४ जेठ २०७९ बुधबार
1
1
1
1

कृषिमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा प्रदर्शन

1
1
1
1
1
1

काठमाडौं ।

कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारी निर्णयको विरोधमा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् ।

खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार काठमाडौंको माइतीघरमा सरोकारवालाहरुले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयको विरुद्धमा विभिन्न ब्यानर र प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन् । विरोध कार्यक्रममा खाद्यका लागि कृषि अभियानका संयोजक उद्वव अधिकारीले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी खुल्ला गर्ने निर्णयबाट सरकार तत्काल पछाडि हट्नु पर्ने बताए ।

आफूहरुले वैदेशिक लगानीको विरोध नभई प्राथमिक कृषिमा वैदेशिक लगानी ल्याउने र विदेशीलाई कृषि प्राकृतिक क्षेत्रको जिम्मा लगाउने कुराको विरोध गरेको बताए । सरकारले प्रथामिक तहमा वैदेशिक लगानी भित्र्याएर किसानहरुको गास खोस्न खोजेको आरोप संयोजक अधिकारीको छ । कृषिको प्राथमिक क्षेत्रमा नभई मूल्य श्रृङ्खलाका कुराहरुमा वैदेशिक लगानी भित्र्याउन सक्ने सम्बन्धमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर अगाडि बढ्न सकिने पनि अधिकारीले बताए।

विरोध प्रदर्शनमा सहभागि भएकाहरुले खाद्य सम्प्रभुताको सम्मान गर्दै नेपालको कृषिलाई आत्मनिर्भर, दिगो र पर्यावरणमैत्री खेतीपातीको दीर्घकालिन दृष्टिकोण बनाउन पहल भइरहेको अवस्थामा सरकारले दूरगामी प्रभावको ख्याल नगरी हचुवाको भरमा निर्णय गरेकोले आन्दोलन गर्नुपरेको बताए ।

प्रदर्शनमा ‘खाद्य सुरक्षा तथा सम्प्रभूताको अधिकार सुनिश्चित गर’, ‘कृषिको प्राथमिक उत्पादनमा खुल्ला गरिएको वैदेशिक लगानी सम्बन्धी प्रावधान खारेज गर’, ‘कृषिमा वैदेशिक लगानी सम्बन्धी प्रावधान खारेज गर’, ‘जनमुखी भूमिसुधार लागू गर’, ‘भूमिहिन, साना तथा सिमान्त किसानको भूमि तथा कृषि अधिकार सुनिश्चित गर’ लगायत लेखिएका प्लेकार्ड लिएर प्रदर्शनकारीहरु सडकमा उभिएका थिए ।

प्रकाशित: ११ माघ २०७७ १७:०१ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी