अर्थ प्रदेश ३

अन्तर्राष्ट्रिय व्यापार प्रक्रिया कागजरहित, आजदेखि सुरु भयो राष्ट्रिय एकद्वार प्रणाली

15 Shares

काठमाडौं ।

अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन प्रक्रिया अब प्रविधिमैत्री प्रणालीमा हुने भएको छ । अन्तर्राष्ट्रिय व्यापार गर्दा भन्सारका सबै काज कागजरहित बनेका छन् । अब सबै भन्सारका काम सेवाग्राहीहरु भौतिकरुपमा उपस्थितिबिनै सम्पन्न गर्ने गरि नेपाल राष्ट्रिय एकद्वार प्रणाली आजबाट सञ्चालनमा आएको छ ।

राष्ट्रिय एकद्वार प्रणाली सञ्चालनमा आएसँगै भन्सारमा कागजी काम कारबाहीको युग सकिएर नयाँ डिजिटल प्रविधिको युग सुरुवात भएको भन्सार विभागले जनाएको छ ।

मंगलबार ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रणालीको राष्ट्रिय एकद्वार प्रणालीको सुरुआत गरेका हुन् । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनमा आएपछि नेपालको भन्सार प्रशासन पनि अन्तर्राष्ट्रियस्तरको भएकाले अब यो प्रणाली सञ्चालन व्यवस्थित बनाउन निजी क्षेत्रले पनि सहयोग गर्नु पर्ने मन्त्री पौडेलले बताए । भन्सार प्रणालीलाई आधुनिकीकरण गर्ने प्रक्रिया अगाडि बढेकाले प्रणालीलाई व्यवस्थित बनाउनु पर्ने बताएका छन् ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन सहजिकरणको लागि एकद्वार प्रणाली लागू भएकाले व्यवसायीमा नयाँ उत्साह थपिएको बताएका छन् । भन्सारमा हुने काम कागजी काम पनि नयाँ प्रविधिलाई आत्मसात गरेकाले यसलाई अझ व्यवस्थितरुपमा कार्यान्वयन जरुरी भएको उनको भनाइ छ ।

एकद्वार प्रणालीले व्यवसायीहरुले अहिलेसम्म भन्सारमा भोग्दै आएका समस्याहरु समाधान गर्न सहयोग हुने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् । यो प्रणालीले लागू भएसँगै व्यवसायीहरुको समय र खर्चको जोहो हुने उनको भनाइ छ । आजदेखि भन्सार प्रक्रियामा जोडिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वरेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र र पशु सेवा विभागको सेवा एकद्वार प्रणालीमार्फत सुरु भएको छ ।

अब तीन निकायसहित भन्सार विभागबाट सेवाग्राहीले लिनुपर्ने सेवा अनलाइनबाट घरमा बसेर सेवाग्राहीले पाउने भएकाछन् । प्रणालीमा अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै सूचना तथा सेवा उद्योगी व्यवसायीले अनलाइनबाटै पाउनेछन् । यसअघि लाइसेन्स, पर्मिट तथा अन्य सर्टिफिकेटको लागि भन्सार विभागसँगै दर्जन हाराहारी सरकारी निकायमा सेवाग्राही धाउनु पर्ने थियो तर अब यो सबै झन्झटको अन्त्य भएको छ ।

अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै पक्षहरुले परम्परागत पद्धतीलाई छाडेर अब सम्पूर्ण कागजात तथा सूचनाहरु एकैपटक एउटै बिन्दुबाट सञ्चालन गर्न सकिने भएको छ । भन्सार प्रशासन र अन्तर्राष्ट्रिय व्यापारलाई कागजरहित बनाउने उद्देश्यसहित सन् २०१३ अघि सारिएको अवधारणा अनुसार नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत सन् २०१३ जुलाईमा नेपाल सरकार र विश्व बैंकबीच भएको सहयोग समझदारीपछि सन् २०१९ बाट आयोजनाको काम अघि बढेको थियो । उक्त अवधारणा मंगलबारबाट पहिलो पटक सञ्चालनमा आएको छ ।

यस्ता छन् यसका फाइदाहरु
अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनमा भन्सार विभागले डिजिटल प्रविधि गएसँगै भन्सारका कामकाजमा नयाँ युगको सुरुवात भएको छ । यो एकद्वार प्रणाली लागू भएपछि भन्सार विभागसँग जोडिएका सबै निकायहरू अनलाइन सिस्टममा जोडिनेछन् । यो प्रणाली जडान भएसँगै कागजी कामहरु पूर्णरुपमा पेपरलेस हुनेछ । सेवा लागू भएसँगै सेवाग्राहीहरुको समय तथा खर्च बचत हुने भएको छ । त्यस्तै अब सेवाग्राहीहरु भन्सार विभागका झ्याल झ्यालमा लाइन लागेर बस्नु पर्ने छैन । भन्सार कार्यालयहरुमा भिडभाड कम हुने देखिएको छ ।

प्रकाशित: १३ माघ २०७७ १७:५५ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी