प्रधानमन्त्री ताप्लेजुङ पुग्दा घुन्सावासीमा उत्साह (फोटोफिचर)

प्रधानमन्त्री ताप्लेजुङ पुग्दा घुन्सावासीमा उत्साह (फोटोफिचर)


ताप्लेजुङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गरेका छन् ।

 

घुन्सा फाउण्डेशनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा पुगेका हुन् । भवन उद्घाटन अघि उनले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङ्गोला क्षेत्रको हवाई निरीक्षण पनि गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङ लगायत घुन्सा गएका थिए । जिल्लाको दुर्गम घुन्सामा २०७१ सालमा स्वास्थ्य एकाइ स्थापना भएको थियो ।

कञ्चनजङ्घा हिमालको प्रवेशद्वार मानिने हिमाली गाउँमा प्रधानमन्त्रीसहितका उच्चपदस्थ व्यक्तित्वको उपस्थितिले घुन्सावासी उत्साहित देखिएका छन् । जिल्लाको दुर्गम घुन्साको विकासमा सरकारको ध्यानाकर्षण हुने जनाउँदै स्थानीयवासी हर्षित बनेका हुन् । कञ्चनजङ्घाको काखमा रहेको घुन्सा पर्यटकीय क्षेत्र हो । पर्याप्त विद्युत् र इन्टरनेटको सेवासुविधा नहुँदा सास्ती खेप्दै आएका घुन्सावासीले अब सो समस्या हट्ने आशा गरेका छन् ।

यस्तै घुन्सा नमूना गाउँ बन्नेमा समेत उनीहरु विश्वस्त देखिएका छन् । “हाम्रो यस्तो दुर्गम गाउँमा प्रधानमन्त्री लगायतको उपस्थितिले हामी धेरै आशावादी बनेका छौं, हामीले झेल्दै आएको स्वास्थ्य उपचार, विद्युत्, टेलिफोनसहित इन्टरनेटको समस्या समाधान हुन्छ होला”, स्थानीयवासी हिमाली चुङ्दाकले भने ।

विगतमा स्वास्थ्योपचार नपाएर धेरैले सुत्केरी अवस्थामा ज्यान गुमाउनु परेको, स्वास्थ्यमा जटिल समस्या आउँदा बिरामीलाई बोकेर तीन दिनपछि मात्र अस्पताल पुर्याउनु परेको, देशविदेशबाट आउने पर्यटकलाई समेत स्वास्थ्यमा समस्या आउँदा टुलुटुलु हेर्नु परेको जस्ता पीडा स्मरण गर्दै चुङ्दाकले घुन्सावासी अब त्यस्ता समस्याबाट मुक्त हुनेमा ढुक्क रहेको बताए । यस्तै विगतका तुलनामा यस क्षेत्रमा पर्यटन गतिविधिसमेत बढेर जानेमा यहाँका बासिन्दा ढुक्क बनेका छन् ।

 

Logo