सहिदको सम्मान : ब्यक्तिगत स्वार्थ कि राष्ट्रिय स्वार्थ ?

सहिदको सम्मान : ब्यक्तिगत स्वार्थ कि राष्ट्रिय स्वार्थ ?


  • रमेश भट्टराई ‘सहृदयी’

हरेक वर्ष माघ १६ गते मनाउने सहिद दिवसको सार्थकता बोधमा सायद आजको वास्तविकता जोड्नु सान्दर्भिक होला । जब म विश्वेश्वरप्रसाद कोइरालाको ‘एक रात’ कथामा घोरिन्छु त्यसै त्यसै भक्कानिन मन लाग्छ अनि भूपि शेरचनको ‘सहिदहरूको सम्झनामा’ कवितामा हराउँछु तब त्यहाँ वीरताको साहससँग जोसले काँडा उम्रिन्छ । कति योगदान छ तिनको जसले अप्ठ्यारोमा लडे । खुकुरीको धारमा बाँचेर लडे । खुकुरीका भरमा देशलाई बचाए । क्रान्ति र शान्तिको अभिष्टका खातिर प्राणोत्सर्ग गरे । अन्यायको विरुद्धमा आवाज घन्काउने सहिदका बलिदानीसँग नेपाल आमाको अटुट नाता छ । अनि नाटककार बालकृष्ण समको इच्छा कविताको भाव अङ्कुरित हुन्छ । प्रजातन्त्र प्राप्तिका निमित्त प्राण दिए । हाँसी हाँसी देशको निम्ति फाँसी चढे । माटोको माया गरेर मुटु सुम्पिए । युगकवि सिद्धिचरण श्रेष्ठको ‘परिचय’ कवितामा राष्ट्रिय स्वाभिमानको वीरताको चित्रण छरपस्ट छ । ती सहिदका अगाडि यो देशले पाएको उपलब्धिसँगको साइनो गाँसिइरहन्छ । तिनले त व्यक्तिगत स्वार्थको पुन्तुरो बिर्सेर देशको स्वतन्त्रताका लागि लडे । तर, आज त्यसरी नलडे पनि हुने ठाउँमा नरहत्या भएका दुःखद् दृश्य हेर्नुपरेको छ ।

हामी लोकतन्त्र आएको छ भन्दै बाटामा, सडकमा, सभामा अबिर र माला लगाएर कुर्लिन्छौँ तर अनाहकमा निर्दोष एउटा सोझो र गरिब मानिसको प्राणले– एउटा भिडको बिचबाट आहुति दिनुपर्छ । बल्ल त्यो तमासामा मानिसले, दुनियाले माग सम्बोधन गर्ने आश्वासन भिराउँछ । हल्ला नमच्चाइ यो देशमा सत्यको जय हुने दिन त आएकै छैन । विगतमा दश लाख दिने घोषणा भए । अनि प्रश्न गर्न मन लाग्छ, के त्यो जीवनको मूल्यलाई पैसाको परिमाणले गहु्रँगो बनाएको हो ! यद्यपि त्यो सान्त्वना हुँदो हो त आज पनि द्वन्द्वपीडितका चित्कार किन अनसुना भइरहेका होलान् ? के हिमालका कुनामा बनेका पीडित जो आपूmलाई पीडित हुँ भन्ने हैसियत नै राख्दैन– तिनले न्याय पाएका छन् ?

विडम्बना, यो त्यागका पछाडिको पीडाले झक्झक्याउँछ । यहाँ गोविन्द गौतम जस्ता व्यक्तिको स्मरण गर्न मन लाग्छ, के त्यस घटनाले न्याय पाएको हो ? भारतीय दादागिरी देखाउने दोषीलाई कठघरामा राखिएको छ त ! नेपाली माटोमाथि गिद्धे नजर लगाएर ज्यादति गर्दै सीमा अतिक्रमणको, मानव अधिकार हननको चर्को पीडामा नेपाली मन कति पिरोलिन्छ । आज हाम्रा सीमा क्षेत्रमा कति नेपालीले चिन्ता गर्दै छन् र देशले कसरी आफ्नो स्वाभिमानलाई जागोउने वैज्ञानिक आधार खोज्यो, सम्झनै पर्छ । रातारात दशगजा मात्रै सारिएन लिपुलेक, लिम्पियाधुरा छिमेकीले आफ्नै बनाउने धृष्टता गरिरहँदा फेरि सोध्न मन लाग्छ, के त्यो भूमि हाम्रो नक्सामा समेटिने आधिकारिक सहमति भएको हो ? हैन भने किन चुपचाप छौँ त ? दशगजा सारिएको खबर त पछि मात्र प्रशासनमा पुग्ला अनि त्यहाँ पुग्नुपूर्व त्यस क्षेत्रका नेपालीले कति पीडा खेपेका होलान्, मननीय विषय छ । आखिर यो विसङ्गतिका बिचमा अडिएर सहिदको सम्मान गर्दै गर्दा– ती वीर चार सहिदको सर्वविदित नामले सायद हामी स्वतन्त्र नेपाली हौँ भनिरहँदा गिज्याएको महसुस गर्दा हुन् ।

वीर पुर्खाको योगदानसँग रमाएको इतिहासमा नेपाली सान र गौरवको चिन्ह छ । आजसम्म पाएका सुन्दर उपलब्धिलाई सहिदका रगतले कोरेर सार्थकता दिए । आजको सान र हिजोको स्वाभिमानको लागि बलिदान दिनु कुनै केटाकेटी खेल थिएन ।पारिवारिक स्वार्थलाई तिलाञ्जली दिएर नेपाल र नेपालीको मर्म बोध गर्ने खुबी ती योद्धामा थियो । सहिदले परिवर्तनका निम्ति, ज्यादतिका निम्ति आवश्यकतालाई नियालेर प्राण आहुति दिएको हुन्छ । आफ्नो स्वाभिमान, जाति, भाषा, संस्कृतिको रक्षार्थ मृत्युको बलिवेदीमा आपूmलाई चढाएको, राष्ट्रिय स्वार्थ बोकेर लडेको राष्ट्रवादी व्यक्तिलाई सहिदको संज्ञा दिन सकिन्छ । घर, परिवार, आमाको न्यानो काखलाई त्यागेर परिवर्तनको हुङ्कार मच्चाइँदा प्राण उत्सर्ग गर्ने व्यक्तित्व सहिद बनेका हुन् । फेरि युगतिर लम्किँदा यहाँ प्रजातन्त्रको अभ्युदयपछि सहिदले सम्मानको आधार पाए । प्रजा परिषद् नामक संस्थाको माध्यमद्वारा तानाशाही राणाशासनका विरुद्धमा प्राण उत्सर्ग गर्ने दशरथ चन्द, शुक्रराज जोशी शास्त्री, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठहरूलाई राष्ट्रियस्तरबाट सम्मान गरिएको इतिहासले आज निरन्तरता पाएको छ । हामी युगको परिवर्तनसँग कागजे उपलब्धिलाई बोकेर खुम्चिइरहन अभ्यस्त बन्दै छौँ पनि लाग्छ ।

जनताको स्वतन्त्रता निमोठिएको, आस्था चुँडिएको अनि मानवतालाई कालकोठरीमा थुनिएको वेदनाको विरुद्ध, त्यो कडा शासनका विपक्षमा बोल्दा तिनले आफ्नो अमूल्य प्राणलाई निर्ममता पूर्वक मारिएर छोड्नुप¥यो । तबदेखि तिनको योगदानलाई कदर गरिँदै आइएको इतिहास गाँसिन्छ । २०३६ को जनलहर होस् या ४६ को तर ती योद्धाको स्मरण गर्दै गर्दा सहिदको परिभाषामा अलिकति स्वार्थको गन्ध चल्नु अत्यन्तै लज्जास्पद विषय हो । १२ वर्षे जनयुद्धमा सहिद बने, २०६२÷०६३ को जन आन्दोलनमा कैयौँ नेपालीले सहिद बन्नु प¥यो । मुलुकको आवश्यकता माथि, व्यवस्था सुधारका निम्ति, जनताको हक र हितका लागि प्राणोत्सर्ग गर्ने सहिदलाई स्मरण गर्नैपर्छ । यद्यपि क्षमा चाहन्छु– सहिद घोषणाको राजनीति पनि अवश्य पनि चर्को र कलुषित बन्यो, वर्गीय सङ्कीर्णतालाई राष्ट्रिय गौरवमा गाँसिएका तथ्य पुराना थिएनन् ।
तर, सहिद त्यो होइन जसलाई सहिद हो भन्नुपर्ने, जनाउनु पर्ने होस् अर्थात् सहिद त्यो हो जसलाई समाज र संसारको खुला हृदयले सम्मान गर्न नचुकोस् । सदैव जुगजुगन्त स्मरणका पानामा सम्हालेर राख्न पाओस् । देशका निम्ति हरेक नागरिकले विभिन्न कोणबाट प्राण दिएकै हुन्छन् । माटोको अटूट नाता गाँसेर हरपल प्रगतिपथमा लम्किरहँदा नेपाल आमाको मुहारलाई चम्किलो बनाउन निःस्वार्थ लड्ने कसैद्वारा नमारिएर पनि सहिद नै बन्न सक्छ । संसारका हरेक मुलुकले आफ्ना देशका वीर योद्धालाई सम्मान गर्ने गरेका तथ्यसँग नेपाल आमाको इतिहासमा थुप्रै अज्ञात सहिदका नाम पर्दामा नआएका भए पनि नेपाली शिर झुकेकै छ । वीर गोर्खालीको इतिहाससँग अङ्कित नाममा सहिदको त्याग छ । चाहे अमेरिकी स्वतन्त्रता सङ्ग्राम, भारतीय स्वतन्त्रता सङ्ग्राम, फ्रान्सेली राज्य क्रान्तिमा होस् या त चिनीयाँ जनक्रान्ति लगायतका विविध लडाइँमा लड्ने महान् सपूत आखिर ती साहससँग सहिदको उच्च सम्मान छँदै छ ।

निःस्वार्थ त्यागको स्वप्ना बुनेर लड्ने वीरहरूको महिमाका लागि अनेकौँ कृतिहरू रचिएका छन् अनि रचिइरहिएका छन् ।यसर्थ ती सहिद सदैव मुलुकमा हुने अत्याचारका, विकृत व्यवहारका विरुद्ध आवाज उठाउन ऊर्जा दिने दर्बिला आधारभूमि हुन् । यी सहिद नेपाल आमाका नासो हुन् । भावी पुस्ताको स्वतन्त्रताका जिउँदा इतिहास हुन् । यी राष्ट्रका गहनालाई देशले हृदयको ढुकढुकीमा सजाउँदै गर्दा न्यायको झोलीलाई राम्ररी नियाल्न सक्नुपर्छ । गरिब, असहाय, असक्त, निमुखा, पिछडा अनि चाहेर पनि अधिकार जान्न नसक्ने सडकका पेटीका मानवले जीवनलाई अरु सरह जिउने सपना तुन्नपाउनुपर्छ ।

युग परिवर्तनको इतिहासका पानाले थुप्रै सहिद जन्मायो । सहिदको सूचीलाई लामो बनाइरहनुपरेको पीडा छ । अबको युगपरिवर्तन र व्यवस्थाका लागि प्रजातान्त्रिक, जनमुखी, मानवतावादी युग प्राप्त भएपछि पनि सहिदलाई जन्माइरहनुपर्छ भने त्यहाँ लोकतन्त्र स्थापित भएको कुरा,स्वतन्त्रता प्राप्तिका कुरा लाजमर्दो विषय बन्छन् । यदि युगले परिवर्तनलाई चाहन्छ भने अब शीतयुद्धमा अघि बढ्न सक्नुपर्छ । आफ्नो झोली दह्रो बनाउने, सीमा रक्षा गर्ने अनि स्वाभिमानमा अडिग रहन आफ्नोपनलाई चिन्न पनि त सक्नुपर्छ ।

नेपालमा कलमवीरहरूको बौद्धिकताले गरेको योगदानसँग क्रान्तिको बिउ रोपिएको हो । परिवर्तनका आवाज कविशिरोमणिले गरे, कृष्णलालले गरे या त भनौँ कविता लेखेकैले जेल बस्न विवस बन्ने बुद्धिकर्मीले गरे । सहिद जन्माउन होइन सहिदको श्रद्धान्जली अर्पण गर्न अबको सहिद दिवस सार्थक दिन बनिरहनुपर्छ– अबको आवश्यकता हो । मानिसले रगतको खोलो बगाउने अवस्था हुनुहुन्न– आजका नेतृत्वले बोध गर्नुपर्छ । परिवर्तन र कलमको युद्ध आपसमा समानार्थी भएकै हो । त्यसताका कैयौँ कवि, साहित्यकारले कलमले युद्ध गरे । अबको युग त अत्याधुनिक विकाससँग हातेमालो गर्दै वैज्ञानिक तथा पारदर्शी निकासको नीति बोकेर अघि बढ्न लालायित हुनुपर्छ । पुरानो पद्धतिमा अड्किएर सङ्कुचित स्वार्थकै लडाइँमा लागिरहने हो भने फेरि यो देशले सहिदको सूची थपेरै चित्त बुझाउनुपर्ने अवस्था बन्न सक्ला । मुलुकले वीर वीराङ्गना जन्मायो त्यो युगका लागि थियो । अबको युग युद्ध, आतङ्क, भाषण, रगत तताएर गोरु जुधेजस्तो लडिरहने, डुक्रिरहने युग होइन । यसमा जनतामा सचेतना र नेतृत्वमा भावना जागृत हुने बेला आएको छ ।
देशको स्वाधीनता, स्वतन्त्रता, समतामूलक समाजको स्थापनामा जुन योद्धाले ज्यानको बाजी थापे तिनलाई निःस्वार्थ श्रद्धान्जली अर्पण गर्ने नेपाली मनमा कालो दाग नहोस् । जसले नागरिक हकको लागि लडे अब तिनको सपनामा नागरिकले दायित्व बोध गर्दै लम्किन सक्नुपर्छ । यी कथनलाई भाषण र माल्यार्पण गर्दै भावनामा बहकिने हो भने मुलुकले मुहारलाई बदल्यो भन्न सकिन्छ ।

भनिन्छ– सपना त्यो होइन जुन सुतेपछि देखिन्छ बरु सपना त त्यो हो जसले सुत्न दिँदैन । आज सहिदको अवमूल्यन भइरहेका केही तीता भावधारामा यी स्वप्नालाई दीवास्वप्नामा मोलिएका धब्बा नभएका होइनन् । यसर्थ सहिदको गुणगानमा ओठे रटना लगाएरै चित्त बुझाउनु अबको भनिरहिएको परिवर्तनका लागि अपाच्य रहला । बरु त्यहाँ तिनका सपनामा बढाबा दिने अठोट र लगनको खाँचो खड्किन्छ ।

युगान्तकारी दिगो विकासको महायज्ञको यात्रामा डटेर लाग्ने निःस्वार्थ राष्ट्रसेवाको स्वरूप झल्किएको अपेक्षा रहन्छ । यसर्थ समतामूलक समाजका सामाजिक न्यायसँग सहिदको सपनाको तादात्म्यता छ । अन्धपरम्पराको भण्डाफोर गर्दै काला कर्तुतलाई पर्दाफास गर्ने सोच र त्याग जोडिन्छ । समाजका कलङ्कको दागमा हजु¥याइँ होइन झापड हान्ने खुबीको अपेक्षा गाँसिन्छ । तसर्थ सहिद दिवसको सार्थकतालाई औपचारिकतामा अड्याएर भाषणमा सम्मान गरेको छु भन्ने सिद्धान्त ढोङ मात्र रहला । कानुनीराजको रक्षार्थ स्वतन्त्रता, विकास तथा राष्ट्रिय स्वाधीनताको जीवन्ततासँग सहिद र त्यागको स्वर्णिम स्वप्नारेखा कोरिएको हुन्छ । युगका लाञ्छनालाई अपेक्षाका कसीमा तोलेर परिवर्तनको महायज्ञमा होमिने शक्ति र सामथ्र्य त्यहाँ जीवन्त बन्छ । तब युगले नूतन गोरेटोमा पाइला चाल्दै गर्दा सहिदका सपनामा सार्थकता गाँसिन्छ ।

Logo