जेठभित्र सक्ने लक्ष्यसहित फ्लाइ ओभरको काम धमाधम हुँदै [फोटोफिचर]

जेठभित्र सक्ने लक्ष्यसहित फ्लाइ ओभरको काम धमाधम हुँदै [फोटोफिचर]

केन्द्रबिन्दु
1.1k
Shares

काठमाडौं । ग्वार्को चोकमा निर्माणाधीन फ्लाइ ओभरको काम करिब ५० प्रतिशत सकिएको छ । आगामी जेठभित्र सक्ने लक्ष्यसहित काम भइरहेको उक्त फ्लाइ ओभर निर्माणको कार्यले भने पछिल्लोसमय तीव्रता पाउन थालेको हो ।

सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जिम्मा लिएर अगाडि बढाइरहेको उक्त आयोजना आरसी–समानान्तर–रेलिगेर जेभीसँग ठेक्का सम्झौता भएर काम भइरहेको छ ।

गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर (सीडीई) राकेश महर्जनले फ्लाइ ओभरको धमाधम संरचना तयार गर्ने काम भइरहेको बताए । ‘फ्लाइ ओभर निर्माणको काम जति सक्दो छिटो सक्ने योजनाका साथ काम गरिरहेका छौं, अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ भने जेठभित्र निर्माणको काम सकेर सञ्चालनमा ल्याउने योजना हाम्रो हो,’ उनले भने ।

ठेकेदार कम्पनीसँग फ्लाइ ओभर निर्माणका लागि १७ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको छ । महर्जनका अनुसार हालसम्म फ्लाइ ओभर निर्माण गर्दा करिब १ करोड ३७ लाख रुपैयाँ खर्च भइसकेको छ ।

ठेकेदार कम्पनीसँग दुई वर्षभित्र सक्ने लक्ष्यसहित २०७८ फागुनमा ठेक्का सम्झौता भएको थियो । तर, फ्लाइ ओभरको डिजाइन परिवर्तन गर्नुपर्ने भएकाले डिजाइन परिवर्तन गरेर काम सुरु गर्दा समयमा ओभरको काम नसकिएको पनि महर्जनले जानकारी दिए ।

उनले अबको केही महिनापछि ढलानको कार्य पनि सुरु हुने बताए ।

एमएसी वालको प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर उचाइको फ्लाइ ओभर तयार गर्ने योजना छ । फ्लाइ ओभरको लम्बाइ कुल चार सय ९० मिटर हुनेछ भने केन्द्रले इपीसी मोडेलमा ठेक्का लगाएको हो ।

फ्लाइओभर बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो -याम र सातोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको -याम निर्माण गरिँदै छ भने यसको उचाइ ६ मिटरको हुनेछ । रिङरोडको जाम हटाउने उद्देश्यसहित बनाइएको फलाई ओभर आठ लेनमध्ये चार लेनलाई उठाएर रिङरोडमा फ्लाइ ओभर निर्माण गरिने छ ।

फ्लाइ ओभरको काम गत मंसिरदेखि सुरू भएको हो । फ्लाइ ओभर बनाउन थालेपछि उक्त क्षेत्रमा सवारी जाम बढ्दै गएको देखिन्छ । तर, ट्राफिक समस्या समाधान गर्दै यातायातलाई सहज आवतजावतको पहुँच मिलाई सहज ओभरको काम तीव्र गतिमा भइरहेको महर्जनले जानकारी दिए ।

तस्विरः देशभक्त थापा/केन्द्रबिन्दु

Logo