1
1
1

माघे संक्रान्तिमा तरुल, यस वर्ष स्वदेशी उत्पादनले बजार धान्दै (फोटोफिचर)

1
1

काठमाडौं ।

माघे संक्रान्तिमा सबैभन्दा बढी विक्रि हुने तरुल यस वर्ष स्वदेशी उत्पादनले नै बजार धान्ने भएको छ । तरुल मात्र नभई अन्य पींडालु, चाकु लगायत माघे संक्रान्तिका दिन चाहिने वस्तु स्वदेशी उत्पादनले नै पुग्ने व्यवसायीहरुले बताएका छन् ।

माघे संक्रान्तिका दिन नेपाली प्रचलन अनुसार तरुल, पींडालु, चाकु, घिउ, तिलौरी लगायत खाने गरिन्छ । विशेष गरि तरुल पुष सकिने राति पकाएर माघे संक्रान्तिको विहान खाने प्रचलन रहेको छ । जसले गर्दा पुषमा पाके माघमा खाके पनि भन्ने गरिन्छ । त्यसैले माघे संक्रान्तिमा केही दिन अगाडि देखि नै तरुल, पींडालू, सखरखण्ड, चाकु, स्कुसका जराहरुको माग बढी हुने गरेको छ । यस्ता वस्तुहरु यो बेला बिक्री भए जसरी अन्य समयमा हुँदैनन् । तर अहिले बजारमा जति माग हुन्छ, त्यसलाई स्वदेशी उत्पादनले नै धान्ने व्यवसायीहरुले बताएका छन् ।

संक्रान्तिमा अनिवार्य जस्तो खाने गरिएको तरुल कालीमाटी तरकारी बजार तथा उपत्यकाका अन्य तरकारी बजारमा धमाधम बिक्री भइरहेको छ । बजारमा उपभोक्ताले स्वदेशी उत्पादन नै मन पराउने भएकाले स्वदेशी उत्पादनकै बिक्री उच्च रहेको व्यवसायीहरुले बताएका छन् । अहिले उपत्यकाका तरकारी बजार तथा विभिन्न चोकहरुमा एक सातादेखि नै तरुल लगायतका वस्तुको खरिदबिक्री भइरहेकाले भिडभाड पनि बढेको छ ।

आज पुषको अन्तिम दिन भएकाले यसपटकको संक्रान्तिलाई लक्षित तरुल भित्रिएर बिक्री वितरण सकिएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका प्रवक्त्ता विनय श्रेष्ठले बताए । उनका अनुसार कालीमाटीमा होलसेल मात्रै बिक्री हुने भएकाले तरुलको स्टक सकिन लागेको छ । कालीमाटी तरकारी बजारमा तरुल सबैभन्दा धेरै सर्लाहीबाट भित्रिने गरेको प्रवक्त्ता श्रेष्ठले बताए । कालीमाटी तरकारी बजारमा संक्रान्तिका लागि सर्लाहीबाट ४७ प्रतिशत, सुनसरीबाट १३, धादिङबाट १३, नवलपरासीबाट ४, मकवानपुरबाट ३, चितवनबाट ४ प्रतिशत र बाँकी अन्य जिल्लाबाट उपत्यका भित्रिने गरेको छ । ९६ प्रतिशत स्वदेशी उत्पादन र ४ प्रतिशत भारतबाट तरुल आयात हुने गरेको श्रेष्ठले बताए ।

कालीमाटीमा संक्रान्तिका लागि हात्तीपाइले, सेतो, पानी, वन, सिमल तरुल, घर, पातले र रातो लगायतका तरुल आउने गरेको छ । नेपाली बजारमा आयातित भन्दा स्वदेशी तरुलको माग धेरै छ । नेपाली तरुलको स्वाद मिठो भएकाले भारतीय भन्दा महंगो पर्न जान्छ । सेतो तरुल प्रतिकेजी ६० रुपैयाँमा पाइने भएकाले बढी बिक्री हुने गरेको छ ।

यस वर्ष खुद्रा बजारमा तरुल प्रतिकेजी ५५ देखि ११० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । गत वर्ष प्रतिकेजी ५० रुपैयाँदेखि १ सय २ रुपैयाँसम्ममा बिक्री भएको थियो । तरुल विभिन्न किसिमका हुने भएकाले मूल्य पनि फरक फरक रहेको कालीमाटी बजारले जनाएको छ । कालीमाटी बजारमा गत साउनदेखि अहिलेसम्म करिब १२ सय ८ टन तरुल आइसकेको छ ।

पुष महिनामा मात्र १ हजार ५५ टन तरुल आयात भएको छ । गत वर्ष १ हजार ५ सय ४५ टन तरुल आएको थियो । यस वर्ष पनि यही हाराहारीमा आउने कालीमाटी बजारको अनुमान छ । गत वर्ष पुस महिनामा मात्रै करिब १३ सय टन तरुल भित्रिएको थियो ।

तस्वीरहरु : ज्ञानमणि नेपाल कालोटोपी /केन्द्रबिन्दु

प्रकाशित: २९ पुष २०७७ १३:०६ बुधबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी