अर्थ प्रदेश ३

रसुवामा विस्थापितका लागि जग्गा व्यवस्थापन

15 Shares

रसुवा ।

भूकम्पको असरले हाकु क्षेत्रको थातथलो छाडी विस्थापन हुन पुगेका बासिन्दालाई दक्षिणी भेगमा बसोबास मिलाउन जग्गा व्यवस्थापन गरिएको छ । साविक हाकु गाविस वडा नं ८ र ९ हाल उत्तरगया गाउँपालिका वडा नं १ गोगने, तिरू, मैलुङ गाउँबाट विस्थापित परिवारलाई उनीहरूको चाहना र भूगर्भविद्को सिफारिसका आधारमा एकीकृत बस्तीका लागि जग्गा अधिग्रहण गरिएको हो ।

जिल्ला पुनःनिर्माण प्राधिकरणका प्रमुख विश्वराज मरासिनीका अनुसार विस्थापितमध्ये १२८ घर परिवारका लागि वडा नं ५ तल्लो पहिरेबेँसीको खाल्टे इलाका क्षेत्रमा ३७ रोपनी जग्गा खरीद गर्ने काम सम्पन्न गरिएको छ । जग्गा व्यवस्थापनअन्तर्गत एकैथलोमा बस्न चाहेका थप ५४ घरपरिवारका विस्थापितलाई समेत सोही स्थानमै २४ रोपनी जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढिरहेको बताइन्छ ।

बस्ती राख्नका लागि राज्यका तर्फबाट खरीद भएको जग्गामा कादुरी नामक गैरसरकारी संस्थाले २०० घर बनाई सहयोग गरिदिने प्रतिबद्धता जनाइसकेको प्रमुख मरासिनीले बताए । यसैगरी एकीकृत बस्तीको अवधारणाअनुरूप गाउँपालिकाको वडा नं १ माथिल्लो तिरू क्षेत्रमा १२५, वडा नं ५ को बनुवाछापमा १५, सोही वडाकै बोगटीटारका क क्षेत्रमा ५३ एवं ‘ख’ क्षेत्रमा १५ घरका साथै नौकुण्ड गाउँपालिकाको वडा नं १ लाङ्बुमा २२ घर विस्थापित परिवारका लागि जग्गा खरीद कार्य सम्पन्न गरी आवास निर्माणको प्रक्रियामा छ ।

भिरालो भूभाग क्षेत्रमा बसोबास भएका कारण वि.सं. २०७२ को भूकम्प धक्काले गोगने, तल्लो तिरू, मैलुङ, करूम्राङ, सिर्चेत, खड्कु र चिप्लेटीसमेतका गाउँलाई असर पु¥याउँदा सुरक्षित स्थानको खोजी गर्दै त्यस क्षेत्रबाट हिँडेका ६०० भन्दा बढी विस्थापित परिवार दक्षिणी भेकका विभिन्न स्थानमा छरिएर बासस्थान लिइरहेका छन् । विस्थापितमध्येका करीब ३०० घरपरिवार बेत्रावती र नयाँपुलबीच त्रिशूली नदीको खाल्टे बगरमा अस्थायी बसोबास गरिरहेका छन् भने अन्य विस्थापित शान्ति बजारलगायतका स्थानमा छन् ।

आफ्नो जीवन निर्वाह सहज हुन्छ कि भन्ने आकाङ्क्षाअनुरूप विस्थापितमध्येका ३७ घरपरिवार नुवाकोटकोे किस्पाङ गाउँपालिका वडा नं ३ खोलेबेंसीमा बसोबास गर्न गएको विस्थापित बस्ती स्थानान्तरण सङ्र्घष समितिका संयोजक छेकु लामाले जानकारी दिए । भूकम्प गएलगत्तै थातथलो छाडेर बेत्रावती आसपास गएका अधिकांश विस्थापितले अर्काको जमिनमा खनजोत गरी उब्जाएको आधा भाग कृषिउपजबाट मुस्किल मुस्किलले जीवन निर्वाह गर्दै आएका छन् ।

त्रिशूली नदीको बगरमा पुस, माघ महिनामा हुने चिसो, वैशाख तथा जेठ महिनामा हुने अत्यधिक गर्मीलाई समेत कुनै प्रवाह नगरी खाल्टे क्षेत्रमा बस्ने विस्थापित परिवारले जस्ताको टहरोमा कष्ठकर जीवन बिताइरहेका छन् ।

विस्थापितको सामाजिक परिवर्तन

गोगने क्षेत्रबाट विस्थापित परिवारमा भने सामाजिक परिवर्तनमा निकै फरक आएको छ । भिरालो पाखो भौगोलिक विकट रहेको कुनाकाप्चाबाट विस्थापित भई ठूलो मिश्रण बस्तीको दक्षिणी भेकमा पुग्दा बोलीचाली, वेषभूषा, सरसफाइ, बालबालिकाको पठनपाठनमा समेत आमूल परिवर्तन आएको संयोजक लामा बताउँछन् ।

बालबालिकाको पठनपाठन बोगटीटारस्थित नीलकण्ठ माविमा गुणस्तर तवरले अगाडि बढिरहेको, बाक्लो गाउँ छेउछाउमा भएकाले सानोतिनु काम पाउँदा प्राप्त ज्यालाबाट नून तेलको गर्जो टार्न र बालबालिकालाई कलम कापी खरीदमा सहज हुँदै गएको छ ।

भूकम्पको धक्काले चीराचीरा भएको जमिनमा जोखिमपूर्ण तवरले बस्नुभन्दा भविश्यका कर्णाधार बालबालिकाको उज्जल भविश्य निर्माणका लागि तल्लो पहिरेबेंसी क्षेत्रमा बसोबास क्षेत्र रोजिएको समेत संयोजक लामाले बताए ।

तीन÷तीन आनामा बसोबासको आवास निर्माण गर्न चालिएको कदमले विस्थापित परिवारमा उमङ्ग बढ्दै गए पनि धर्म, संस्कृति संरक्षणका लागि गुम्बाका साथै स्वास्थ्य केन्द्र, विद्यालय, विश्राम चौतारी, मरणघाट र बालबालिकाको खेलमैदान जस्ता संरचनाको व्यवस्थापनसमेतमा सरकारले विषेश ध्यान पुर्याइदिनेमा आफूहरू आशावादी भएको विस्थापित परिवारले बताएका छन् । पुनः निर्माण प्राधिकरणले भने तल्लो पहिरे क्षेत्रमा निर्माण गरिन लागेको आवास नजिक बुद्ध गुम्बा र सामूहिक हल निर्माण गरिने कार्ययोजना रहेको जनाएको छ । रासस

प्रकाशित: ११ माघ २०७७ १४:५० आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी