बक्यौता नबुझाउने दूरसञ्चार सेवा प्रदायकलाई स्पष्टीकरण

बक्यौता नबुझाउने दूरसञ्चार सेवा प्रदायकलाई स्पष्टीकरण


काठमाडौं,

नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएको समयसम्म पनि बक्यौता नबुझाउने दूरसञ्चार सेवा प्रदायकलाई दस दिनको समय दिएर स्पष्टीकरण सोध्ने भएको छ । बक्यौता बुझाउनका लागि अन्तिमपटक असार मसान्तसम्म समय दिएकोमा उक्त अवधिमा पनि बक्यौता नतिरेपछि प्राधिकरणले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्राधिकरणको आइतबार बसेको बोर्ड बैठकले बक्यौता नबुझाउने कम्पनीलाई स्पष्टीकरणको यस्तो निर्णय गरेको कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो । ‘कम्पनीहरूलाई अनुमतिपत्र किन खारेज नगर्ने भन्ने व्यहोरासहित स्पष्टीकरण सोध्ने निर्णय भएको छ उहाँले भन्नुभयो । यद्यपि बक्यौता नबुझाएको युनाइटेड टेलिकम (यूटीएल) लाई भने तत्काल स्पष्टीकरण नसोधिने भएको छ । सर्वोच्च अदालतले कम्पनीको लाइसेन्सको अग्राधिकार खारेज नगर्न मङ्गलबार अन्तरिम आदेश जारी गरेपछि प्राधिकरणले तत्काल उक्त कम्पनीलाई भने स्पष्टीकरण नसोध्ने भएको हो ।

प्राधिकरणले गत चैत १२ गते बक्यौता बुझाउन बाँकी रहेका ती सेवा प्रदायकलाई अन्तिमपटकका लागि असार मसान्तसम्मको समय दिएको थियो । यद्यपि तोकिएको अवधिमा कुनै पनि कम्पनीले बक्यौता नबुझाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार असार मसान्तसम्म स्मार्ट टेलिकम, भारतीय बहुमत लगानीको युनाइटेड टेलिकम (यूटीएल) र नेपाल स्याटेलाइट टेलिकम (हेल्लो नेपाल), वेबसर्फर नेपाल कम्युनिकेसन, आइटेल कम्युनिकेसन लगायत कम्पनीले करिब चार अर्ब ३१ करोड रुपियाँ बुझाउन बाँकी छ ।

त्यसमध्ये सबैभन्दा धेरै स्मार्ट टेलिकमको दुई अर्ब ५९ करोड दुई लाख रुपियाँ बक्यौता छ । स्मार्टको फ्रिक्वेन्सी दस्तुर, ग्रामीण दूरसञ्चार विकाष कोष, रोयल्टी र नवीकरण शीर्षकमा बक्यौता रहेको प्राधिकरणले जानकारी दिएको छ । त्यस्तै यूटीएलको ८७ करोड नौ लाख रुपियाँ बक्यौता छ । स्मार्टको जस्तै यूटीएलको पनि यी चारै शीर्षकबाहेक समयमै लाइसेन्सको प्रयोग गर्न नसकेबापतको थप पाँच लाख जरिवाना बक्यौता रहेको छ । नेपाल स्याटेलाइटको फ्रिक्वेन्सी दस्तुरबापतको करिब ८० करोड रुपियाँ बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।
गोरखापत्रबाट

Logo