अर्थमन्त्री पौडेलसँग नाडा प्रतिनिधि मण्डलको भेटवार्ता

अर्थमन्त्री पौडेलसँग नाडा प्रतिनिधि मण्डलको भेटवार्ता


नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वको ७ सदस्यीय नाडा प्रतिनिधि मण्डलले आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ । भेटमा नाडा प्रतिनिधि मण्डल र अर्थमन्त्री पौडेलबीच अटोमोवाइल व्यवसायका समसामयिक विषयहरुमा छलफल भएको नाडाले जनाएको छ ।

भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दे आएको र सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु बारे छलफल गरेको छ । छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले आर्थिक वर्ष २०७७/७८ को बजेटले नेपालमा आधिकारिक विक्रेता नभएका कुनै कम्पनीले सवारी वा ढुवानीका साधन पैठारी गरेमा त्यस्ता सवारी साधन तथा ढुवानी साधनको मूल्यको ३० प्रतिशत जरिवाना गरी जाँचपास गर्न सकिनेछ बताइएको छ ।

यस्तै नयाँ व्यवस्थाले उत्पादक कम्पनीद्वारा नियुक्त जुनसुकै बिक्रेताबाट पनि सवारी साधन आयात गर्न सक्ने अवस्था कायम रहन गई उत्पादक कम्पनीको कुनै जानकारी वा दायित्व नै नरहने अवस्था उत्पन्न भएको विषयमा मन्त्रीलाई जानकारी गराएका थिए । त्यसैगरी सो छलफलमा नाडाका महासचिव तथा स्पेयर पार्टस समितिका सभापति सुनिल रिजालले स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे मन्त्रीलाई जानकारी गराएका थिए ।  

छलफलको क्रममा अर्थमन्त्री पौडेलले नेपालमा विद्युतिय सवारी साधनहरुको प्रशस्त सम्भावना देखिएको सन्दर्भमा अब अटोमोवाइल व्यवसायीहरुले नेपालमै विद्युतिय सवारी साधनहरुको उत्पादन थाल्नु पर्ने र त्यसका लागि आवश्यक नीति नियमहरुको तर्जुमा आफूले गरि दिने बताए ।

छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगायत निवर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल र सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति रहेको थियो ।                                                        

Logo