नङसल र किरण बने पल्सर उत्कृष्ट वर्ष खेलाडी

नङसल र किरण बने पल्सर उत्कृष्ट वर्ष खेलाडी


केन्द्रबिन्दु डेस्क । काठमाडौं, २७ भदौ ।

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत फुटबलर किरण लिम्बु पुरुषतर्फ र ब्याडमिन्टनकी नङसल तामाङ महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

राष्ट्रिय टोलीका गोलरक्षक किरण व्यवसायिक फुटबल खेल्ने क्रममा हाल माल्दिभ्समा छन् । त्यसैले उनको अवार्ड उनकनो तर्फबाट उनकी आमाले ग्रहण गरिन् । यो अवार्डका लागि किरणसँगै ब्याडमिन्टनका रत्नजीत तामाङ, क्रिकेटका शरद भेषावकर, एथलेटिक्सका सोमबहादुर कुमाल र भलिबलका मानबहादुर श्रेष्ठ मनोनयनमा परेका थिए ।

नेपाललाई पहिलो पटक एसियाली फुटबल महासंघले आयोजना गरेको कुनै प्रतियोगिताको उपाधि जित्ने क्रममा गोलरक्षक किरण चेम्जोङको महत्वपूर्ण भूमिका रहृयो । लाओसविरुद्धको सेमिफाइनलमा तीन पेनाल्टी रोकेर नायक भएका उनी नेपाली टोलीका नम्बर एक गोलरक्षक हुन् ।

यस्तै चार प्रतिस्पर्धीलाई पछि पार्दै नङसल महिलातर्फ उत्कृष्ट महिला खेलाडी भइन् । उनीसँगै एथलेटिक्सकी कान्छीमाया कोज, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सरस्वती भट्टराई मनोनयनमा परेका थिए ।

जुडोकी मनिता श्रेष्ठ प्रधान वर्षको उत्कृष्ट युवा खेलाडी बनिन् । यो अवार्डका लागि मनितासँगै क्रिकेटका दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, भारोत्तोलनकी कमला श्रेष्ठ र भलिबलकी प्रतिभा माली मनोनयनमा परेका थिए ।

मनिताले ११ औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् ।

यस्तै, एथलेटिक्सका पुष्पराज ओझा उत्कृष्ट प्रशिक्षक बने । यो अवार्डका लागि ओझासँगै फुटबलका ग्योतोकु कोजी र मेघराज केसी, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टनका किरण थापा मनोनयनमा परेका थिए ।

रियो ओलम्पिकमा सरस्वती भट्टराई र हरिकुमार रिमालका प्रशिक्षक पुष्पराज ओझा त्रिभुवन आर्मी क्लवका प्रशिक्षक हुन् । सातौं राष्ट्रिय खेलकुदमा उनको टोली त्रिभुवन आर्मीले एथ्लेटिक्समा सर्वाधिक २२ स्वर्ण, १६ रजत र ८ कांस्श्य जितेको थियो ।

पुरुष भलिवल टिमलाई टिम अफ दि इयर अवार्ड प्रदान गरिएको छ भने बन्दी सहायता नियोग (पाम)लाई विशेष अवार्ड प्रदान गरिएको छ ।

पिपुल्स च्वाइस अवार्ड कान्छीमायालाई
पिपुल्स च्वाइस अवार्ड एथलेटिक्सकी कान्छीमाया कोजुले जितिन् । एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता छनोट गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अनुसार कुल ९५ हजार ७२६ भोट आएको थियो । एक भोट बराबर चार फेसबुक लाइक मानिएको थियो ।

मनोनयनमा परेका पाँच खेलाडीमध्ये सबैभन्दा धेरै भोट पाएकी कोजुले अवार्ड जितिन् । फुटबलका सुजल श्रेष्ठ दोस्रो र क्रिकेटका दिपेन्द्र सिंह ऐरी तेस्रो स्थानमा रहे । जम्मा आएको मतमध्ये उनले ६६ हजार १२४ मत पाइन् ।

एथ्लेटिक्सको महिला म्याराथन र हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमानधारी कोजुले गत वर्ष सहभागी भएका पाँचै प्रतियोगितामा स्वर्ण जितेकी थिइन् ।

गल्फर घनश्यामलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
पल्सर स्पोर्ट्स अवार्ड अन्तरर्गत लाइफ टाइम अचिभमेन्ट अवार्ड पूर्व गल्फर घनश्याम थापालाई प्रदान गरिएको छ ।

सूर्य नेपाल गल्फ कोर्षका संस्थापकसमेत रहेका थापा नेपालका पहिलो पुस्ताका व्यवसायिक गल्फर हुन् । १० वर्षको उमेरमै गल्फमा लागेका उनले भारतमा प्रशिक्षण गरी व्यवसायिक गल्फर भएका थिए ।

७० वर्षीय थापाले भारत ओपनदेखि दुई पटक गल्फ विश्वकप खेलेका छन् ।

टिम अफ दि इयर : राष्ट्रिय भलिबल टिम (पुरुष)

टिम अफ दि इयरबाट नेपाली राष्ट्रिय पुरुष भलिबल टिमलाई सम्मान गरियो। नेपाली पुरुष टोलीले चार दशकको भलिबल इतिहासमा गत वर्ष पहिलो अन्तर्राष्ट्रिय पदक जितेको थियो।

वर्ष खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस अवार्ड विजेताले एक–एक थान बजाज पल्सर बाइक हात पारे भने अन्य विजेताले जनही ५० हजार रुपैयाँ नगद प्राप्त गरे।

Logo