फास्ट ट्रयाककाे सुरुङ निर्माणमा उत्साहजनक प्रगतिः अहिलेसम्म कति भयाे काम ? [भिडियाे]

फास्ट ट्रयाककाे सुरुङ निर्माणमा उत्साहजनक प्रगतिः अहिलेसम्म कति भयाे काम ? [भिडियाे]

केन्द्रबिन्दु
154
Shares

काठमाडाैं-तराई/मधेश द्रुतमार्ग आयोजनाको काम यति बेला धमाधम भइरहेको छ । विभिन्न प्याकेज छुट्याई तीव्र गतिमा भइरहेको द्रुतमार्गको काम वि.सं. २०८३ मा सक्ने लक्ष्य लिइएको छ । यो आयोजनाको ६ स्थानमा सुरुङ मार्ग पनि निर्माण हुनेछन् ।

जसमा देवीचौरी सुरुङ एक किलोमिटर, सिसौँटार सुरुङ शून्य दशमलव ३९, चन्द्राम भीर सुरुङ दुई दशमलव २५, महादेवडाँडा सुरुङ तीन दशमलव ३५५, धेद्रे सुरुङ एक दशमलव ६३० तथा लेनडाँडा सुरुङ एक दशमलव ४३० किलोमिटर छ । ती सुरुङमार्गको कुल लम्बाई १० दशमलव ५५ किलोमिटर छ ।

जसमध्ये महादेवटार सुरुङमार्गको हालसम्म एक दशमलव ९४८, महादेवटार सुरुङमार्गको एक दशमलव ९४८, किलोमिटर सुरुङ खन्ने काम सकिएको छ । त्यसैगरी, धेद्रे सुरुङमार्गको कुल लम्बाइको एक दशमलव १७३ किलोमिटर सुरुङ खनिसकेको नेपाली सेनाले जानकारी दिएको छ । सेनाका अनुसार लेनडाँडा सुरुडमार्गको स्वीकृत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) बमोजिम कुल लम्बाइ एक दशमलव ४३ किलोमिटर रहेकामा हालसम्म एक दशमलव २०४ किलोमिटर सुरुङ खनिएको छ ।

लेनडाँडा सुरुङमार्ग आगामी वर्ष वैशाखभित्र, धेद्रे सुरुङमार्ग जेठभित्र र महादेवटार सुरुङमार्ग आगामी वर्ष असोज तथा कात्तिकभित्र ‘ब्रेक थ्रु’ गरिसक्ने गरी काम भइरहेको आयोजनाका इन्जिनियर विनायक शर्माले जानकारी दिए । उनका अनुसार एउटा सुरुङमार्गमा हरेक दिन औसत तीन मिटर हाराहारी खन्ने काम भइरहेको छ ।

निर्माणाधिन सुरुङको कुल लम्बाई ६ हजार ४ सय १५ मिटर मध्ये ३ हजार ५ सय ९२ मिटर अर्थात् ५६ प्रतिशत सुरुङ खन्ने काम भइसकेको छ । सुरुङ मार्गमात्र नभई हाल आयोजनाभित्रका सबै कामहरु द्रुत भइरहेको नेपाली सेनाले जनाएको छ ।
काठमाडौंलाई तराईसँग जोडी यात्रा तथा ढुवानी सहज बनाउँदै राष्ट्रको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु-याउने अपेक्षा राखि यो आयोजनाको काम अगाडि बढाइएको हो ।

नेपाल सरकार मन्त्रिपरिषद्ले वि.सं. २०७४ वैशाख २१ गतेको निर्णयबाट नेपाली सेनालाई निर्माण व्यवस्थापनको जिम्मेवारी प्राप्त भएको यो आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट २०७४ श्रावण २७ गते नेपाली सेनालाई आयोजना हस्तान्तरण भए काम सुरु भएको थियो । नेपाल सेनाले अगाडि बढाएको यस आयोजनाको लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । जसमध्ये आयोजनामा हालसम्म ५२ अर्ब ८६ करोड रुपैयाँ खर्च भएको छ । दु्रतमार्गको भौतिक प्रगति २८.५३ प्रतिशत, वित्तिय प्रगति २९.४४ प्रतिशत रहेको सेनाले जानकारी दिएको छ ।

Logo