मिठो सपना बोकेर गएका म्याग्देली युवाको विदेशमा बिजोग

मिठो सपना बोकेर गएका म्याग्देली युवाको विदेशमा बिजोग


म्याग्दी, १ माघ

म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन । अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् । 

राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बिताउन पाउने जस्ता मानव तस्करको मिठा प्रलोभनमा परेर यूरोप हिँडेका केहीले गन्तब्यमा नपुग्दै ज्यान गुमाएका छन् । यस्तैमध्येका एक हुन् – म्याग्दीको रघुगंगा गाउँपालिका ६ पाखापानीका ३६ वर्षीय धनमान पुर्जा । 

“यूरोप पुगेर धेरै पैसा पठाउँछु र हामीलाई पनि उतै लैजान्छु भन्नुहुन्थ्यो,” धनमानकी श्रीमती दालसुवाले गहभरी आँशु पार्दै भन्नुभयो – “तर कहिल्यै नर्फकने गरी यो संसारबाट बिदा हुनुभयो ।” लिबियादेखि सामुद्रिक बाटो हुँदै इटाली छिर्न नेपालबाट निस्किएका पुर्जाको सपना मानव तस्करले डो¥याएको बाटोमै चकनाचुर भयो । 

पुर्जाका श्रीमती, चार छोराछोरी र आफन्तले अन्तिम पटक उनको अनुहार समेत देख्न पाएनन् । कात्तिक १२ गते लिबियाबाट ट्युवको डुङ्गामा बसेर इटाली लैजाने क्रममा पुर्जाको निधन भएको उनीसंगै गएका नेपालीहरुले एनआरएनए, स्विट्जरल्याडस्थित नेपाली दूतावासमार्फत परिवारलाई खबर पठाएका थिए । 

अवैध रुपमा गएको र अर्थाभावका कारण उनको शव नेपाल ल्याउन नसकेपछि उतै सद्गत गरेर परिवारले मगर संस्कार अनुसार काज किरिया गरेका थिए । धनमानका तीन छोरा र एक छोरी छन् । बा¥ह वर्षीय जेठा छोरा अपाङ्ग छन् । “गरगहना धितो राखेर, ऋण खोजेर पठाएका थियौं,” दालसुवाले भन्नुभयो । 

विदेश जाँदा लागेको ऋण तिर्ने, छोराछोरी पढाउने, घरव्यवहार चलाउने जिम्मेवारी दालसुवाको काँधमा आएको छ । खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका पुर्जा परिवार घरमूलीको निधनपछि विचल्लीमा परेका छन् । 

पुर्जाले वैदेशिक रोजगारीका क्रममा दुई वर्ष युएई र दुई वर्ष बहराइनमा काम गर्नुभएको थियो । इटालीस्थित शरणार्थी शिविरमा रहेका धनमानसँगै गएका नेपालीहरुका अनुसार १२ जनालाई दुबई, टर्की र लिबिया हुँदै इटाली छिराउन मानव तस्करहरुले अफ्रिकी मूलका आप्रवासीहरुसँगै सामुद्रिक डुङ्गामा जोखिमपूर्ण यात्रा गराएका थिए । 

चार वर्षअघि अवैध बाटो भएर अमेरिका जान हिँडेका धौलागिरि गाउँपालिका ७ ताकमका पृथ्वी केसीको समुद्रमा डुबेर निधन भएको थियो । केसीसँगै गएका म्याग्दीकै युवाले सामान बोक्ने डुङ्गामा कोचिएर समुद्र पार गर्ने क्रममा डुबेर केसीको निधन भएको परिवारलाई जानकारी गराएका थिए । 

पाखापानीका पुर्जा र ताकमका केसीको निधनले म्याग्देली युवा मानव तस्करको फन्दामा परेर अवैध बाटो भएर यूरोप र अमेरिका जाने प्रलोभनमा ठगी र दुःखमा फसेको पुष्टि गरेको छ । 

देशको अस्थिर राजनीति, विकराल बेरोजगारीको अवस्थाबाट निराश भएका सोझासाझा युवालाई वैदेशिक रोजगारीका नाममा पर्यटक भिसामा खाडीका देशमा लैजाने र अलपत्र पार्ने समस्या पनि उत्तिकै छ । 

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले आप्रवासीहरुप्रति अपनाएको कठोर नीतिका कारण अवैध बाटो भएर अमेरिका पुगेका नेपालीहरु फर्कन थालेका छन् । एक वर्ष पहिलेसम्म त्यहाँ पुगेका नेपालीहरु केही महिना शरणार्थी शिविरमा बस्ने र पछि अदालती प्रक्रिया पूरा गरेर वैधानिक हुने गरेका थिए । 

नेपालबाट भिजिट भिसामा युएईको दुबई पु¥याउने र युएईको सारजाँ अजमानमा कोठा भाडा लिएर महिनौं राख्ने अनि जलमार्ग हुँदै लिबियाको बाटो भएर यूरोप पु¥याउने गरेको अमेरिका पुगेर फर्किएका बेनपा ६ का दीपक शर्माले बताउनुभयो । यूरोपका बेल्जियम, चिली, क्यानडा, पोर्चुगल, इटाली, स्पेन लगेर रोजगारी दिने भन्दै एक जनाबाट कम्तीमा २०२५ देखि ५०६० लाख लिने गरेका उहाँले गुनासो गर्नुभयो । 

मानव तस्करहरुले देखाउने प्रलोभन भन्दा त्यहाँको वास्तविकता फरक रहेको छ । बाटोमै तीनदेखि चार महिना लाग्ने गरेको छ । सुरक्षाकर्मीको आँखा छल्दै समुद्र र जंगलको बाटो हिड्नुपर्छ । दक्षिण अफ्रिकी द्वन्द्वग्रस्त मुलुक मेक्सिको, कोस्टारिकाको बाटो भएरसमेत केही म्याग्देली अमेरिका छिरेका बताइन्छ । 

“पछिल्लो समय आप्रवासीहरुप्रति लिएको कठोर नीतिका कारण यूरोप, अमेरिकामा आएर वैधानिक बन्न जटिल बनेको छ,” अमेरिकामा रहेका होम पुनले भन्नुभयो – “जोखिमपूर्ण यात्रा, अवैध बाटो भएर यहाँ आइपुगे पनि वैधानिक बन्ने, काम पाउने र कमाइ हुने सम्भावना न्यून छ ।” 

अवैध बाटोबाट यूरोप वा अमेरिका पुगेका नेपालीले पहिले द्वन्द्वका कारण विस्थापित भएको र अहिले भूकम्पका कारण घरबारविहीन भएको भन्दै वैधानिक बन्नका लागि त्यहाँको अदालत जाने गरेका छन् । त्यसका लागि नेपालमा द्वन्द्व र भूकम्पपीडितको नक्कली कागजात बनाउने गरेका छन् । 

पछिल्लो समय शरणार्थीको नाममा पुगेकाहरुलाई त्यहाँका प्रहरीले समातेर सिधै सम्बन्धित देशको दूतावासमार्फत आफ्नै देश फिर्ता पठाउन थालेको छ । आप्रवासी कामदारहरुको अधिकारकर्मी डा मीना पौडेलले मानव तस्करले विभिन्न बहाना र प्रलोभनमा पारेर नेपालीहरुलाई तस्करी गरिरहेकाले सचेत हुनुपर्ने बताउनुभयो । 

“वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारका लागि स्वीकृति प्राप्त देशमा आफ्नै देशको विमानस्थलबाट मात्र जानुपर्छ,” पौडेलले भन्नुभयो – “अवैध रुपमा जाँदा ठगिने र दुःख पाउने समस्या हुन्छ ।” 

वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको विप्रेषणले म्याग्दीको अर्थतन्त्र धानिए पनि सुरक्षित र व्यवस्थित बनाउन कसैले चासो देखाएका छैनन् जसका कारण म्याग्देली युवालाई अदक्ष कामदारका रुपमा विदेशिन मार्ग प्रशस्त गरेको छ । अवैध बाटो भएर विदेशिँदा ठगी र जोखिम दुबै हुनेतर्फ सबै पक्ष सचेत हुनु आवश्यक देखिन्छ । सन्तोष गौतम/रासस

Logo