भृकुटीमण्डपमा ‘२५औं फ्लोरा एक्स्पो’ को आयोजना हुँदै, एक करोड कारोबारको अपेक्षा

भृकुटीमण्डपमा ‘२५औं फ्लोरा एक्स्पो’ को आयोजना हुँदै, एक करोड कारोबारको अपेक्षा

केन्द्रबिन्दु
238
Shares

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले भृकुटीमण्डप ‘२५औं फ्लोरा एक्स्पो’ को आयोजना गर्ने भएको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै फ्लोरिकल्चर एशोसिएसनले ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नारासहित मेला सञ्चालन हुने जानकारी दिएको हो ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष तथा मेला संयोजक सिताराम पन्तले मेला चैत्र १ देखि ४ गतेसम्म सञ्चालन हुने बताए । मेलाको उद्घाटन भने कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी साहले गर्ने छिन् ।

फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल ६०, ल्याण्डस्केपिङ्ग स्टल ३, अफिसियल स्टल ८, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा र १ वटा फूड स्टलसहित ७३ वटा स्टल रहने आयोजक टिमले बताएको छ ।

मेलामा पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरूको विभिन्न विद्याहरूमा (उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ्ग, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा गराईने पनि पन्तले बताए ।

उनका अनुसार सो मूल्याङ्कन सम्बन्धित क्षेत्रका विज्ञ प्राविधिकद्वारा हुनेछ । यसरी प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुने पुष्प व्यवसायीलाई मेला समुद्घाटन समारोहको अवसरमा नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने पनि बताइएको छ ।

निरन्तर पुष्प व्यवसाय गरिरहेको नर्सरी व्यवसायीहरू मध्ये एक जनालाई छनौट गरी मेला समुद्घाटनको अवसरमा उक्त नर्सरीलाई कदर पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको छ ।

यस पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनीहरू, व्यवसायीहरू तथा विभिन्न संघ संस्थाहरूको सहभागिता रहने पनि आयोजक टिमले जानकारी दिएको छ । पुष्प मेलामा मौसमी फूलका बोट बिरुवाहरू, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, थोपा सिंचाई प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् ।

मेलाले पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नवीनतम प्रविधिबारे प्रचार प्रसार गर्न सघाउ पुग्ने विश्वास लिएको छ । आयोजक टिमले २५औं फ्लोरा एक्स्पो अवधि भर किरव ५० हजार अवलोकन कर्ताहरूले अवलोकन गर्ने साथै मेलाको समयमा करिब एक करोड रुपैयाँसम्मको व्यवसायीक कारोबार हुने अपेक्षा लिएको छ ।

संयोजक पन्तका अनुसार मेलामा सर्वसाधरणको लागि १५० र विद्यार्थीको लागि १०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

Logo