काठमाडौं, ३ माघ ।
आईओसीले मंगलबार पठाएको मूल्यसूचीअनुसार नेपालमा डिजेल र पेट्रोल भारतकोभन्दा सस्तो छ ।
नेपालमा हाल पेट्रोलको मूल्य भारतीय बजारमाभन्दा २१ रुपैयाँ ४६ पैसा र डिजेल २७ रुपैयाँ ३८ पैसा सस्तो रहेको नेपाल आयल निगमले जनाएको छ ।
हाल रक्सौलमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १२० रुपैयाँ ९६ पैसा छ भने वीरगञ्जमा त्यही पेट्रोल ९९ रुपैयाँ ५० पैसामा पाइन्छ । त्यस्तै, रक्सौलमा १०४ रुपैयाँ ८८ पैसा प्रतिलिटर पर्ने डिजेल विरगञ्जमा ७७ रुपैयाँ ५० पैसामा किन्न पाइन्छ ।
भारतीय बजारको भन्दा निकै सस्तो भएकाले नेपाल आएको पेट्रोलियम तस्करी वा अन्य विभिन्न माध्यमबाट भारत नै फर्किने गरेको निगम बताउँछ । त्यसको चापले माग धान्न निगमलाई निकै सकस पर्दै आएको निगमका अधिकारीहरू बताउँछन् ।
भारतमा गत आइतवार ७१ रुपैयाँ ६ पैसा भारु प्रतिलिटर रहेको पेट्रोलको मूल्य सोमबार ७१ रुपैयाँ १८ पैसा भारु र मंगलवार ७१ रुपैयाँ २७ पैसा भारु पुग्यो । त्यस्तै, आइतवार डिजेलको मूल्य ६१ रुपैयाँ ५६ पैसा भारु रहेकामा सोमबार ६१ रुपैयाँ ७४ पैसा भारु हुँदै मंगलबार ६१ रुपैयाँ ८८ पैसा भारु पुग्यो ।
करिव १५ दिनको अवधिमा त्यहाँ पेट्रोलको मूल्य प्रतिलिटर झण्डै डेढ रुपैयाँले बढेको छ भने डिजेल झण्डै अढाई रुपैयाँले बढेको छ ।
भारतमा डिजेलको मूल्य गत गत जुलाईमा ५३ रुपैयाँ ३३ पैसा भारु थियो । त्यसयता अगस्टमा ५५ रुपैयाँ ५८ पैसा, सेप्टेम्बरमा ५७ रुपैयाँ १३ पैसा र अक्टोबरमा ५८ रुपैयाँ ९२ पैसा पुगेको थियो । गत नोभेम्बरमा प्रतिलिटर डिजेलको यस्तो मूल्य घटेर ५७ रुपैयाँ ७३ पैसा पुगे पनि डिसेम्बरमै ५८ रुपैयाँ ४० पैसा पुगेर जनवरीमा थप बढ्न पुगेको छ ।
गत जुलाईमै भारतमा पेट्रोलको मूल्य प्रतिलिटर ६३ रुपैयाँ ९ पैसा भारु थियो । गत अगष्टमा प्रतिलिटर पेट्रोलको मूल्य ६५ रुपैयाँ ४० पैसा, सेप्टेम्बरमा ६९ रुपैयाँ २६ पैसा, अक्टोबरमा ७० रुपैयाँ ७६ पैसा पुगेको थियो । नोभेम्बरमा उक्त मूल्य घटेर ६९ रुपैयाँ १४ पुगे पनि डिसेम्बरमा फेरि बढेर ६९ रुपैयाँ २२ पैसा पुगेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलर पुगेको छ ।
पछिल्लो समयमा संसारका प्रमुख तेल उत्पादक मुलुकहरूको साझा संस्था (ओपेक) ले उत्पादन कटौती गरिरहेका छन् । ती मुलुकले उत्पादनमा कटौती गर्दा माग बढी मूल्य वृद्धि भएको हो ।
प्रकाशित: ३ माघ २०७४ १५:१४ बुधबार