‘तीन वर्षमा सरकारले उल्लेख्यरुपमा विकास गरेको छ’ : प्रधानमन्त्री

‘तीन वर्षमा सरकारले उल्लेख्यरुपमा विकास गरेको छ’ : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा सरकारले उल्लेख्यरुपमा विकास गरेको बताएका छन् । 

गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले बिर्तामोडमा आयोजित सभालाई सम्बोधन गर्दै सरकारले अझै राम्रा काम गर्ने पनि बताए । 

यस्तै ओलीले अब सडक बालबालिका सडकमा नभएको र उनीहरुको अभिभावकका रुपमा सरकार उभिएको समेत बताए । चिसो सडकमा उनीहरु सुतेको अब देख्नु पर्दैन, देशका कुनै पनि ठाउँमा सडकमानव छन् भने सरकारलाई खबर गर्न पनि उनले अनुरोध गरेका छन् । त्यस्तै जनता आवास अन्तर्गत आर्थिक अभाव भएका नागरिकलाई घर बनाएर दिने अभियानमा सरकार रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले देशलाई फुसका छानामुक्त बनाइएको बताए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिका वडा नं ५ मा नवनिर्मित पूर्वाञ्चल क्यान्सर अस्पतालको  पनि मंगलबार नै उद्घाटन गरे । उनले अस्पताल परिसरमा रहेको शिलालेख अनावरण गरि अस्पताल उद्घाटन गर्नाका साथै कक्षहरु अवलोकन पनि  गरेका थिए ।

बिर्तामोड निवासी दुर्गा प्रसाईँको ६ अर्ब निजी लगानीमा अस्पताल निर्माण भएको हो । जसमा तीन सय शय्या छन् । करीब एक वर्ष अघि नै सेवा शुरु गरेको अस्पतालको मंगलबार विधिवत् उद्घाटन भएको हो ।  

यस्तै आजै उनले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को पनि उद्घाटन गरेका थिए । बिर्तामोड–७ मा निर्मित सो ‘भिलेज’मा ३७  आवासगृह छन् ।
 
भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक बिघा तीन कठ्ठा जग्गामा प्रदेश नम्बर १ सरकार, नगरपालिका, ह्याबिटाट नेपाल र सहारा नेपालको १४ करोड ८० लाखका लागतमा ग्राम निर्माण गरिएको थियो ।

Logo