सात महिनामा नेपालले कुन देशमा कति गर्‍याे निर्यात ?

सात महिनामा नेपालले कुन देशमा कति गर्‍याे निर्यात ?

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु निर्यात ७.१ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले निर्यातमा ७.१ प्रतिशतले कमी आई ८६ अर्ब ८३ करोड रुपैयाँमा कायम भएको देखाएको हाे ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष निर्यातमा २९ प्रतिशतले कमी आएको थियो । भारत र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११.३ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीनतर्फको निर्यात ३३८.८ प्रतिशतले वृद्धि भएको छ ।

बस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको देखिएको छ भने पाम तेल, सोयाविन तेल, अलैंची, चिया, ऊनी गलैचा लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु आयात २.३ प्रतिशतले कमी आई ८९७ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.९ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २३.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३८.४ प्रतिशतले बढेको छ ।

वस्तुगत आधारमा तयारी पोशाक, सवारी साधान तथा स्पेयर पार्टपुर्जा, हवाइजहाज स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले सार्वजनिक वर्तमान आर्थिक तथा वित्तीय अवस्थाले देखाएको छ ।

यस्तै, आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले कमी आई ८खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.८८ अर्ब १८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७१ अर्ब ७८ करोड बराबरको भएको थियो ।

Logo