आगामी मंसिरसम्म सुनको मूल्य १ लाख ८० हजार रुपैयाँ पुग्छः अध्यक्ष शाक्य

आगामी मंसिरसम्म सुनको मूल्य १ लाख ८० हजार रुपैयाँ पुग्छः अध्यक्ष शाक्य

केन्द्रबिन्दु
420
Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले आगामी वर्षकाे मंसिरसम्ममा सुनको मूल्य प्रतितोला १ लाख ८० हजारसम्म पुग्ने बताएका छन् । केन्द्रबिन्दुसँग कुराकानी गर्दै शाक्यले सुनको मूल्य यसरी नै बृद्धि हुँदै गए मंसिरसम्ममा उक्त मूल्य पुग्ने बताएका हुन् ।

शाक्यका अनुसार सुनको मूल्य अझै बढ्न सक्ने सम्भावना रहेको छ । ‘आर्थिक विश्लेषकहरुले सन् २०२४ को डिसेम्बरसम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ३ हजार डलर पुग्ने प्रक्षेपण गरिएको छन्, अहिले २१ सय ७५ डलरको रेसियोमा कारोबार भइरहेको छ, अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढ्दै गयो भने यहाँ पनि सुनको मूल्य बढ्छ,’ उनले भने ।

सुनको मूल्य बढ्दै गए नेपालमा प्रतितोला मंसिरसम्म १ लाख ८० हजार रुपैयाँ पुग्ने आंकलन गरिएको उनको भनाइ छ । नेपाली बजारमा दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम भने जारी छ ।

‘सुनको मूल्य दिनहुँ बढ्दो छ, अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीमा आएको उछालले पनि यसमा प्रभाव पारिरहेको छ, यसरी नै सुनको मूल्य बृद्धि हुँदै गयो भने १ लाख ८० हजार छिट्टै पुग्छ, अहिलेको अवस्था हेर्दा सुनको मूल्य अझै बढ्ने देखिन्छ,’ उनले भने ।

आइतबार छापावाला सुनको मूल्य एक लाख २६ हजार र तेजावी सुनको मूल्य १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्यमा पुगेर कारोबार भइरहेको हो । त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको हो ।

Logo