शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दो, नेप्सेमा सूचीकृत बैंकको शेयर मूल्य कति ?

शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दो, नेप्सेमा सूचीकृत बैंकको शेयर मूल्य कति ?


पछिल्लो समय नेपाली शेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । लगानीकर्ताको आकर्षण बढेसँगै पछिल्ला दिनमा नेपाली पूँजीबजारले नयाँ–नयाँ रेकर्ड बनाइरहेको छ ।

परिसूचकले दैनिक बनाएको उच्चतम विन्दु, दैनिक कारोबार रकम र कारोबार शेयर संख्याका आधारमा अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम भइरहेको छ । गत बुधबारदेखि केही दिन पुँजीबजारमा ह्रास आए पनि सोमबारदेखि भने यो उकालो लागेको छ । देशको पछिल्लो राजनीतिक घटनाक्रम तथा बैंकिङ क्षेत्रमा तरलता अभाव भई ब्याजदर बढ्ने हल्ला लगानीकर्तामा फैलिएकाले यसको प्रभाव शेयर बजारमा परेको नेपाल इन्भेटर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए । 

बजारले दैनिक नयाँ रेकर्ड बनाइरहँदा डिम्याट खाता खोल्नेको संख्या  बढेको छ ।  सिडिएस एन्ड क्लियरिङका अनुसार यस्तो खाता खोल्नेको संख्या अहिलेसम्म २३ लाखभन्दा बढी पुगेको  छ । यसले गर्दा पछिल्लो समय साधारण शेयर (आइपिओ) मा आवेदन दिनेको संख्या १५ लाख भन्दा बढी नाघ्न थालेको छ ।  पछिल्लो समय नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा अहिलेसम्म धेरै लगानीकर्ताको आवेदन परेको थियो । इन्फ्रास्ट्रक्चर बैंकको शेयर नेप्सेमा सूचीकृत भएसँगै लगानीकर्तामा शेयरमा लगानी गर्ने सोच आएको देखिन्छ । 

इन्फ्रास्ट्रक्चर बैंकपछि खुलेको महिला लघुवित्तको (आइपिओ) भर्नेको संख्या अझै बढेको थियो,  जसमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए । बैंकको आइपिओमा लगानी गर्ने आकर्षण बढेसँगै दुई साताअघि शेयर बजारमा बैंकिङ क्षेत्रकै वर्चस्व रहेको थियो । फागुन महिनाको पहिलो सातादेखि नेप्से परिसूचककै हाराहारीमा बैंकिङ समूहको सवइन्डेक्स बढेको थियो । समग्रमा १ सय ४३ दशमलव ०९ अंकले नेप्से परिसूचक बढ्दा बैंकिङ समूहको सबइन्डेक्स १४३.५५ अंकले बढेको थियो ।  

चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षापछि यसको असर  शेयर बजारमा देखिएको थियो । मौद्रिक नीतिको समीक्षापछिको शेयर बजार एक सातासम्म बैंकिङ समूहकैं सकारात्मक देखिएको थियो । प्रायः बैंकहरुको शेयर मूल्य अस्वाभाविक रुपले बढ्दा नै समग्रमा बैंकिङ इन्डेक्ससमेत सकारात्मक अवस्थामा पुगेको थियो । पछिल्लो समय बैंकहरु बिग मर्जरमा जाने हल्लाले पनि बैंकहरुको शेयर मूल्य बढेको विश्लेषकहरुको भनाइ छ । 

तर, लगानीकर्ताहरु बैंकिङ क्षेत्र अझै पनि अन्डरभ्यालुड (सस्तो मूल्यमा) रहेको बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने प्रतिफल, आगामी दिनमा उनीहरुको सम्भावित व्यवसायिक सफलता जस्ता विषयले उनीहरुको शेयर मूल्य अझै पनि तल भएको उनीहरुले बताएका छन् ।

यता दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या पनि दिनहुँ बढ्दै गएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) मा सूचीकृत भएर कारोबार गरिरहेका दुई सयभन्दा बढी कम्पनीहरु रहेका छन्, जसमध्ये २६ वटा बाणिज्य बैंक छन् । 

शेयर बजारमा सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरुको छ । तीन वर्षअघिसम्म शेयर बजारमा वाणिज्य बैंक र विकास बैंकले मात्रै ५८ प्रतिशत बजार हिस्सा ओगटेका थिए । तीन वर्षअघि विकास बैंकको मात्रै बजार हिस्सा ५.३ प्रतिशत थियो । तर, अहिले ती दुवै क्षेत्रको बजार हिस्सा विस्तारै घट्दै गइरहेको छ । अहिले विकास बैंकको बजार हिस्सा ३.३ प्रतिशतमा झरेको छ । 

बजार पूँजीकरणका हिसाबले बैंकको बजार हिस्सा विस्तारै घट्दै गएको छ । तीन वर्ष अघिसम्म शेयर बजारमा बैंकको हिस्सा ५२.९ प्रतिशत रहेकोमा अहिले घटेर ३०.८ प्रतिशत मात्रै छ । 

अहिले वाणिज्य बैंकहरुमध्ये २१ वटा वाणिज्य बैंकको शेयर मूल्य ५ सय रुपैयाँभन्दा कम छ । सबैभन्दा कम सिभिल बैंकको शेयर मूल्य २ सय ३२ रुपैयाँ छ । सबैभन्दा बढी शेयर मूल्य नबिल बैंकको रहेको छ । नेप्सेका अनुसार नबिल बैंकलगायत अन्य ४ वटा बैंकको मूल्य ५ सय रुपैयाँभन्दा माथि रहेको छ । 

आइतबार कारोबार बन्द भएपछि सम्मको नविल बैंकको शेयर मूल्य १ हजार १ सय ३४ रुपैयाँ छ । एनआइसी एसिया बैंकको ७ सय ८५ रुपैयाँ,  एभरेष्ट बैंकको ७ सय ४५ रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्डको ६ सय ४६ रुपैयाँ र हिमालयन बैंकको शेयर मूल्य प्रतिकित्ता ५ सय ९३ रुपैयाँ रहेको छ ।

आइतबारसम्म पाँच सयभन्दा कम शेयर मूल्य भएका बाणिज्य बैंक २१ वटा रहेका छन्, जसमध्ये सबै भन्दा सस्तो शेयर सिभिल बैंकको १ सय ९९ रुपैयाँ प्रतिकित्ता छ । त्यस्तै, प्रभु बैंकको ३८३.५२ रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३५४.५९ रुपैयाँ सिटिजन्स बैंकको, २६८.३४ रुपैयाँ, नेपाल बंगलादेश बैकको २७४.६३ रुपैयाँ,  एनएमबी बैंकको ४३६.६९ रुपैयाँ र कुमारी बैंकको २६६.१९ रुपैयाँ रहेको छ । 

त्यस्तै, नेपाल एसबीआई बैंकको ४३०.०६ रुपैयाँ, सेन्चुरी बैंकको २१९.६३ रुपैयाँ नेपाल इन्भेष्टमेन्ट बैंकको ४७१.८१ रुपैयाँ, नेपाल बैंककको ३८२.०५ रुपैयाँ, बैंक अफ काठमान्डूको २८२.४१ रुपैयाँ, एनसीसी बैंकको ३०२.७८ रुपैयाँ, कृषि विकास बैंकको ४७८.१२ रुपैयाँ, लक्ष्मी बैंकको २८०.४२ रुपैयाँ, सानिमा बैंकको ३४०.६७ रुपैयाँ, सिद्धार्थ बैंकको ३८२.७६ रुपैयाँ र सनराइज बैंकको २७४.५० रुपैयाँ प्रतिकित्ता रहेको छ । 

साथै, प्राइम बैंकको ४१८.०४ रुपैयाँ,  माछापुच्छ्रे बैंकको २६५.४५ रुपैयाँ र मेगा  बैंकको २७५.२९ रुपैयाँ प्रतिकित्ता छ । 

कोरोना भाइरसको असरले बैंकहरुको दोस्रो त्रैमासको रिर्पोट अनुसार प्रतिशेयर आम्दानी गत ०७६ पुस मसान्तको तुलनामा ०७७ पुस मसान्तसम्ममा करिब १८ प्रतिशतले घटेको थियो । 

त्यस्तै, विकास बैंकहरुको शेयर मूल्य वाणिज्य बैंकहरुको भन्दा बढी नै रहेको छ । भर्खरै सञ्चालनमा आएर आइपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्यले बजार उकालो लगाइरहेको बेला अहिले यसको पनि ७२१ रुपैयाँसम्म पुगेर ओरालो लाग्ने क्रममा रहेको छ । यो भन्दा बढी अन्य विकास बैंकको मूल्य एक हजार भन्दा बढी रहेको छ ।

Logo