अर्थ

५० प्रतिशतले घट्यो अन्तर्राष्ट्रिय उडान

15 Shares

काठमाडौं ।

नेपालमा हुने अन्तर्राष्ट्रिय उडान झन्डै ५० प्रतिशत घटेको छ। सन् २०१९ को तुलनामा सन् २०२० मा यो परिमाणमा उडान घटेको हो। कोभिड–१९ को महामारीका कारण सन् २०२० को सुरुआती समयदेखि विभिन्न मुलुकले क्रमिकरूपमा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउन सुरु गरेका थिए। लगत्तै नेपालले पनि मार्च अन्तिम सातादेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो। अन्य मुलुकसहित नेपालले पनि बाह्य उडानमा प्रतिबन्ध लगाएका कारण उडानमा कमी आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणको तथ्यांक अनुसार सन् २०२० मा अघिल्लो वर्षको तुलनामा झन्डै ५० प्रतिशतले उडानमा कमी आएको थियो। सन् २०१९ मा १८ हजार ६ सय ६ वटा अन्तर्राष्ट्रिय उडान हुँदा सन् २०२० मा ९ हजार ९७ वटा मात्रै उडान भएको थियो। सन् २०२० को सुरुआती समयदेखि कोभिड–१९ को समस्याले उडानमा लगाइएको प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित बनेका प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

अन्तर्राष्ट्रिय उडान संख्यामा आएको कमीसँगै हवाई यात्रुको संख्या पनि त्यतिकै घटेको छ। सन् २०१९ मा ४१ लाख ३८ हजार ५ सय ६३ जना यात्रुले हवाईमार्गबाट ओहोरदोहोर गरेका थिए। सन् २०२० मा १० लाख २९ हजार ९ सय ३४ जनाले यात्रा गरेका थिए। सन् २०२० मा करिब ५ लाख ४४ हजार ६ सय ३६ नेपालबाट बाहिरिएका छन्। करिब४ लाख ८५ हजार २ सय ९८ जना नेपाल भित्रिएका छन् । सन् २०१९ मा नेपाल बाहिरिने र भित्रिने संख्या क्रमशः करिब २२ लाख ४५ हजार १ सय ३७ र १८ लाख ९३ हजार ४ सय २६ रहेको प्राधिकरणको तथ्यांक छ।

सामान्य समयमा नेपाली ध्वजाबाहक नेपाल वायुसेवा निगम तथा निजी क्षेत्रको कम्पनी हिमालय एयरलाइन्स र बुद्ध एयर गरी कुल ३० एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्। नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने बाह्य वायुसेवामा एयर अरेबिया, एयर इन्डिया, विमान बंगलादेश एयरलाइन्स, बुद्ध एयरलाइन्स, भुटान एयरलाइन्स, एयर चाइना, चाइना इस्टर्न र सिचुवान एयरलाइन्स छन्। यसैगरी चाइना साउर्थन एयरलाइन्स, ड्रुक एयरलाइन्स, इत्तिहाद एयरवेज, फ्लाइ दुबई, क्याथे ड्रागन, इन्डिगो एयर, जजिरा एयरवेज, कोरियन एयर, मलेसियन एयरलाइन्स, मालिन्दो एयर, ओमन एयर, कतार एयरवेज, सिल्क, मध्या एयरवेस, तिब्बत एयरलाइन्स, थाई एयरलाइन्स, टर्किस एयरलाइन्स र थाईएयरलाइन्स छन्।अन्नपूर्णबाट

प्रकाशित: १४ माघ २०७७ ०६:३९ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी