‘भ्रमण वर्षको घोषणा राष्ट्रपतिले गर्नुहुनेछ’

‘भ्रमण वर्षको घोषणा राष्ट्रपतिले गर्नुहुनेछ’


काठममाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारीका साथ राष्ट्रिय अभियान शुरु गर्दैछ । आगामी जनवरी १ अर्थात् पुस १६ देखि भ्रमण वर्षको अभियान औपचारिक रुपमा शुरु हुनेछ । यसै सन्दर्भमा तयारी कस्तो हुदैछ भन्ने विषयमा हामीले नेपाल भ्रमणवर्ष २०२० सचिवालयका संचार संयोजक पिताम्बर सिग्देलसँग कुराकानी गरेका छौं । प्रस्तुत छ केन्द्रबिन्दुका संवाददाता प्रसुन संग्रौलाले उनीसँग गरेको कुराकानीको सम्पादित अंश:

प्रश्न १
नेपाल भ्रमणवर्षको तयारी के हुदैछ ?
औपचारिक रुपमा नेपाल भ्रमणवर्ष २०२० (भिजिट नेपाल २०२०) शुरु हुन एकहप्ता मात्र बाँकी छ । भिजिट नेपालको काउनडाउन शुरु भइसकेकाले त्यो दिन दशरथ रंगशालामा विशेष कार्यक्रम हुनेछ । त्यहाँ बाट नै यसको घोषणा हुनेछ । सम्माननीय राष्ट्रपतिले यसको घोषणा गर्नु हुने कार्यक्रम छ । प्रचार प्रसारका कामहरु पनि अन्तिम चरणमा पुगेका छन् । यसलाई कसरी सफल बनाउन सकिन्छ भन्नेमै हामीहरु केन्द्रीत रहेका छौं ।

प्रश्न २
यसलाई सफल बनाउन अन्य क्षेत्रबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ ?
यो राष्ट्रिय अभियान हो । एउटा व्यक्ति वा संस्थाको मात्र कार्यक्रम होइन । यसलाई सबै तहका व्यक्तिहरुले एउटा राष्ट्रिय पर्वको रुपमा मनाउन सक्ने भएकाले सबैको सहयोग र सहभागिता अनिवार्य छ । र, हामीले सहयोग पाउने पूर्ण विश्वास गरेका छौं । साथै होटल र यातायात व्यवसायीहरुसँग पनि हामीले समन्वय गरेका छौं । यसले आउने पर्यटकका लागि बस्न र घुम्न सजिलो हुनेछ भन्ने हाम्रो अपेक्षा हो ।

प्रश्न ३
अभियान शुरु हुने पहिलो दिनकालागि के के कार्यक्रम तय भएको छ ?
हामी दिउसो चार बजेदेखि दशरथ रंगशालामा जम्मा भएर कार्यक्रम शुरु गर्नेछौं । त्यहाँ राष्ट्रपतिदेखि राष्ट्रका उच्च पदस्थहरु तथा राजनीतिक दलका नेता, सांसद, मन्त्री, कलाकार, खेलाडी, पत्रकार, अनि सर्वसाधारणसहितको उपस्थिती रहनेछ । त्यहाँ करिव ३ घण्टा जति कार्यक्रम हुनेछ । कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना लगायतका कलाकारहरुले विशेष कला प्रर्दशन गर्ने कार्यक्रम छ । जसरी हामीले सागलाई उल्लासमय बनायौं, त्यस्तैगरी भ्रमणवर्षको शुरुवात गर्ने हाम्रो योजना छ । यसदिन विभिन्न राजनीतिक दलका नेताहरुले भ्रमणवर्ष सफल बनाउनका लागि गर्नुभएका प्रतिबद्धताहरु पनि सार्वजनिक गर्ने कार्यक्रम छ ।

प्रश्न ४
नेपाल भ्रमणवर्षको पहिलो दिन स्वदेशी व्यक्तिहरुको मात्र उपस्थिती रहन्छ वा विदेशी निकायहरुमा पनि यहाँहरुले खबर गर्नु भएको छ ?
त्यो दिनका लागि हामीले नेपाली मात्र होइन विदेशी निकायलाई पनि खबर गरेका छौं । सरकारले विभिन्न देशका मन्त्रिहरुलाई पनि निमन्त्रणा गरेको छ । उहाँहरुको पनि उपस्थिती रहने हाम्रो विश्वास छ । खासमा हाम्रो अभियान सफल बनाउनका लागि विदेशी निकाय र पर्यटककै उपस्थिती अनिवार्य भएकाले उहाँहरुको उपस्थितीका लागि हामीले जे गर्न सक्छौं त्यो थोरै पनि कमी हुने छैन । पर्यटकहरुका लागि विशेष प्याकेजका कार्यक्रम ल्याउने हाम्रो तयारी छ ।

प्रश्न ५
भ्रमणवर्ष सफल बनाउन संचार माध्यमहरुको उपस्थितीलाई यहाँहरुले कसरी सहज बनाउनु भएको छ नि ?
निश्चिय नै संचार माध्ययमको सहयोग विना हामीले कार्यक्रम गर्नै सक्दैनौं । ७ वटा टेलिभिजनहरुले यसको प्रत्यक्ष प्रशारणको अनुमति मागेका छन् । यस्तै ५० वटा रेडियोले पनि प्रत्यक्ष प्रशारण गर्नेछन् । जति सक्दो धेरै इलेक्ट्रोनिक्स मिडिया र प्रिन्ट मिडियालाई उपस्थित गराउने लक्ष्य हाम्रो छ । यसका लागि हामीले सबैलाई पत्राचार गरिसकेका छौं ।

Logo