अर्थ प्रदेश ३

केन्द्रबिन्दु बुलेटिन : नेपालको अर्थतन्त्र पुरानै अवस्थामा फर्काउन साढे ६ खर्ब भन्दा लाग्ने (भिडियोसहित)

15 Shares

काठमाडौं ।

हामीले हरेकदिन दिनभरिका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्ने गरेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका मूख्य समाचारहरु मध्ये कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे ६ खर्बभन्दा बढी लाग्ने अनुमान गरिएको प्रतिवेदन सार्वजनिक गरिएको छ । राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष ०७६/७७ को तेस्रो चौमासिक अवधिमा माहामारीका कारण अर्थतन्त्रमा परेको प्रभावले थलिएको अर्थतन्त्र उकास्न ६ खर्ब ६५ अर्ब लाग्ने प्रक्षेपण गरेको हो ।

विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली सिद्धिएको तर्क गरेका छन् । ओलीले संविधानवादका विरुद्ध कदम चालेर आफैं सिद्धिएको प्रचण्डको आरोप छ । यस्तै अर्का अध्यक्ष माधवकुमार नेपालले ओली प्रतिगमनको प्रतीक भएकोे आरोप लगाएका छन् ।

लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार प्रदेश–२ लाई ७७ रनले पराजित गर्दै लुम्बिनीले सुखद सुरुवात गरेको हो । यस्तै कर्णाली प्रदेशले प्रतियोगितामा पहिलो जित निकालेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ५ विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित निकालेको हो ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत डाक्टरमाथि कुटपिट भएको छ । मंगलबार बिहान एक ८० वर्षीय बिरामीको मृत्यु भएपछि उनका आफन्तले डा. सबिन भण्डारीमाथि कुटपिट गरेका हुन् । कुटपिटमा संलग्न एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरीले जनाएको छ ।

कोभिडका कारण लामो समयबाट प्रभावित पर्यटन क्षेत्र चलायमान बनाउँन अर्थमन्त्री विष्णु पौडेलेले आग्रह गरेका छन् । त्यसका लागि सरकारको सहयोग पर्याप्त रहने उल्लेख गर्दै मन्त्री पौडेलले सरकारले राहत, सहुलियत र प्रोत्साहनका कार्यक्रमहरु ल्याएको र त्यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिने प्रतिवद्धता समेत जाहेर गरेका छन् ।

प्रकाशित: ६ माघ २०७७ १९:४३ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी