११ माघ २०७८ मंगलबार

नेपाल पर्वतारोहण संघको पहिलो सद्भावनादूतमा आरोही निर्मल पूर्जा

काठमाडौं ।

शिशिर ऋतुमा पाकिस्तान स्थित विश्वको दोस्रो अग्लो हिमाल ‘केटु’ को सफलतापूर्वक आरोहण गरि नेपालको राष्ट्रिय झण्डा फहराई विश्व कीर्तिमान कायम गर्न सफल नेपालका १० साहसी आरोहीहरुलाई नेपाल पर्वतारोहण संघले बधाई तथा सम्मान गरेको छ । मंगलबार नागपोखरीस्थित नेपाल पर्वतारोहण संघको आफ्नै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानका साथसाथै संघले आरोही निर्मल पूर्जा मगर (निम्सदाइ) लाई संस्थाको पहिलो सद्भावनादूत (गुडविल ब्राण्ड एम्बास्डर)मा अनुबन्धित गरेको छ । संघले पूर्जालाई कर बाहेक रु. १ लाख रुपैँयाँले सम्मान गर्दै सन् २०२१ भरका लागि सद्भावनादूतमा अनुबन्धित गरेको हो ।

पूर्जासँगै अन्य ९ आरोहीहरु मिङ्मा ग्याबु शेर्पा, मिङ्मा गेल्जे शेर्पा, दावा तेम्बे शेर्पा, किलु शेर्पा, सोना शेर्पा, पेमछिरी शेर्पा, दावा तेन्जिग शेर्पा, गेल्जेन शेर्पा र मिङ्मा तेन्जी शेर्पालाई पनि संघले १० वर्ष सम्मका लागि नि:शुल्क साधारण सदस्यता प्रदान गरेको छ ।

संघको विधान अनुसार आजीवन सदस्यता प्रदान गर्दा कुनै पनि चुनावी कामकारवाहीहरुमा संलग्न हुन नपाइने हुँदा उनीहरुलाई १० वर्षसम्मका लागि मात्र नि:शुल्क साधारण सदस्यता प्रदान गरिएको संघका अध्यक्ष सन्तरवीर लामाले बताए । त्यसैगरि आगामी दिनमा उनीहरुलाई संघको नेतृत्वमा आउन समेत अध्यक्ष लामाले आग्रह गरे ।

६ महिना ६ दिनमा विश्वका ८ हजार मिटर भन्दा माथिका १४ वटा उच्च हिमशिखरहरुको सफलतापूर्वक आरोहण गरि केटु आरोहण दलको नेतृत्व समेत गरेका पूर्जालाई संघको सद्भावनादूत घोषणा गर्न पाउँदा निकै हर्षित र गौरवान्वित महसुस भएको संघकी उपाध्यक्ष माया शेर्पाले बताइन् । उनले सद्भावनादूतको नाताले विश्वका जुनसुकै ठाउँमा गए पनि संघको नेतृत्व गरि नेपालको पर्वतिय पर्यटन सँगसँगै संघको पनि प्रचारप्रसार गरिदिन पूर्जालाई आग्रह समेत गरिन् ।

त्यस्तै आरोही निर्मल पूर्जाले नेपाल पर्वतारोहण संघको सद्भावनादूतमा अनुबन्धित हुन पाउँदा खुसी लागेको बताए । नेपालमा पर्वतिय पर्यटनको ठूलो सम्भावना भएको तर, यसको प्रचारप्रसार आवश्यक मात्रामा नभएको भन्दै आफूले संघबाट प्राप्त रु १ लाख रकम पर्वतारोहणकै क्षेत्रमा खर्चिने प्रतिवद्धता व्यक्त गरे । विशेष गरि हिमाल चढ्न आर्थिक रकम संकलन गरिरहेकाहरूका लागि उक्त रकम खर्च गर्ने उनको भनाइ छ । साथै आफू जहाँ रहेपनि संघ र नेपालको पर्वतिय पर्यटनका लागि सक्दो प्रचारप्रसार र योगदान गर्ने पूर्जाले बताए ।

 

प्रकाशित: २० माघ २०७७ १८:०४ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी