कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुन्त सञ्चालन गर – गोविन्द केसी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुन्त सञ्चालन गर – गोविन्द केसी


डा. गोविन्द केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुन्त सञ्चालन गर्न माग गरेका छन् । प्रतिष्ठान बनेको आठ वर्ष बित्दा पनि संचालन नआएको भन्दै उनले तत्काल संचालनमा ल्याउन माग गरेका हुन् ।

आज एक अडियो संदेश दिंदै अनसनरत डा. केसीले गाउँगाउँमा स्वास्थ्य सेवा पुगोस् भन्ने हेतुले आफुले जुम्लामै पुगेर सत्याग्रह गरेको बताएका छन् । ‘जुम्लामै किन गर्नुपर्‍यो सत्याग्रह भन्ने कुरामा चाहिँ, एक दशकदेखि गाउँगाउँमा स्वास्थ्य सेवा पुगोस् भनी लडिरहेका छौं। गाउँका मान्छे, निम्न, मध्यम, विपन्न वर्गले पनि योग्यता अनुसार डाक्टर, नर्स अथवा विज्ञहरु बन्न सकून्, पढ्न सकून्। त्यस्तो खालको ऐन बनोस्। जबकि ग्रामीण भेगमा बस्ने ८० प्रतिशत जनता अपहेलित र उपेक्षित छन्। त्यसकारण हुम्ला, जुम्लाभन्दा उपयुक्त स्थान अन्यत्र कहीँ हुन सक्दैन।’ सन्देशमा उनले भनेका छन् ।

‘आठ वर्ष भयो, अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। सञ्चालनमा आएको भए यहाँका मान्छे डाक्टर बन्थे। नर्स बन्थे। यहाँका मान्छेहरु स्वास्थ्य सम्बन्धी विज्ञ बन्थे। यस क्षेत्रमा स्वास्थ्य सेवा गर्थे। गुणस्तरीय स्वास्थ्य सेवा सबैले प्राप्त गर्थे।’ उनले भनेका छन् ।

उनले अध्यादेशलाई तोडमोड गरेर माफिया, डन र नेतामुखी ऐन ल्याउन लागिएको आरोप लगाएका छन् । माग पूरा नभएसम्म सत्याग्रह नरोक्ने चेतावनी दिंदै उनले भने- ‘सरकारका तर्फबाट विभिन्न बहानाबाजी गरेर मलाई यहाँबाट उठाएर काठमाडौं लगेर सत्याग्रह तुहाउने प्रयास हुँदैछ। सरकारलाई मेरो स्वास्थ्यको यति चिन्ता भएको हो भने मेरो माग तुरुन्त पूरा गर, अनसन तुरुन्त तोड्छु।’

Logo