सुडानका प्रधानमन्त्रीको हत्याको प्रयास

सुडानका प्रधानमन्त्रीको हत्याको प्रयास


सुडानका प्रधानमन्त्री अब्दल्ला हामडोकमाथि सुडानको राजधानी खार्तुममा आक्रमणको प्रयास भएको सुडानको सरकारी मिडियाले जनाएको छ । प्रधानमन्त्री चढेको सवारी साधनलाई लक्षित गरी राजधानी खार्तुममा विस्फोट गराइएको प्रहरीको भनाई छ ।

प्रधानमन्त्री हामडोकको परिवारका अनुसार प्रधानमन्त्री सकुशल र सुरक्षित रहेका छन् । सुडानको सरकारी टेलिभिजनले कार्यालयतर्फ जाँदा बाटोमा बम विष्फोटन गराइएको जनाएको छ । तत्कालै सुरक्षाकर्मीले उनलाई “सुरक्षित स्थलमा” लगेका थिए । उक्त आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन ।

अनलाइनमा पोष्ट गरिएको फुटेजमा प्रधानमन्त्री हामडोक चढेको सवारीसाधन सहित दुईवटा सेता, जापानी सवारीसाधन सडकको किनारामा देखिएका थिए जसका झ्यालका शिशाहरु फुटेका थिए । विस्फोटमा अर्को एउटा गाडी नराम्ररी क्षतिग्रस्त भएको थियो । प्रजातन्त्र समर्थकको चर्को दबाबबीच गत अगष्टमा हामडोक सुडानको प्रधानमन्त्री बनेका थिए ।

जनप्रदर्शन व्यापक बन्दै गएपछि सुडानको सेनाले गत अप्रिलमा तत्कालीन राष्ट्रपति ओमर अल बशीरलाई सत्ताच्यूत गरी सेनाले सत्ता आफ्नो हातमा लिएको थियो । महिनौंको छलफलपछि सेना र प्रजातन्त्रवादी आन्दोलनबीच गत अगस्टमा सत्ता–साझेदारी गर्नेगरी सम्झौता भएको थियो ।

सम्झौता अन्तर्गत ११ सदस्यीय संयुक्त सैन्य–नागरिक सार्वभौम परिषद स्थापना गरिएको थियो । यस परिषदले सुडानमा आगामी तीन वर्ष शासन सञ्चालन गर्ने र प्रधानमन्त्रीमा नागरिक प्रतिनिधिका रुपमा हामडोकलाई नियुक्त गर्ने सहमति भएको थियो । तर सैन्य जनरलहरू देशको शासनसत्ता नागरिक नेतृत्वको प्रशासनलाई हस्तान्तरण गर्न त्यति इच्छुक देखिएका छैनन ।

Logo