‘भिडभाडबाट बचेर होली खेलौं’ : सुमित खड्का (गायक)

‘भिडभाडबाट बचेर होली खेलौं’ : सुमित खड्का (गायक)


गायक सुमित खड्का होली पर्वलाई एउटा विशेष पर्वको रुपमा मान्छन् । तर यस वर्ष अरुलाई जस्तै उनलाई पनि होलीमा खल्लो महसुस भइरहेको छ । किनकी कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै प्रशासनले समेत यसपटक होलीलाई उत्सवका रुपमा नमनाउन अनुरोध गरेको छ । यसकै कारण विगत जस्तो होलीको रौनक छैन । केन्द्रबिन्दु मिडियासँग कुराकानी गर्दै गायक खड्काले होलीको महत्व र रौनकको बारेमा आफ्ना अनुभवहरु यसरी सुनाए ।

१.होली गीत मार्फत सर्वसाधारणलाई मनोरन्जन त दिनु भयो तर यसवर्ष सरकारले समेत होली नमनाउन भनेको छ, कस्तो लागेको छ ?
होली मेरो लागि विशेष पर्व हो तर यस वर्ष विशेष परिस्थितीका कारण हामीले खुलेर होली मनाउन पाएनौं । तर पनि होलीलाई पारिवारिक जमघटका रुपमा मनाउन सकिन्छ । संयमता अपनाएर होली मनाउँ । यसवर्ष उत्सवको रुपमा मनाउन नपाए पनि आगामी वर्ष मनाउन सकिन्छ । विशेष परिस्थितीलाई हामीले बुझ्नै पर्ने अवस्था छ ।

२.तपाईंले होली लक्षित थुप्रै्र गीतहरु सार्वजनिक गरिसक्नु भएको छ , होली के हो जस्तो लाग्छ ?
हरेक वर्ष होलीका गीतहरु लिएर आउँछु म । मलाई यो पर्व निकै रमाइलो लाग्छ । होलीका बारेमा हिन्दी गितहरु सुनिरहँदा नेपाली गीत पनि त यसरी नै गाउन सकिन्छ नि जस्तो लाग्थ्यो । यसैलाई मध्यनजर गर्दै मैले नेपालीमा होली गीत गाउने सुरुवात गरेको हुँ । असत्यमाथि सत्यको जीत भएको दिनको रुपमा मनाउने यो पर्वले सबैलाई फरक रौनक दिन्छ ।

३.होलीका गीतहरु फाट्ट फुट्ट त पहिले पनि आएका थिए तर तपाईंले एल्बम नै सार्वजनिक गर्नु भयो नि, कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
एकदमै राम्रो प्रतिक्रिया पाएको छु । सबैले प्रशंसा गर्नु भएको छ । पहिले चलचित्रहरुमा यस्ता गीतहरु सुनेका थियौं तर अहिले एल्बमकै रुपमा पाउँदा मौलिक संस्कृतिको जर्गेना भएको दर्शक स्रोताहरुले भनिरहँदा मलाई ठूलै काम गरेछु कि जस्तो लागेको छ ।

४. होलीमा भित्रिने गरेका विकृतिहरु प्रति यहाँको सुझाव के छ ?
होलीमा मात्र होइन , कुनै पनि संस्कृतिमा विकृति आउनु राम्रो होइन । यसप्रति पछिल्लो युवा पुस्ताले सोच्नै पर्छ । किनकी हरेक पर्वको आफ्नै महत्व हुन्छ । संस्कृति जोगाएर पर्व मनाउनु पर्छ , विकृति भित्र्याएर होइन ।

५. तराईमा मनाउने र पहाडमा मनाउने होलीलाई कुनरुपमा लिनु भएको छ ?
पहाडमा भन्दा तराईमा होली विशेषरुपमै मनाइने गरिन्छ । हुन त पहाडमा पनि निकै उल्लासमय रुपमा होली मनाइन्छ तर पहाड र तराईको भौगोलिक अवस्था र सांस्कृतिक विविधताले गर्दा होली फरक भएको हो । जहाँबाट जसरी मनाए पनि होलीले सबैलाई एकतामा बाँध्ने काम गर्छ भनेर चाहिं हामीले भुल्नु हुँदैन ।

 

Logo