काठमाडौँ
फलफूल व्यापारमा ५० प्रतिशतले गिरावट आएको छ । दसैंमा मान्यजनको घरमा टीका लगाउन देखि पूजाआजा र खानपिनमा फलफूल प्रयोग धेरै हुने भए पनि यो वर्ष फलफूल व्यापार ५० प्रतिशत घटेको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अरम बानियाँले बताए ।
दसैंमा धेरै मानिस काठमाडौंबाट बाहिरेको र बजारमा महँगी निकै बढेको हुँदा काठमाडौंमा फलफूल व्यापार घटेको बानियाँको भनाइ छ । उनले भने, ‘गत वर्षको दसैंमा काठमाडौंमा मात्र ५० करोडको फलफूलको व्यापार भएको थियो भने यो वर्ष २५ करोडको व्यापार भएको छ ।’
काठमाडौंमा भएको २५ करोड फलफूल व्यापार मध्येमा ४ करोड मूल्य बराबरको फलफूल नेपालमा उत्पादन भएको उनले बताए । बाँकी २१ करोड रुपैयाँ मूल्य बराबरको भारत र चीनबाट आयात गरेको फलफूल भएको बताए । पछिल्लो समयमा नेपालमा पनि केरा खेती उत्पादन राम्रो हुँदै गएकाले अहिले भारतबाट कमै मात्रामा आयात हुने गरेको छ । काठमाडौंमा यो वर्ष त्रिशूलीको केराले बजार लिएको अध्यक्ष बानियाँले बताए ।
विगतका वर्षमा दसैंको समयमा भारतबाट करोडौंको केरा आयात हुने गरेको थियो भने अहिले नेपालमा पनि केरा खेती फस्टाउँदै गएकाले पहिलेको तुलनामा कमै मात्रामा मात्र केरा आयात हुने गरेको छ ।
थोक मूल्य नै बढी परेको हुँदा खुद्रा व्यापारीले पनि उपभोक्तालाई बढी मूल्य लिने गरेको उनको भनाइ छ । स्याउको थोक मूल्य २७० वा २८० छ भने खुद्रा व्यापारीले सो स्याउ ३ सय रुपैयाँ प्रतिकेजीमा बिक्री गर्ने गरेको उनले बताए । मुस्ताङको स्याउ प्रतिकेजी १२० देखि १८० मा विक्री भएको छ । नेपालमा ग्रेडिङ सिस्टममा स्याउ राख्ने हो भने अन्य देशको भन्दा मुस्ताङमा उत्पादन हुने स्याउ धेरै राम्रो रहने अपेक्षा गरिएको छ ।
राजधानीबाट
प्रकाशित: ७ कात्तिक २०७५ ०९:१२ बुधबार