बस्ती

1
1
1

काभ्रे।

भूकम्पबाट क्षतिग्रस्त घर नजिकै निर्माण गरिएको जस्ताको टहरामा बस्दै आएका हर्कबहादुर कहिले नमूना घर निर्माण हुन्छ र बस्न पाइएला भनेर पर्खिरहेका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डनको तीनधारा स्थित घरको तल्लोपट्टीको बारीमा बन्दै गरेको नमूनाबस्ती सम्पन्न नहुँदा उनी जस्ताको टहरामा नै बस्दै आएका छन् । त्रिहत्तर वर्षीय तामाङ बस्ती निर्माणको कामले गति लिइरहेकाले अब भने पक्की घरमा बस्न पाइने आशामा छन्।

उनले आफ्नो बारीसमेत एकीकृत नमूनाबस्ती बनाउन उपलब्ध गराएका छन् । “अहिलेसम्म बनाएर घर सम्पन्न भएको छैन, सकेपछि रोजेर बस्न पाइन्छ भन्ने छ”, उनले भने “बस्ती निर्माणको लागि उपलब्ध गराएको जग्गाको पैसा पनि पाइएको छैन, घर भने निर्माणाधीन अवस्थामा रहेकोले खुशी छु ।” बस्ने घर पक्की नभएपछि कहिले भूकम्पले चर्केको घरमा नै टाल्दै बस्दै त कहिले टहरा सार्दै बस्ने गर्दै आइरहेको उनले बताए।

एकातिर बस्ने पक्की घरको अभाव, अर्कोतिर लिफ्टिङ खानेपानीको भरमा बस्नुपर्दा समस्या झेलिरहनु परेको उनले दुखेसो गरे । अर्का स्थानीय बासिन्दा सार्कीमान तामाङ पनि भूकम्पले चिराचिरा पारेको घरमा नै जसोतसो टालटुल गरेर बस्दै आएका छन् । “केहीले घर बनाएर बसिसकेका छन् , केही तल बेँशी झरिसकेका छन्, हामी भने यही बस्तीलाई नमूना बनाउने भनेपछि नयाँ घर बन्ला र बसौंला भन्ने आशामा बसिरकेका छौं”, उनले भने, “नापजाँच गर्न शुरु गरेको दुई÷तीन वर्षमा बल्ला निर्माणको कामले गति लिएको छ ।” करिब ५५ घरधुरी रहेको सो बस्तीमा भूकम्पपछि केही परिवार तल बेँशी हल्देटारमा झरिसकेको उनले बताए ।

उनी मात्रै होइन, त्यसरी भूकम्पपश्चात समस्याकै बीचमा बस्दै आएका ३० घरपरिवार त्यहाँ निर्माणाधीन नमूना पक्की घरमा बस्न पाउने छन् । अहिले ३० घरधुरीको लागि निर्माण भइरहेको एकीकृत नमूना बस्तीमा करीब १६ घरको छाना हालिसकेको र बाँकी १४ घरमध्ये केहीको जग राख्दै र केहीको निर्माण भइरहेको छ ।

हाल निर्माण भइरहेको नमूना बस्तीको काममा एक घरपरिवारले १०० दिन श्रम गर्नु पर्नेछ । त्यसपछि श्रमको मूल्य पाउँछ भन्ने छ तर कसरी कति पाउँछ भन्ने अहिलेसम्म निर्णय नभएको सार्कीमानले बताए । त्यसरी निर्माण भएको काममा सबै जनशक्ति स्थानीयस्तर बाटै पूर्ति भइरहेका छन् । पुनःनिर्माणको क्रममा पहिला एक साताको तालीम लिएका उनीहरुले इञ्जिनीयरको निर्देशन अनुसार निर्माणको काम भइरहेको छ । सो क्रममा निरन्तर इञ्जिनीयरले रेखदेख गरिरहेका छन् ।

सो बस्ती निर्माणका लागि प्राविधिकको रुपमा काम गरिरहेका सबइञ्जिनीयर दिनेश सुवालका अनुसार बस्ती निर्माणको लागि जिम्मा लिएका कारितास नेपालले सबै अनुदान उपलब्ध गराउने गरी काम गरेको छ । पहिलो किस्ताबापतको ५० हजार उपलब्ध गराएपछि बाँकी कामको जिम्मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई नै दिएको थियो । उनले भने, “कतिपय घर निर्माण भएर अन्तिम किस्तासमेत पाउने बेला भए पनि अझै दोस्रो किस्ता कहिले आउँछ भन्ने नै टुङ्गो छैन ।” कारितासले उपलब्ध गराएको विवरणमा पहिलो किस्ता नै लिएको नदेखेका कारण प्रक्रिया अगाडि बढाउन समस्या भएको भन्ने जानकारी आएको उनले बताए।

ह्याविट्याट फर हुमानिटी संस्थाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरेपछि अहिले निर्माणको काम अगाडि बढेको हो । अबको तीन महिनामा सबै सम्पन्न गरिसक्ने उनले बताए । पूर्ण रुपमा सम्पन्न भइसक्दा एक घर बराबर रु दश लाख ५० हजार लाग्नेछ । त्यससँगै करीब रु ५० लाखको लागतमा नमूना बस्तीभित्र नै एक सामुदायिक भवन र सांस्कृतिक भवनसमेत निर्माण गर्ने लक्ष्य छ । सो बस्ती निर्माणमा लागि परेका अगुवा रामबहादुर तामाङकाअनुसार तामाङ एकीकृत नमूना बस्तीमा ३० वटा घर निर्माणको काम तीव्र रुपमा अगाडि बढिरहेको छ । जहाँ घरबास (होमस्ट) को परिकल्पनासहित निर्माण भइरहेको उनले बताए ।

त्यहाँ रहेको सबै तामाङ समुदाय भएकाले तामाङ संस्कार, संस्कृति र रितिरिवाज झल्किने गरी बस्ती निर्माण हुनेछ । “बस्तीसँगै एउटा सामुदायिक भवन र अर्को सांस्कृतिक भवनसमेत निर्माणको काम अगाडि बढिरहेको छ”, उनले भने, “बस्तीबाहेक सामुदायिक भवन निर्माणको लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई (भवन)को आर्थिक तथा प्राविधिक सहयोगमा र अर्को सांस्कृतिक भवन वाग्मती प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको छ ।”

पहिलो किस्ता प्राप्त गरेको रकमबाहेक अहिलेसम्ममा सबै काम ऋणमा नै गरिरहेको उनले बताए । “गर्नुपर्ने प्रक्रिया सबै गरिसकेको भए पनि पुनःनिर्माण प्राधिकरणबाट पैसा अहिलेसम्म पनि पाएका छैनौं”, उनले भने, “प्रक्रियामा नै रहेको भन्ने छ तर पाँच/छ महिना भइसक्यो, पैसा प्राप्त नभएपछि अहिले हामीले ऋण खोजेर नै कामलाई निरन्तरता दिइरहेका छौं ।” उनका अनुसार नगरपालिकाले छानो निर्माणको जिम्मा लिएर थप सहयोग गरिरहेको छ । पहिला सहयोगी संस्था कारितास नेपालले जिम्मा लिएको काममा दिनुपर्ने पहिलो किस्ता दिइसकेको, बाँकी पैसा नेपाल सरकारको खातामा राख्ने तयारी भएको र आवश्यक परेको बेलामा निकालेर प्रयोग गर्न सक्ने भनिएको थियो । “अहिले निर्माण भइरहेको बस्तीको दोस्रो किस्ता मागको लागि पुनःनिर्माण प्राधिकरणमा विवरण पेश गर्दा पहिलो किस्तासमेत निकासा नभएको पाएपछि झन् समस्यामा परेका छौं”, उनले थपे, “काम गर्नको लागि ह्याविट्याट फर ह्यामानिटीले राखेका इञ्जिनीयरलाई समुदायबाट नै पैसा उठाएर दिने गरी काममा लगाइरहेका छौं ।” सांस्कृतिक भवन बनाउन प्रदेश सरकारबाट रु दश लाख प्राप्त गरेको छ । सांस्कृतिक भवनमा हलसहित दोस्रो तलामा तामाङ सङ्ग्रहालयसमेत निर्माण गर्ने गरी काम भइरहेको उनले बताए ।

नमूना बस्तीसहित सामुदायिक भवन र सांस्कृतिक भवन गरेर करिब ३५ रोपनीमा सो एकीकृत नमूना बस्ती निर्माण भइरहेको छ । प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन समिति) काभ्रेपलाञ्चोकका प्रमुख अच्युतराज उप्रेतीले केन्द्रमा नै ‘सिस्टम’ मिलाउनुपर्ने भएकाले प्रक्रियामा रहेको र छिट्टै रकम प्राप्त हुने बताए । “हामीले जिल्लाबाट सबै प्रक्रिया पुर्याएर केन्द्रमा पठाइसकेका छौं”, उनले भने, “अब पाउनुपर्ने रकम लाभग्राहीले छिट्टै नै पाउनेछन् ।”रासस

प्रकाशित: २८ पुष २०७७ १६:११ मंगलबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी