अर्काे निर्वाचनमा हामी दुई तिहाई मत ल्याउछौँः प्रधानमन्त्री (भिडियोमा)

अर्काे निर्वाचनमा हामी दुई तिहाई मत ल्याउछौँः प्रधानमन्त्री (भिडियोमा)


प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्र राष्ट्रिय एकता कायम हुन नदिने षडयन्त्र भईरहेको बताएका छन् । मदन आश्रित स्मृति दिवस र पार्टी एकताको एक बर्ष पुगेको अवसरमा मदननगर बल्खुमा शुक्रबार आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता हुन नदिने प्रयास भईरहेको बताएका हुन् ।

उनले विभिन्न कोणबाट नेपाली समाजमा विद्धेष र घृणा फैलाउने, पारस्परिक द्धन्द्ध मच्चाउन खोज्ने प्रयास भईरहेको दाबी गरे । सरकारको विरोध गर्ने नाममा समाजलाई अनुसासनहिन, अराजक र असभ्य बनाउने प्रयास गहिरो गरी भईरहेको भन्दै त्यस तर्फ सरकार सजग रहेकाले प्रतिक्रियावादीहरु सफल नहुने दाबी गरे ।

राष्ट्रपतिले विश्वभर नै मेरो सरकार भनेर नै सम्बोधन गर्ने गरेको भन्दै उनले राष्ट्रपतिको सम्बोधनलाई लिएर विपक्षी दलले स्याल हुईयाँ मच्चाउने काम गरेको दाबी गरे । मेरो सरकारको विषय उचालेर नेपाली कांग्रेसले राष्ट्रपतिको भन्दा पनि गणतन्त्रतात्मक प्रणाली र पद्धतिको विरोध गरेको टिप्पणी उनले गरे ।

जनताको पक्षमा काम गर्ने पार्टी भएकाले आगामी निर्वाचनमा पार्टीले स्पष्ट दुई तिहाई मत प्राप्त गर्ने दाबी उनले गरेका छन् । उनले भने, “अहिले हाम्रो पार्टी बहुमतका साथ सरकारमा छ कतिलाई पचेको छैन । अहिले हामीसंग अलिकति दुई तिहाई छैन । नपचेर के गर्ने अर्को पटक दुई तिहाईको हुन्छ । यो सरकार । ”

प्रतिक्रियावादी, नेपालविरोधी, जनविरोधी शक्तिका दुराकांक्षा विपरित पार्टी एकतालाई मजबुत बनाउदै पुर्णता दिने काम भएको र जनवर्गिय संगठनहरुको एकिकरण गरि नेतृत्वहरुको टुंगो लगाईएको बताए ।

छुटेकाहरु बांकी संगठनमा समेटिदै जाने भन्दै उनले एकता र एकिकरणको भावनालाई ध्यानमा राखेर मन फराकिलो बनाउदै अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने, “फराकिलो ढंगले पार्टी एकताको पक्षमा हामी छौ ।

त्यसैले यतिबेला चित्त सानो पार्ने होइन , यतिबेला मन दुखाउने होइन । यतिबेला फराकिलो पन र फराकिलो मनका साथ एकता र एकिकरणको भावनालाई ध्यानमा राख्दै हामी दुईवटा पार्टी मिलाएर , दुईवटा वैचारिक धारहरुलाई मिलाएर एउटा ठाउँमा ल्याउदै छौ । एउटा पार्टी बनाएका छौ । र त्यसलाई नछुटिने गरि अन्तरघुलित गर्दैछौ । यस कुरालाई बुझेर नै साथीहरुले नेतृत्व गर्नुहुनेछ भन्ने मैले बुझेको छु । ”

एकता र एकिकरणको सवालमा केही काम बाँकी रहेको भएपनि ती काम पनि केही दिन भित्र नै पुरा हुने विश्वास दिलाए । उनले पराजित प्रतिक्रियावादी शक्तिहरुले सहजै पराजय स्वीकार्न नसक्ने र उनीहरु सधै जनताको खुसीलाई भत्काउन लागि पर्ने गरेकाले सरकारका आगाडि धेरै चुनौति रहेको टिप्पणी गरेका छन् ।

उनले पुर्वाधार निर्माण, कृषिको आधुनिकीकरण, उद्योग पर्यटन र सेवा क्षेत्रको विकास, रोजगारीको अवसर श्रृजना गरि मुलुकमा सवल अर्थतन्त्र बनाउने काममा सरकार लागेकाले निरपेक्ष गरिबीको रेखामुनि भन्ने कुरा लामो समय नरहेने दाबी गरे । उनले बालुवाटारको जग्गा, सुनकाण्ड, भ्रष्टाचार लगायतमा छानविन सुरु गरेको सरकार विरुद्ध नै हमला भईरहेको गुनासो गरे । उनले आफ्नो ध्यान भ्रष्टाचार नगर्ने र गर्न नदिनेमा रहेको दोहोर्याएका छन् ।

Logo