टुटल र पठाओको बदमासी: यात्रुसँग कर असुल्ने, सरकारलाई नतिर्ने

टुटल र पठाओको बदमासी: यात्रुसँग कर असुल्ने, सरकारलाई नतिर्ने


राइड सेयरिङ् सेवा प्रदान गरिरहेको टुटल र पठाओले कर छलेको पुष्टि भएको छ।

यात्रुसँग मूल्य अभिवृद्धि कर असुल गरे पनि सरकारलाई भने कर नतिरेको तथ्य फेला परेको हो  । आन्तरिक राजश्व कार्यालयले टुटललाई ३ करोड रुपैयाँ कर तिर्न आग्रह गरेको छ भने ‘पठाओ’ लाई ३० लाख रुपैयाँ कर तिर्न आग्रह गरिएको छ।

टुटल संचालकले भने कमिसनमा कर नलगाएर कारोबारमा कर लगाएको भन्दै बिरोध जनाएका छन् । दुवै सेवा प्रदायक कम्पनीले मोबाइल एप्स मार्फत मोटरसाइकल चालक र यात्रुबीच मध्यस्तकर्ताको काम गर्दै सेवा प्रदान गरिरहेको छ। जसको ९७ प्रतिशत मोटरसाइकलवालाले र तीन प्रतिशत प्रविधि सञ्चालकले लिने गरेका छन् ।

यसको भाडादर न्यूनतम ३० रुपैयाँ र प्रतिकिलोमिटर १५ का दरले शुल्क लिने गरेका छन् ।

के हो टुटल र पठाओ ?

‘लिफ्ट कल्चर’ कै विकसित रुप हो टुटल र पठाओ । यसले मोटरसाइकल र स्कुटरबाट सेवा प्रदान गर्दै आएको छ । केही बर्षदेखि राजधानी काठमाडौंमा संचालन भईरहेको टुटलका अहिले १० हजार भन्दा बढी प्रयोगकर्ता छन् । उपभोक्ताले एप्समार्फत सम्पर्क गरेर यो सुविधा लिन सकिन्छ । त्यसका लागि उपभोक्ताले चालकलाई नगद भुक्तानी पनि दिन सक्छन् भने टुटल ब्यालेन्सबाट पनि भुक्तानी गर्न सकिन्छ ।

टुटलमा आफ्नो एकाउन्ट हुनेहरुले त्यसमा रकम राखेर पनि यो सेवा प्रयोग गर्न सक्छन् । मोबाइल एप्समा गएर आफू कहाँदेखि कहाँ पुग्नुपर्ने हो ठाउँ र समयको जानकारी दिएपछि सेवा प्रवाह हुन्छ । भाडा पनि समय र यात्रा दुरी अनुसार नै तय हुन्छ । टुटलको खातामा खल्ती, इसेवालगायतका माध्यमबाट आफ्नो ब्यालेन्स डिपोजित गर्न सकिन्छ । तपाईले डिपोजित गरेको ब्यालेन्समा टुटलले थप ५ प्रतिशत जम्मा गरि दिनेछ । त्यसैगरी टुटलको आफ्नै भौचर छ त्यसबाट पनि ब्यालेन्स डिपोजित गर्न सकिन्छ । टुटल पार्टनरबाट आफ्नो खातामा जम्मा भएको नगद विभिन्न माध्यमबाट निकाल्न सकिन्छ ।

मोटरसाइकल र स्कुटरमा यात्रा गर्दा सुरक्षाको चुनौति हुन्छ । त्यसका लागि कम्पनीले बिशेष कार्ययोजना पनि बनाएको छ । जस अनुसार कुन सवारीधनीले कुन मान्छेलाई बोकेर कहाँ जाँदैछ भन्ने कुरा निरिक्षण भईरहेको हुन्छ । त्यसैगरी उपभोक्ता स्वयंले पनि एप्स र एसएमएसबाट जानकारी दिन सकिन्छ । ट्रयाकिङ कोडको सुविधा दिइएको हुन्छ जसबाट अटो एसएमएस हुन्छ । त्यसैगरी सेवा लिनुअघि नै चालक छनौटको सुविधा पनि दिएको छ ।

सन् २०१५ देखि संचालनमा आएको बंगलादेशी कम्पनी पठाओ पनि हालै नेपालमा भित्रिएको छ । पठाओले पनि बजार विस्तारका लागि उपभोक्तालाई विभिन्न स्किमहरुसहित सेवा दिईरहेको छ ।

Logo