नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम, अरु कुन पदमा को ? (भिडियो सहित)

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम, अरु कुन पदमा को ? (भिडियो सहित)


नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित भएका छन् ।  शनिबार भएको मतदानमा जीवनरामले १७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले १० मत मात्रै प्राप्त गरे । योसँगै जीवनराम ओलम्पिक कमिटीमा २ कार्यकाल निर्वाचित भएका छन् ।

पाँच जना उपाध्यक्षमा ज्योती राणा २६ मत सहित विजयी हुँदा चतुरानन्द राजबैद्यले २२, तेजबहादुर गुरुङले २०, सुनिल कुमार श्रेष्ठले १८ तथा अशोकरत्न बज्राचार्यले १५ मत ल्याएर विजयी भएका छन् । उपाध्यक्षमा मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी पराजित भएका छन् । २७ जना मतदाता रहेकोमा समिमले १२ मत मात्र प्राप्त गरे ।

महासचिवमा निलेन्द्रराज श्रेष्ठ निर्वाचित भएका छन् । उनले पुरेन्द्रविक्रम लाखेलाई ३ मतले पछि पार्दै निर्वाचित भएका हुन् । निलेन्द्रले १५ मत प्राप्त गर्दा लाखेले १२ मत ल्याएका छन् । निलेन्द्र जीवनराम श्रेष्ठ प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए ।

राष्ट्रिय खेलकुद परिषद् राखेपका निवर्तमान सदस्यसचिव केशबकुमार विष्ट नेपाल ओलम्पिक कमिटीको सचिवमा पराजित भएका छन् । विष्ट १ मतले पराजित भएका हुन् । तीन जना सचिव रहेको ओलम्पिकमा चार जनाले उम्मेदवारी दिएका थिए । जसमा विष्टले १७ मत ल्याउँदै पराजित हुँदा १८ मत ल्याएका रामजीबहादुर श्रेष्ठ १८ मत ल्याएर विजयी भए । त्यस्तै सचिव पदमा दीपकहर्ष बज्राचार्य र तुलसी थापा निर्वाचित भए । बज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत पाए ।

सात जना सदस्यहरुमा रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी विजयी भएका छन् । निर्वाचनमा प्रकाश शम्सेर, गोपाल सुन्दर, दीर्घबहादुर र रमेश प्रसाद शिवाकोटीले समान २६–२६ मत प्राप्त गरेका थिए ।

यसैगरी होमबहादुर दोङले २३ तथा टासी घलेले २२ मत ल्याउँदा राम अवालेले १९ मत प्राप्त गरेर विजयी भए ।

 

Logo