काठमाडौंमा मागअनुसार भित्रिन सकेन फलफूल तथा तरकारी

काठमाडौंमा मागअनुसार भित्रिन सकेन फलफूल तथा तरकारी

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । तीन दिनेदेखि परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा आएको बाढीपहिरोको प्रभावले राजधानीमा अन्य समयको तुलनामा कम मात्रामा फलफूल तथा तरकारी भित्रिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार राजधानीमा शनिबार एक सय ५६ टन फलफूल तथा तरकारी भित्रिएको थियो । आज भने ३८ टन मात्र फलफूल र तरकारी भित्रिएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

सामान्य अवस्थामा राजधानीमा छ सयदेखि सात सय टनसम्म फलफूल तथा तरकारी भित्रिने गरेको भन्दै आज ३८ टन मात्रै भित्रिएको उनले जानकारी दिए ।

पूर्वी एवं मध्य नेपालमा पछिल्लो तीन दिनसम्म परेको भारी वर्षासँगैको बाढी र पहिरोले मुख्य सडक अवरुद्ध भएकाले कम फलफूल तथा तरकारी भित्रिएको हो । थोरै सामान भित्रिएपछि फलफूल र तरकारीको मूल्य सतप्रतिशत बढेको सूचना अधिकारी श्रेष्ठले उल्लेख गरे ।

राजधानीमा छिमेकी जिल्लाहरु धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोकका साथै मधेश प्रदेशका केही जिल्ला तथा मित्रराष्ट्र भारतबाट पनि फलफूल तथा तरकारी आउने गरेको समितिले जनाएको छ ।

Logo