गुनासा सुन्न प्राधिकरणले ल्यायो ११५१ टोल फ्री नम्बर

गुनासा सुन्न प्राधिकरणले ल्यायो ११५१ टोल फ्री नम्बर


काठमाडौं, १९ भदौ ।

नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ ११५१ नम्बरको टोलफ्री नम्बर सञ्चालनमा ल्याएको छ ।

ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री महेन्द्रबहाहुर शाहीले उक्त टोलफ्री नम्बरको उद्घाटन गरेका हुन् ।

ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले निःशुल्क ११५१ टेलिफोन नम्बर सञ्चालनमा ल्याएको हो । प्राधिकरणका कर्मचारीले दुःख दिए, गुनासो सम्बोधन गरेनन् वा कुनै सेवा लिँदा घुस मागे भने पैसा नलाग्ने सो नम्बरमा फोन गर्न सकिने मन्त्री शाहीले जानकारी दिए ।

महसुल तिर्न गएका ग्राहकलाई प्राधिकरणका कर्मचारीले राम्रो व्यवहार नगरे नोलाइट शाखामा फोन नउठाउनेलाई उपभोक्ताले सिधै गुनासो गर्न सक्ने र कारबाहीको दायरामा ल्याउन यस्तो संयन्त्र सफल हुने मन्त्रालयको विश्वास छ ।

मन्त्री शाहीले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन उक्त हटलाइन टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको पनि बताए ।

प्राधिकरणले सो हटलाइन सेवा सञ्चालनका लागि चौबीसै घन्टा कार्यरत रहनेगरी तीन÷तीनजनाका दरले कर्मचारी उपलब्ध गराएको छ । मुलुकभरका वितरण केन्द्रका कर्मचारीले उपभोक्तालाई राम्रो व्यवहार नगरेको, मिटर लिँदा घुस मागेको, ट्रान्सफर्मर बिग्रेको लामो समय हुँदा पनि मर्मत नगरेको जस्ता गुनासा सिधै ११५१ नम्बरमा फोन गर्न सकिनेछ ।

ऊर्जा मन्त्री शाहीले प्राधिकरण जनताको सेवामा क्रियाशील छ भन्ने सन्देश दिनका लागि हटलाइन सञ्चालनमा ल्याइएको र त्यसले प्राधिकरणका कर्मचारीलाई जिम्मेवार बनाउने विश्वास व्यक्त गरे । यस नम्बरमा एकैपटक तीनजनाले फोन गर्न सक्नेछन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीलाई सहजरूपमा सेवा दिन र कुनै गुनासो भए सिधै सम्पर्क गर्न सहज होस् भनेर टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको बताए ।

मिटर पाइएन, जडान गर्न कर्मचारीले अटेर गरे तथा पैसा नदिई काम गरेनन् भने पनि सिधै सो नम्बरमा फोन गर्न सकिनेछ । मुलुकभर विद्युत्भार कटौती अन्त्य गरेपछि प्राधिकरणप्रति जनताको विश्वास बढ्दै गएको अवस्थामा कर्मचारीलाई थप जिम्मेवार बनाउन प्रविधिको सहयोग लिइएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।

मोबाइल एप्स पनि आयो

प्राधिकरणले ‘एनइए अफिसिएल’ नामक मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याएको छ । प्राधिकरणको आइटी विभागले तयार पारेको सो एप्लिकेसनमा प्राधिकरणका सबै गतिविधि उपलब्ध हुनेछ । ग्राहकले आफ्नो विद्युत् महसुल कति उठेछ भन्नेसमेत हेर्न सक्नेछन् ।

यस्तै गुनासो पनि सोही एप्लिकेसनमार्फत गर्न सक्नेछन् भने कुन स्थानमा विद्युत् काटियो, त्यसको कारण केहो, कति समयमा आउँछ भन्ने सूचना तथा जानकारी लिन सक्नेछन् । प्राधिकरणका प्राविधिक विभाग प्रमुख सञ्जय उपाध्यायका अनुसार एप्स सञ्चालनमा आएको छ । सो एप्स गुगल प्ले स्टोर एप र एपस्टोरबाट डाउनलोड गर्न सकिनेछ । रासस

Logo