कोरोनाले अधिकारी र कुसारीलाई बनायो कृषि व्यवसायी

कोरोनाले अधिकारी र कुसारीलाई बनायो कृषि व्यवसायी


दाङको घोराही उपमहानगरपालिका – १५ रतनपुर निवासी अमर अधिकारी व्यावसायिक रुपमा कृषि र पशुपालनमा लागेका छन् । अधिकारीले मेट्रो कृषि फर्म दर्ता गरेर आठ महिनाअघिदेखि घोराही– ५ धर्ना (धारपानी)मा  व्यावसायिक रुपमा भैंँसी पाल्न शुरु गरेका छन् ।

उनले रु पाँच लाखको लगानीमा तीन भैंसीबाट शुरु गरेको व्यावसायिक फर्ममा अहिले २०  दुहुना भैँसी छन् भने लगानी  बढेर रु २५ लाख पुगेको छ । बिहान १७०  र बेलुका ८० लिटर दूध उत्पादन हुने छ । उत्पादित दूध घोराही बजारमा आफैँले अटोरिक्सामा राखेर पु¥याउने गरेको उनले बताए । बजारमा प्रतिलि रु ८० बिक्री हुन्छ । परम्परागत तरिकाले भैंसी पालेर दूध बेच्दा दुःखअनुसारको फाइदा नहुने भएकाले व्यवसायलाई व्यवस्थित गर्दै लैजानु परेको उनी बताउँछन् । 

कृषक अधिकारीले १२ कठ्ठा आफ्नो जग्गामा दुई भैंसीलाई गोठ बनाएका छन् । वार्षिक रु ४५ हजारमा भाडा दिने शर्तमा दुई बिघा जग्गा पनि लिएका छन् । त्यसमा प्राङ्गारिक तरकारी खेती गर्नलाई उनले तयारी गरेका छन् ।   

गत चैतदेखि कोभिड –१९ का कारण लकडाउन भयो, सबैलाई खानाको समस्या परेको देखेर घोराहीमा सुविधा दिनलाई  घोराही बजारका साथीहरु मिलेर ‘एक कल समस्या हल’नामको संस्था खोलेर घरघरमा तरकारी र दूध पुर्याउने काम गर्दा बजारमा दूधको चरम अभाव भयो । तरकारी त किसानको बारीबाट ल्याउने र उपभोक्तालाई घरघरमा लगेर वितरण गरियो । उनले दूधका लागि भैंसीपालनका साथै पछिल्लो समयमा प्राङ्गारिक तरकारी खेती पनि थालेका छन्् । 

‘देउखुरीमा तरबुजा त फल्छ, दाङमा यसपालि विचार गर्नलाई खेती गर्न थालेका छौँ’, उनले भने, ‘लौका, काँक्रा, भिण्डी, करेला आदि तरकारी पनि रोप्न थालेका छौं ।’ भैंसीको गोबर मलका रुपमा  प्रयोग गरेर स्वस्थ्य र प्राङ्गारिक तरकारीका लागि व्यावसायिक खेतीमा लागेको अधिकारी बताउँछन् । तीन स्थानीयवासीलाई रोजगारी पनि मिलेको छ । आफ्नै गाउँघरमा परिवारसँंग बसेर काम गर्न पाउँदा आनन्द मिलेको र सानोठूलो नभनी आफ्नै ठाउँमा काम गर्नुपर्छ भन्ने मान्यता राखेर स्थानीयवासीलाई रोजगारी दिने गरेको अधिकारीले बताए ।   

प्राङ्गारिक खेती प्रणालीमा वातावरण, पर्यावरण र मानव स्वास्थ्यलाई हानि पुर्याउने खालका हानिकारक रासायनिक मल र विषादीको प्रयोग गरिँदैन । यस्तो प्रविधिमा गाईवस्तुको मल, झार र बाली काटेपछि रहेका डाँठ, भान्साबाट निस्केका कुहिने फोहर कुहाएर बनाइएको प्राङ्गारिक र हरियो मल तथा जैविक विषादिहरुको प्रयोग गर्न प्रोत्साहन गरिन्छ ।  कुनै पनि विषादी प्रयोग नगरी प्राकृतिक तरिकाको प्राङ्गारिक तरकारी उत्पादन गरेर बजारमा बिक्री गर्ने अधिकारीको सोचाइ छ । 

उनले भैंसीको हेरचाह र दानापानी खुवाउनका लागि देउखुरीका चार युवालाई रोजगार दिएका छन् । काम गर्न अर्काको भूमिमा जानुभन्दा सानो भए पनि आफ्नै भूमिमा काम पाउँदा खुशी मिलेको उक्त फर्ममा कार्यरत राम यादवले बताए । उनले भने, ‘कस्तो भैंसीले कति दूध दिन्छ भन्ने पनि अब त सबै जानकारी छ ।’ 

रुकुम बाँफिकोट गाउँपालिका–२ बाट दाङमा व्यवसाय गर्ने उद्देश्यले बसाइँ सरेर आएका धनीराम कुसारीले घोराही–१७ गैरागाउँमा चार वर्षदेखि व्यावसायिक कृषि फर्म चलाएका छन् । दुई बिघा जमीन वार्षिक रु डेढ लाखमा भाडामा लिएका छन् । पाँच  उन्नत जातका गाईबाट व्यवसाय शुरु गरेका कुसारीसँंग अहिले सात दुहुना गाई र १४ भैँसी छन् । उनी अहिले दैनिक २५० लिटर दूध उत्पादन गर्छन् । उत्पादित दूध घोराही र आसपासका बजारमा प्रतिलि रु ८० मा बिक्री हुन्छ ।  मासिक रु चार लाख ५० हजार आम्दानी हुने गरेको कुसारी बताउँछन् । कर्जामा शुरु गरिएको व्यवसायले स्वरोजगार हुन पाएकामा उनी खुशी छन् । 

उनले भैंसीको हेरचाह र दानापानी खुवाउनका लागि दुई युवालाई रोजगारी दिएका छन् । घरपरिवारका चार जनाले उनलाई  सहयोग गर्छन् ।   ‘दुईचार रुपियाँ कमाउन अर्काको भूमिमा जानुभन्दा सानो भए पनि आफ्नै भूमिमा व्यवसाय गर्न पाउँदा धेरै खुशी भएको छु’, उनी भन्छन्, ‘राम्रो काम गरेको भएर घोराही उपमहानगरपालिकाको ४३ औं स्थापना दिवसमा उत्कृष्ट व्यवसायी भनेर पुरस्कार पाउँदा अझै काम गर्ने हौसला मिलेको छ ।’ 

स्थानीय तहले दुः ख गरेको मानिसको उच्च मूल्याङ्कन गरेकोमा धेरै खुशी लागेको उनी बताउँछन् । ‘कसैको सहयोग पाएको थिइन तर यस वर्ष उपमहानगरपालिकाले काम गर्नलाई हौसला दिएको छ । आगामी दिनमा व्यवसायलाई अझै व्यवस्थित गराउने सोचाइ छ’, उनले थपे । 

घोराही उपमहानगरपालिका पशु सेवा कार्यालय प्रमुख जीवराज पौडेल दाङमा पछिल्लो समय भैंसी व्यवसायी बढेको बताउँछन् । निर्वाहमुखीभन्दा व्यावसायिक पशुपालनमा युवाको आकर्षण बढेको उनको भनाइ छ । महिनाको रु २५–३० हजार कमाउन विदेश जानुभन्दा आफ्नै गाउँठाउँमा सानो भए पनि व्यवसाय गर्नमा सहयोग पुगोस् भनेर कार्यालयले सहयोग गरेको छ ।  उपमहानगरपालिकाले दुग्ध किसानलाई ५० प्रतिशत अनुदानमा विभिन्न सहयोगी सामग्री वितरण गरिरहेको छ । यस वर्ष किसानको मागका आधारमा च्यापकटर र मिल्क क्यान वितरण गरिएको उनले जानकारी दिए । अन्य प्राविधिक सरसल्लाह कार्यालयमा सम्पर्क गरेमा जुनसुकै बेला दिन तयार रहेको प्रमुख पौडेल बताउँछन् ।  

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका प्रमुख डा वेदवहादुर केसीले दाङमा पछिल्लो समय व्यावसायिक पशुपालन गर्ने बढेको बताए । उनका अनुसार युवाहरु विदेशी भूमिमा काम गर्नुभन्दा स्वदेशमै लगानी गरी काम गर्नु धेरै राम्रो हो । किसानलाई पशु सेवा केन्द्रले  परामर्श र औषधोपचारका लागि सहयोग गरेको छ । पशुमा लाग्ने रोग र अन्य परामर्शका लागि किसानले कार्यालयमा सम्पर्क गरेमा सेवा दिन सधैंँ तयार रहेको उनले बताए । रासस

Logo