स्वाप रेसियो निर्धारण गर्दा धितोपत्र बोर्डको पनि संलग्नता हुनुपर्ने सुझाव

स्वाप रेसियो निर्धारण गर्दा धितोपत्र बोर्डको पनि संलग्नता हुनुपर्ने सुझाव


केन्द्रबिन्दु अर्थ संवाददाता ।

काठमाडौ, १४ असार । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तीय संस्था मर्जर हुँदा निर्धारण गरिने स्वाप रेसियोमा आफ्नो पनि संग्लनता हुनुपर्ने माग गरेको छ । बोर्ड आर्थिक वर्ष २०७४÷७५ को मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव दिँदै यस्तो भनेको हो ।

सेयर बजारमा सूचीकृत कम्पनीको मर्जर तथा स्वाप रेसियोले सेयर मूल्यलाई प्रभावित पार्ने भएकाले धितोपत्र बोर्डको पनि सहभागिता हुनुपर्ने सुझाव दिएको हो । धितोपत्र बजारका लगानीकर्ताहरूको हितसँग सम्बन्धित विषय भएकोले धितोपत्र बजारको अवस्था हेरी नेपाल धितोपत्र बोर्डसँगको समन्वयमा गर्न बोर्डले सुझाव दिएको हो ।

बोर्डले धितोपत्र बजारमा सार्वजनिक निष्काशन गरेका वास्तविक क्षेत्रका उत्पादनमूलक पब्लिक कम्पनीहरूलाई समेत प्राथमिकता क्षेत्रमा राख्ने व्यवस्था गर्न सुझाएको छ । नेप्सेको स्वामित्व संरचनामा शीघ्र सुधार गरी अन्तर्राष्ट्रियस्तरको व्यवसायिक संस्थाका रूपमा विकसित गर्नुपर्ने आवश्यकता रहेको हुनाले धितोपत्र बजार संचालन नियमावली, २०६४ अनुसार उत्कृष्ट सूचीकृत कम्पनीहरूलाई बिक्री गर्ने व्यवस्था गर्न उपयुक्त हुने बोर्डले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था संचालनमा आएको १० वर्षपछि संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न पाउने व्यवस्था अनुसार संस्थापक सेयर एकै पटक सर्वसाधारणमा परिवर्तन भएमा धितोपत्रको बजार मूल्यमा ठुलो प्रभाव पर्न सक्ने भएकोले बजारको अवस्था हेरी उपयुक्त समय तथा प्रतिशतको आधारमा चरणबद्ध रूपमा परिवर्तन गर्ने व्यवस्था गर्न बोर्डले केन्द्रीय बैंकलाई सुझmाव दिएको छ ।

नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरूको सुपरीवेक्षण हुँदा अस्वा प्रणाली सम्बन्धी गतिविधिहरूको समेत सुपरीवेक्षण गर्ने व्यवस्था गरिदिने पनि बोर्डले पठाएको सुझावमा उल्लेख छ । मार्जिन कारोबार प्रक्रियामा बैंक तथा वित्तीय संस्थाको संग्लनता हुने भएकाले बजार विस्तार तथा लगानीकर्ताको हितलाई दृष्टिगत गरी सुदृढ एवं विश्वसनीय व्यवस्थाका लागि नियमन निकायहरूबीच आवश्यक समन्वय तथा सहजीकरण बढी महत्वपूर्ण रहेको बोर्डले जनाएको छ ।

Logo