भोलिदेखि क्लिनफिड लागू हुने

भोलिदेखि क्लिनफिड लागू हुने


काठमाडौं ।

सरकारले कात्तिक ७ गते (भोलि) देखि विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।

बिहीबार सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ७ गते देखि क्लिनफिड सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गरेका हुन् । नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गते सम्म रहेकोले उक्त दिनदेखि क्लिनफिडलाई पूर्णरुपमा लागू गर्न आग्रह गरेका हुन् ।

०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो । त्यसको ठिक एकवर्षदेखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गते भित्र विदेशी च्यानलमा विज्ञापनरहित क्लिनफिड प्रसारण गर्नु पर्नेछ । क्लिनफिड कार्यान्वयनमा आए नआएको सम्बन्धमा विज्ञापन बोर्डले अनुगमन गर्ने पनि मन्त्री गुरुङले स्पस्ट पारे ।

मन्त्रालयका सहसचिव डिल्लीराम शर्माको अध्यक्षतामा विज्ञापन बोर्ड गठन भइसकेको छ । नवगठित विज्ञापन बोर्डले क्लिन फिड लागू भए नभएको सम्बन्धमा अनुगमन गर्न आवश्यक तयारी पूरा गरिसकेको छ । कात्तिक ८ गतेदेखि नेपालमा क्लिन फिड लागू नगर्ने कुनै पनि सेवाप्रदायकलाई कानुन अनुसार कारबाही गरिने पनि मन्त्री गुरुङले बताए।

Logo