ओली विरुद्ध दलहरुको मोर्चाबन्दी सफल होला कि नहोला ?

ओली विरुद्ध दलहरुको मोर्चाबन्दी सफल होला कि नहोला ?


काठमाडौं ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अहिले सबै पार्टीहरु करिब आन्दोलनमा छन् । प्रधानमन्त्री ओली नेतृत्वको नेकपा मात्र चुनाव भन्दै आफ्नो अभियानमा केन्द्रित छ । अरु सबै राजनीतिक शक्ति आन्दोलनमा छन् । आन्दोलनमा उत्रिनेहरुको माग एउटै जस्तो देखिन्छ, प्रतिनिधिसभा पुनर्स्थापना । तर सबै दल एउटै मोर्चामा बसेर आन्दोलन भने गरेका छैनन् । शुरुमा, अहिले प्रतिनिधि सभाविरुद्ध क–कसका के–के कार्यक्रम छन् ? एक पटक नियालौं ।

नेकपा (दाहाल–नेपाल)

प्रतिनिधिसभा विघटनविरुद्ध अहिले सबैभन्दा एग्रेसिभ नेकपाको (दाहाल–नेपाल) समूह छ । यही कारण पार्टी पनि विभाजित भएकाले नेकपाको यो समूह ओली विरुद्ध निकै आक्रोशित छ । त्यसैले यसले हरेक दिनजसो विरोध प्रदर्शन गरिरहेको छ । केन्द्र, प्रदेश, जिल्लादेखि वडातहसम्म नेकपाका कार्यक्रम चलिहरेका छन् । यी कार्यक्रममा प्रधानमन्त्री केपी ओलीबारे बढ्ता आक्रोश व्यक्त गरेका छन् । उनीहरुले अहिले प्रदेश भेला, भातृ संगठनका भेला र प्रशिक्षण गरिरहेका छन् । यो समूहले काठमाडौंमा एउटा ठूलो आमसभा गरिसकेको छ । उनीहरुको माग प्रतिनिधिसभा पुनस्र्थापना भन्ने छ । प्रतिनिधि सभा पुनस्र्थापना नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरुको घोषणा छ ।

को–को हुन् ओलीविरुद्ध उत्रिने राजनीतिक शक्ति ?
१. नेकपा (दाहाल–नेपाल)
२. नेपाली कांग्रेस
३. जनता समाजवादी पार्टी
४.देशभक्त गणतान्त्रिक मोर्चा
५. राप्रपा
६. विवेकशिल साझा
७. विप्लवको चारदलीय मोर्चा

पार्टी भित्रका धेरै विवादपछि नेपाली कांग्रेसले पनि छुट्टै विरोधका कार्यक्रम तय गरेको छ । कांग्रेसले एकपटक सबै निर्वाचन क्षेत्र स्तरमा विरोध प्रदर्शन गरिसकेको छ ।

नेपाली काँग्रेस

पार्टी भित्रका धेरै विवादपछि नेपाली कांग्रेसले पनि छुट्टै विरोधका कार्यक्रम तय गरेको छ । कांग्रेसले एकपटक सबै निर्वाचन क्षेत्र स्तरमा विरोध प्रदर्शन गरिसकेको छ । कांग्रेसले आफ्नो कार्यालयमा एकपटक सर्वदलीय भेला गरेको थियो । उक्त भेलामा प्रतिनिधिसभा विघटनविरुद्ध एकमत बनाउने प्रयास गरेको थियो । त्यसपछि कांग्रेसभित्र प्रतिनिधिसभा विघटनको विषय अदालतमा विचाराधिन भएकाले तत्काल धेरै कार्यक्रम तय गर्न नहुँने पक्षमा देउवा थिए । पार्टीभित्रैबाट ठूलो आरोप आएपछि देउवाले पनि आन्दोलनमा जानेमा सहमति जनाए । अहिले कांग्रेसले प्रदेश निर्वाचन क्षेत्र केन्द्रित आन्दोलन तय गरेको छ ।

जनता समाजवादी पार्टी

जनता समाजवादी पार्टीले पनि प्रतिनिधिसभा विघटनको विरोधमा देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ । संविधान जारी गर्ने बेलामा विरोध गरे पनि अहिले त्यही संविधानको रक्षाका लागि भन्दै यो पार्टी विरोधमा उत्रिएको छ । प्रदेश २ मा जसपाले ठूलो प्रदर्शन गरिसकेको छ । दुई दिन अघि काठमाडौंमा जसपाका नेताहरुले अन्य दलहरु समेतलाई संलग्न गराएर बृहत् अन्तर्क्रिया गरेका थिए । त्यसमा प्रधानमन्त्री ओलीले गरेका काम कारवाही तानाशाही शैलीका भएको धेरै नेताहरुका धारणा थिए । जसपाले पनि पुनर्स्थापनाको माग गर्दै आएको छ ।

देशभक्त गणतान्त्रिक मोर्चा

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) नेतृत्वको २२ वटा साना दल सहितको एउटा–देशभक्त गणतान्त्रिक मोर्चा छ । यो मोर्चा पनि विरोधमा छ । संसदमा प्रतिनिधित्व नभए पनि यो मोर्चा अहिले प्राप्त गणतन्त्रको रक्षाका लागि भन्दै सडक आन्दोलनमा उत्रिएको छ । यसले अहिलेको शासन व्यवस्था ठिक नभएको धारणा राख्दै आएको छ । तर पनि प्राप्त उपलब्धीहरुलाई धरापमा पार्ने काम ओलीले गरेकाले अहिले पुरानै विन्दुमा फर्किन आन्दोलन चाहिने भन्दै आएको छ । यो मोर्चा पनि ओलीको विरोध गर्ने मञ्चहरुमा उपस्थित भएर विरोध गर्दै आएको छ ।

राप्रपा

गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको विरोध गर्ने एउटा पार्टी राप्रपा हो । यो पार्टीले गणतान्त्रिक संविधानका मुख्य मान्यता नै ठिक नभएको भन्दै आएको छ । तर पनि ओली गरेको संसद विघटनलाई राप्रपाले पनि ठिक ठानेको छैन । उसले ओलीको यो कदमलाई व्यवस्थाकै असफलतासँग जोडेर हेरेको छ । यही मौकामा आफ्ना एजेण्डा स्थापीत गराउन सक्ने ठानेर राप्रपाले पनि सडक प्रदर्शन गरेको छ । यसअघि नै देशभर विरोध प्रदर्शन गर्दै हिड्ने राप्रपा प्रतिनिधिसभा विघटनपछि झन् व्यवस्थाविरोधी नारा लगाउँदै अझै संगठित रुपमा आउन थालेको छ । यो पार्टीले देखावटी रुपमा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेको छ । तर मुख्य ध्यान राजासहितको प्रजातन्त्रको एजेण्डा स्थापित गर्नेतर्फ छ ।

सबै दल ओलीको विरुद्धमा छन् । विरोधका एजेण्डा पनि एउटै छन् । तर उनीहरु मिलेर संगठित आन्दोलन गर्न चाहेका छैनन् ।

विवेकशिल साझा

रविन्द्र मिश्र र मिलन पाण्डे अध्यक्ष रहेको विवेकशिल साझा पार्टी पनि संविधान विपरितको काम भयो भन्दै छुट्टै विरोध प्रदर्शनमा छ । उसले पनि सडक प्रदर्शन गरिरहेको छ । अन्य दलहरुका मञ्चमा पुगेर यो पार्टीका अध्यक्ष मिश्रले पुराना दलहरुको काम गर्ने शैली नै गलत भएको भन्दै सच्चिनु पर्ने धारणा राख्दै आएका छन् ।

विप्लवको मोर्चा

अहिलेको शासन व्यवस्थालाई चुनौती दिदै हिंसात्मक आन्दोलन गरिरहेको विप्लव नेतृत्वको नेकपा पनि विरोधमा छ । प्रतिनिधिसभा विघटनपछि विप्लवसहित चारवटा पार्टीको मोर्चाबन्दी भएको छ । विप्लपको नेकपा, मोहन बैद्यको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेलको नेकपा र आहुतीको बैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टीको कार्यगत एकता भएको छ । उनीहरुले शासन व्यवस्थामाथि प्रश्न गरेका छन् । ओलीलाई तानाशाही शैलीको भन्दै विरोध गरेका छन् ।

तर आन्दोलन किन एकताबद्ध छैन ?

सबै दल ओलीको विरुद्धमा छन् । विरोधका एजेण्डा पनि एउटै छन् । तर उनीहरु मिलेर संगठित आन्दोलन गर्न चाहेका छैनन् । किनभने सबैको आ–आफ्ना एजेण्डा छन् । त्यसैले आ–आफ्नो छुट्टै अस्तित्व देखाउनका लागि उनीहरुले एजेण्डा मिलेर पनि एकल आन्दोलन गरिरहेका छन् । नेकपा (दाहाल–नेपाल) समूहले संगठित आन्दोलन गर्न प्रस्ताव गरेको थियो । तर कांग्रेसले आफ्नो छुट्टै पहिचान भएको भन्दै मोर्चा कसेर आन्दोलन गर्न चाहेन । त्यसपछि सबै एकै ठाउँमा मिल्न नसकेका हुन् ।

Logo