स्थानीय तहमा गौरवका योजनाः ‘अस्तित्व जोगाउँदै, आशा बढाउँदै’

स्थानीय तहमा गौरवका योजनाः ‘अस्तित्व जोगाउँदै, आशा बढाउँदै’


योजना स–साना हुन्छन् अनि विकास बजेट सक्नेगरी हुने गर्दछ । आर्थिक वर्षको अन्तमा बजेट सकिन्छ त्यसपछि लगत्तै आएको बाढीले बगाउँछ । सङ्घीयता कार्यान्वयनको शुरुआती वर्षमा देशभरका अधिकांश स्थानीय तहमा देखिएका साझा समस्या हुन् यी । अधिकांश स्थानीय तहका यी समस्या अहिले पनि उस्तै छन् । 

यसमध्ये म्याग्दीको मङ्गला गाउँपालिकाले केही फरक र उपलब्धिमूलक ढङ्गले आफ्ना विकास निर्माणलाई अगाडि बढाएको छ । टुक्रे योजनालाई नियन्त्रण गर्दै स्थानीय तहकै अगुवाइमा गौरवका योजना सञ्चालन गर्ने ‘विकास मोडेल’लाई मङ्गलाले अगाडि बढाएको छ । सङ्घीय, प्रदेश सरकारसँगको साझेदारीमा केही ठूला र महत्वका योजना सञ्चालन गरिएको छ । 

चालू आर्थिक वर्षमा पालिकाबाट १३५ वटा योजना छनोट भएकोमा अधिकांश योजनालाई वैशाखभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ योजना कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताए । 

उनका अनुसार ११० वटा योजना सम्झौता भइसकेका छन् भने  १२ वटा योजनाले अन्तिम भुक्तानीसमेत लगिसकेका छन् । दर्जनौँ योजना फागुन महिनाको अन्त्सम्ममा सम्पन्न हुनेगरी तीव्र रुपमा अघि बढेका छन् । ‘‘गाउँपालिकाले ठूला योजनालाई ठेक्का प्रक्रियामार्फत् कार्यान्वयन गर्ने नीति लिएको छ, यसरी योजना कार्यान्वयन गर्दा गाउँपालिकाको बजेट पारदर्शी तवरले खर्च हुने र विकास निर्माणमा जबाफदेहिता बढ्ने अपेक्षा गरेका छौँ’ प्रमुख प्रशासकिय अधिकृत ढुङ्गानाले भने । 

गाउँपालिकाले पूर्वाधार निर्माणतर्फ टुक्रे योजनालाई घटाएको छ । सङ्घ र प्रदेश सरकारसँग साझेदारी गरी पालिकास्तरमा गौरवका योजनालाई अघि बढाएको छ । पाँच वटा रु एक करोड बढी बजेटका योजना कार्यान्वयनमा जुटेको पालिकाको केन्द्र रहेको बाबियाचौर बजार कालोपत्र गर्न प्रदेश सरकारसँग साझेदारी गरेको छ । गाउँपालिकाले रु एक करोड १३ लाख लागत अनुमानमा बजार कालोपत्र योजना सञ्चालन गरेको हो । रु एक करोड बढी बजेटकै दुई नमूना सडक आयोजनासमेत अघि बढाइएको छ । रु तीन करोड ३४ लाख बजेटबाट वडा नं ३ र ४ का नागरिकलाई गाउँपालिकाको केन्द्र आउने पोक–सातबिसे–ज्यामिरे–खर्सुपानी, ३ नं वडा कार्यालय हुँदै ४ नं वडा कार्यालय बुकेनी जोड्ने सडक स्तरोन्नति र रु एक करोड १५ लाख बजेटबाट बाबियाचौर–पैयूँपाटा–कुहुँ–अँधेरीखोला–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडक स्तरोन्नति गर्न शुरु गरेको छ । 

त्यसैगरी गाउँपालिकाले पुलचोक–पिपलबोट–पाखुँ–धारा–सिर्कुम–टीकाबाङ सडकखण्डको हाँडेभीर क्षेत्रमा बाढीले बगाएको सडक निर्माण र बस्ती संरक्षणको लागि रु एक करोड बजेट विनियोजन गरी कार्यान्वयनमा जुटेको छ । नदी नियन्त्रण गर्दै सडक निर्माण गर्न आरसिसी पर्खाल निर्माण गर्ने यस योजना ठेक्का मूल्याङ्कनको क्रममा रहेको छ । गाउँपालिकाको केन्द्रदेखि काफलचौर–सल्यान–भर्जुला–भाइबाङ–हिदी सडक स्तरोन्नतिको लागि विनियोजन गरेको रु ५० लाख बजेटलाई समेत ठेक्का प्रक्रियामार्फत् मङ्गला कन्स्ट्रक्सनसँग सम्झौता गरी धमाधम पूर्वाधारको काम भइरहेको गाउँपालिकाका इन्जिनीयर सुजन पाध्यायले जानकारी दिए । 

गाउँपालिकाले मङ्गला माविलाई नमूना विद्यालयका रुपमा विकास गर्न भवन पूर्वाधारमा सङ्घीय सशर्त अनुदानबाट प्राप्त रु एक करोड ५० लाख बजेटलाईसमेत ठेक्का प्रक्रियामार्फत् कार्यान्वयनमा जुटेको छ । गाउँपालिकाले सडक, शिक्षा, एकीकृत भवन, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई अघि बढाएको अध्यक्ष सतप्रसाद रोकाले बताए । 

यस गाउँपालिकाले हरेक गाउँमा महिला, दलित, जनजाति, आमा, युवालगायतका वर्ग र क्षेत्रका लागि छुट्टाछुट्टै र स–साना भवन बनाउने प्रचलनलाई हटाउँदै बहुउपयोगका लागि एकीकृत भवन निर्माण गर्ने योजना सञ्चालन गरेको अध्यक्ष रोकाको भनाइ छ । अहिलेसम्म गाउँपालिकाले सिमलचौर, भाइबाङ, हिदी, झाँक्रेपानी, कुर्सिम्ला, पखेर लगायतका गाउँमा एकीकृत सामुदायिक भवन निर्माण गरिसकेको छ भने थाइबाङ र भर्जुलामा यस वर्ष भवन निर्माण कार्यलाई सम्पन्न गर्ने तयारी गरिएको छ । 

पर्यटकीयस्थल झाँक्रिपानीमा पर्यटकका लागि दृष्यावलोकन स्तम्भ (भ्यू टावर)समेत निर्माण गरी सकिएको छ । जिल्ला समन्वय समितिको कोषबाट प्राप्त बजेटबाट बुकेनीमा वडा नं ४ को वडा कार्यालय भवन समेत तयार भएको छ । जिल्लामा आफैं योजना सञ्चालन गरी वडा कार्यालय भवन निर्माण गर्ने मङ्गला नै पहिलो हो ।

सडक कालोपत्र गर्ने पहिलो गाउँपालिका

मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजार कालोपत्र गर्न शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सशर्त अनुदान रु एक करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्रसमेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गर्न शुरु भएको हो । सडक कालोपत्र हुन थालेपछि बजार क्षेत्र चिटिक्क र सफा देखिएको छ । म्याग्दीमा बेनी नगरपालिका क्षेत्र बाहिर गाउँपालिकास्तरमा सडक कालोपत्र गर्न शुरु भएको यो पहिलो योजना हो । जिल्लाको बेनी बजारसँगै गलेश्वर र रत्नेचौरमा छोटो दूरीको सडक मात्रै कालोपत्र छ । एक नगरपालिका बाहेक पाँच गाउँपालिकामा कुनै पनि सडक पक्की छैन । 

बाबियाचौरको कालोपत्र नै जिल्लामा रहेका गाउँपालिकामा भएको पहिलो कालोपत्र योजना हो । गत वर्ष नै सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोना महामारीका कारण प्रभावित भएको योजनालाई प्रदेश सरकारसँगको सहमतिमा म्याद थप गरी सम्पन्न गर्न लागिएको गाउँपालिकाका इन्जिनीयर सुजन पाध्यायले जानकारी दिए । करीब छ सय मिटर सडकलाई ३ दशमलब ७५ मिटर फराकिलोमा कालोपत्र गर्ने सम्झौता अनुसार निर्माण कम्पनी कार्यक्षेत्रमा परिचालन भएको छ । 

सडकको अधिकांश स्थानमा अनुमानित भन्दा बढी साढे चार मिटर फराकिलोसम्म सडक कालोपत्र गर्ने गरी काम अघि बढेको सोमरस निर्माण सेवा कम्पनीका सञ्चालक प्रवीन सापकोटाले बताए । गत वर्ष बेस र सबबेससँगै सडकको नाली लगाएको पूर्वाधार बनाउने काम सम्पन्न भएको थियो । कालोपत्र योजनालाई गुणस्तरीय र टिकाउ बनाउनको लागि निर्माण सामग्रीको प्रयोग र निर्माण कार्यमा निरन्तर अनुगमन र अवलोकन भइरहेका कालोपत्र योजनालाई गुणस्तरीय बनाउनका लागि गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र स्थानीय सरोकारवालालेसमेत नियमित रुपमा निगरानी गरिरहेका छन् । हिउँदमा धुलो र वर्षा याममा हिलोको सास्ती भोग्दै आएकोमा सडक कालोपत्र भएपछि धेरै राहत महसुस भएको म्याग्दी उद्योग वाणिज्य सङ्घ बाबियाचौर इकाइका अध्यक्ष राजु पाण्डेले बताए ।

दुई नमूना सडक आयोजना सञ्चालन

ग्रामीण सडकलाई व्यवस्थित र स्तरीय बनाउनका लागि मङ्गला गाउँपालिकाले नमूना सडक आयोजना सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्रदेखि वडा नम्बर ३ र ४ बरङ्जा जाने र वडा नं १ कुहुँहुँदै टोड्के जाने सडकलाई स्तरोन्नति गर्न गाउँपालिकाले दुई वटा नमूना सडक आयोजना सञ्चालन गरेको हो । पोक–सातबिसे–ज्यामिरे–खर्सुपानी –३ नं वडा कार्यालय हुँदै ४ नं वडा कार्यालय बुकेनी जाने सडक स्तरोन्नतिको लागि राष्ट्रिय योजना आयोगको सम्पूर्ण योजनाअन्तर्गत आयोग र पालिकाको बराबर साझेदारीमा कूल तीन करोड ३४ लाख बजेटमा ठेक्का प्रक्रियामार्फत् रु दुई करोड ८० लाखमा देब एण्ड सायर तिलक जेभीले ठेक्का लिएको छ । 

यही माघ २७ गते सम्झौता भएको यस निर्माण कम्पनीले सडकखण्डको सातबिसेखोलादेखि बरङ्जा गाउँसम्मको विभिन्न भागमा सडक स्तरोन्नति गर्ने गरी काम थालिसकेको छ । गाउँपालिकाले यसअघि नै सडक फराकिलो बनाइसकेको यस सडकखण्डमा रिटेनिङ पर्खाल, ग्याबिन जाली लगाउने, नाली निर्माणलगायतका स्तरोन्नतिको काम गर्नेछ । 

गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि पैयूँपाटा–कुहुँ–अँधेरीखोला–पूर्णगाउँ हुँदै टोड्के जोड्ने सडकलाईसमेत नमूना सडक आयोजना सञ्चालन गरेको छ । गण्डकी प्रदेश सरकारको समपुरक बजेट रु ५० लाख र गाउँपालिकाको ६५ लाख बजेट विनियोजन भएको यस योजनालाई पनि ठेक्कामार्फत् कार्यान्वयनमा अघि बढाइएको छ । बोलपत्रमा सबैभन्दा कम ६८ लाख ४८ हजार ४०० कबोल गरेको सोमरस निर्माण सेवासँग ठेक्का सम्झौताको तयारी भएको गाउँपालिकाले जनाएको छ । 

यस सडकखण्डमा नाली निर्माण, ग्याबिन जाली लगाउने, रिटेनिङ पर्खाल निर्माण, खोला र खोल्सामा कजवे निर्माण गर्नेलगायतका पूर्वाधार बनाउने तयारी छ । रासस

Logo