अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो -अर्थमन्त्री पुन

अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो -अर्थमन्त्री पुन

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँग आज अर्थमन्त्रालयमा भेटवार्ता गर्दै अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरे ।

नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको उल्लेख गर्दै उनले लगानीकर्ताका लागि आवश्यक कानुनी तथा व्यावहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको बताए । “अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो”, पुनले भने, “तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु ।”

पुनले नेपालमा लगानीका लागि कृषि, उद्योग तथा सूचना प्रविधि क्षेत्रमा राम्रो सम्भावनाको क्षेत्र भएको बताए । लगानी सम्मेलन पूर्वनिर्धारित समयमै हुने बताउँदै सरकारले त्यसको तयारीका लागि तीव्रता दिइरहेको पनि उनले उल्लेख गरे ।

राजदूत थम्प्सनले लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ता आउन इच्छुक रहेको जानकारी दिए । उनले अमेरिकी लगानीकर्ता नेपालमा आउने वातावरण बनाउन नेपालस्थित अमेरिकी दूतावासले सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाए ।

अर्को प्रसङ्गमा राजदूत थम्प्सनले सङ्क्रमणालीन न्यायसम्बन्धी विधेयक चाँडै टुङ्गो लाग्ने र त्यसलगत्तै शान्ति प्रक्रियाको कामले तीव्रता पाउनेमा विश्वास व्यक्त गरे ।
“सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक चाँडै टुङ्गिने र शान्ति प्रक्रियाका बाँकी काम सकिनेमा अमेरिका आशावादी छ”, राजदूत थम्प्सनले भने, “त्यसमा सहयोग गर्न अमेरिकी सरकार तयार छ ।”

Logo