काठमाडौं

राष्ट्रसंघको ७३ औं महासभामा जाँदा प्रधानमन्त्री केपी शर्मा ओली १३ दिन विदेश बस्ने भएका छन् । "/>

१३ दिनका लागि देश छोड्दै प्रधानमन्त्री ओली

१३ दिनका लागि देश छोड्दै प्रधानमन्त्री ओली


काठमाडौं

राष्ट्रसंघको ७३ औं महासभामा जाँदा प्रधानमन्त्री केपी शर्मा ओली १३ दिन विदेश बस्ने भएका छन् । न्युयोर्कका लागि शनिबार उड्ने उनी छिटोमा असोज १८ गते आइपुग्ने छन् । त्यसबीच उनले कोस्टारिकाको पनि भ्रमण गर्ने भएका छन् ।

‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष बनाऔं : शान्त, समान र दिगो समाजका लागि विश्व नेतृत्व र जिम्मेवारी बाँडफाँट गरौं’ नारासहित मंगलबार महासभा सुरु हुँदैछ । प्रधानमन्त्री ओलीले असोज ११ गते साँझ उच्चस्तरीय सम्बोधन गर्नेछन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९ गते स्वागत गरेपछि ब्राजिलको सम्बोधनबाट महासभा आरम्भ हुनेछ । त्यसपछि अमेरिकाले सम्बोधन गर्नेछ ।

राष्ट्र संघमा नेपालको स्थायी प्रतिनिधि नहुँदा समन्वय गर्न कठिनाइ भइरहेको परराष्ट्रका अधिकारीले बताए । राष्ट्र संघको स्थायी प्रतिनिधिलाई फिर्ता बोलाएपछि सरकारले नयाँ नियुक्ति गर्न सकेको छैन । महासभामा सहभागी हुने २१ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सांसदहरू, मेयर, परराष्ट्र अधिकारी र केही मन्त्रालयका अधिकारी रहनेछन् ।

प्रधानमन्त्री ओलीले प्रस्थान गर्दा वा फर्कंदा खाडी मुलुक आसपासका राजदुत तथा नियोग प्रमुखलाई आफ्नो ट्रान्जिट पार्ने मुलुकमा भेला गरेर निर्देशन दिने कार्यक्रमको तयारीले अझै अन्तिम रुप पाएको छैन । प्रधानमन्त्री ओलीले अमेरिका आसपासका राजदूतलाई न्यूयोर्कमा भेला गराएर निर्देशन दिने कार्यक्रम पनि बन्दैछ ।
अन्नपूर्णबाट

Logo